काठमाडौं– सरकारले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट उहाँको निधनको शोकमा आज मंसिर ३ गते एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
देशका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँका अनुसार ढुंगानाको निधनमा सरकारका तर्फबाट गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो दिउँसो निधन भएको थियो । निधन पछि ढुंगानाको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो ।
काठमाडौंको पशुपति आर्यघाटमा ढुंगानाको आजै अन्त्येष्टि गरिने छ । अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिएको छ । विहान ११ बजेदेखि ढुंगानालाई त्यहाँ राखिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरू अस्पतालमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
सानोगौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । सानोगौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने तय भएको छ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राजनीति क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आउनु भएका उहाँ संविधान र कानुनका ज्ञाता हुनुहुन्थ्यो । विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।
नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँको उल्लेखनीय योगदान रहिआएको छ ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्ली अर्पण गर्दै सर्वसाधारण काठमाडौँ, ३ मङ्सिरः पूर्वसभामुख दमननाथ ढुङ्गानाको सोमबार ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएकोे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै सर्वसाधारण । तस्बिरः रत्न श्रेष्ठ÷रासस
ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने :
यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभाका ‘पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आजै जारी गर्नु भएको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ढुंगानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ, नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ ।’
मानवअधिकारको संरक्षण, सम्बर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुंगानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरिएको छ । साथै, आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय झन्डा ओढाए सम्मान ः
प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
यसैबीच, नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।
ढुंगानाको स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको छ ।
सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउनु भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सानोगौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति २०८१ मंसिर ३, सोमबार १४:१५ गते