
काठमाडौं– सरकारको नेतृत्व गरेर पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको एमाले काठमाडौं महानगरका मेयर बालेन साहप्रसत झन् क्रुद्ध बनेको छ । एमालेले मंसिर ७ गतेका दिन गरेको शक्ति प्रदर्शनका क्रममा काठमार्डौं शहर फोहोर भयो भन्दै एक सो दललाई एकलाख रुपैयाँ जरिमाना तिराएका कारण त्यस्तो स्थिति उत्पन्न भएको हो ।
एमालेका महासचिव शंकर पोखरेलले मेयर बालेनले ‘स्टन्टबाजी’ गरेको बताउनु भएको छ । दरबारमार्गमा एमालेले गरेको जागरणसभाका कारण सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोमा काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिमाना तोकिएपछि नेताहरूले मेयर साहविरुद्ध उहाँले आक्रोश पोख्नु भएको हो ।
एमाले महासचिवले काठमाडौं महानगरले जरिमाना तोकेपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भएको दाबीका साथ लेख्नु भएको छ, ‘काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले) का विरुद्ध परिचालित छन् भन्ने शुक्रबार(७ गते)को सभापछि सार्वजनिक गरिएको जरिमाना पर्चाबाट बुझ्न सकिन्छ ।’ महासचिव पोखरेलले संकलित फोहोर उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गर्दा नपठाएको समेत उल्लेख गर्नु भएको छ ।
महासचिव पोखरेलले थप लेख्नु भएको छ, ‘अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नको साटो फोहोर गरेको भनेर जरिमानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिबेला महानगरका नाममा जरिमाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयमसेवकहरू कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो । तर, पनि मेयरको ध्यान सरसफाइमा होइन जरिमानाको स्टन्टबाजीमा थियो । जुन समयअगावै सार्वजनिक गरियो ।’
उहाँले मेयर साहलाई एमालेले आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्छ भन्ने कुरा हेक्का नभएको समेत उल्लेख गर्नु भएको छ । चेतावनी शैलीको उहाँको लेखाईमा भनिएको छ, जागरण सभा स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि समेत भएको हो ।’
त्यसो त सरकारमा बसेर सडकबाट शक्ति प्रदर्शन गर्नुलाई धेरैले राम्रो मानेका छैनन् ।
महासचिव पोखरेलले चेतावनीयुक्त शैलीमा स्टाटस लेखे पनि पार्टीको सो कार्यक्रमका सार्वजनिक रूपमै आलोचना भइरहेको छ ।
एमाले महासचिव पोखरेलको स्टाटसमा महेशकुमार खातीको कमेन्ट छ, ‘एमालेले अराजकताविरुद्ध भनेर राजधानीकै सडक अस्तव्यस्त बनाएर भनै ठूलो अराजकता फैलायो । सरकारमा बसेर ढलेको सिन्को भाँच्नु छैन । भ्रष्टहरूको दान थाप्ने, उनीहरूलाई संरक्षण गर्ने अनि सडकमा आउने यो केको रमिता ! अभ फोहोर गरेर जरिमानालाई स्टन्ट भन्न लाज लाग्दैन असभ्य एमालेहरू !’
त्यस्तै, एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतको काठमाडौं महानगरपालिकाका मेयर साहले एमालेसँग एक लाख रुपैयाँ भिख मागेको टिप्पणी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको जागरणसभामा फोहोर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिमानासहितको पत्र पठाएकोमा बस्नेतले आक्रोश पोख्नु भएको छ । बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै आलोचना गर्नु भएको छ ।
प्रकाशित मिति २०८१ मंसिर ९, आईतवार ०९:५८ गते