
काठमाडौँ– नेपाली साहित्यको मुक्तक विधामा अर्को एक कीर्ति आजबाट थपिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका अतिथिहरूले सो कीर्तिको पारिजातकक्षमा ‘मनोकाङ्क्षा’को मंसिर ८ गते लोकार्पण गर्नु भएको हो । मुक्तककार मीना चौलागाईं मनोकाङ्क्षा दोस्रो मुक्तक कीर्ति हो ।
प्रमुख अतिथि कुलपति राईले आफ्नो उदघाटन मन्तव्यमा मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्नेमा जोड दिनुभयो । राईले टिप्पणी गर्दै भन्नु भयो, ‘मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेका छन् ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले विमोचित कीर्ति ‘मनोकाङ्क्षा’को समीक्षा गर्नु भएको थियो । उहाँले मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । कृतिकारले मुक्तकमा सुखदुःखका भोगाई, मातृप्रेम, मानवीय संवेदना, यथार्थ अनुभूति, र आरोहअवरोह चित्रण गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।
नेपाली साहित्यमा मुक्तक कति लोकप्रिय छ भन्ने बताइरहन परोइन । छोटो, मिठो र चोटिलो विधा मुक्तकमा चौतर्फी आकर्षण बढ्दो छ ।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन÷तीनवटा मुक्तक वाचन गरेर सुनाउनु भएको थियो ।
समारोहमा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि– कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको व्यक्तित्व एवम् कीर्तित्वका बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गुर्न भएको थियो ।
कृतिकार चौलागाईंले आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको स्मरण गर्नु हुँदै यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको जानकारी दिनुभएको थियो । सर्जक चौलागाईंले आफ्नो मुक्तक लेखनशैली र रचनागर्भका बारेमा जानकारी दिनुभएको थियोे । उहाँले मनोकाङ्क्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएको जानकारी दिँदै विमोचित कृतिबाट केही मुक्तक वाचन गर्नुभएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मन्तव्य दिनु भएको थियो ।
कृतिकार चौलागाईंको यसअघि ‘मुक्तक मिनार’ प्रकाशित भएको छ ।
प्रकाशित मिति २०८१ मंसिर ८, शनिबार २२:२६ गते