
घेर्मु(लमजुङ)– पछिल्ला दशकमा अधिकांश व्यक्ति आफ्नो पदीय जिम्मेवारी, कर्तव्य एवम् दायित्वबाट विमुख भइरहका छन् । यस्तो बेलामा पनि निष्ठाका पर्याय व्यक्तित्व अपवादका रुपमा विरलै मात्र पाइन्छ । त्यस्तै अपवाद व्यक्तित्वमध्येका एक हुनुहुन्छ स्थानीय गंगामिलन माविका शिक्षक कामसार्की गुरुङ ।
शिक्षण पेशाबाट निवृत्त हुनुभएका उहाँलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी भव्यरुपमा मंसिर १४ गते विदाई गर्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङको सभापतित्वमा भएको विदाई कार्यक्रममा सो माविका प्रअ थमन गुरुङले कामसार्की गुरुङ विद्यालयको शिक्षक हुँदा गर्नु भएको पेशागत मात्र नभई विद्यालयको भौतिक उन्नती एवम् विद्यार्थीको वृत्तिविकासका लागि गर्नु भएको योगदानमा प्रकाश पार्नु भएको थियो । कामसार्कीले सो विद्यालयको माविस्तरमा बृद्धिका लागि आार्थिक संकलन गर्ने कार्यमा काठमाडौंदेखि मनाङसम्म धाएर भैलोमार्फत गरेको योगदान, रक गर्डेनमा आएका पाहुनाको संयोजनकर्ता BINK LEE ले ‘लाइट अन’ संस्थामार्फत रक गर्डेनमा केही गरिदिने चाहना व्यक्त गर्दा त्यसको सट्टामा भूकम्पले ग्रस्त गंगामिलन माविमा पठनपाठनको असुविधा भइरहेको बेलामा भवन निर्माण गरिदिन आग्रह गरी चारकोठे भवन निर्माण गर्न समन्वयकर्ताको भूमिका निभाउनु भएको, समय समयमा विद्यार्थीहरूलाई झोलासहितको स्टेशनरी सहयोग जस्ता कार्य गरी गर्नु भएको कामसार्कीले गर्नु भएको योगदानको स्मरण गर्नु हुँदै प्रशंसा गर्नु भएको थियो ।
विदाईको सो अवसरमा शिक्षक विद्यार्थीहरूले कामसार्कीको व्यक्तित्वको कदर गर्दै सम्मानस्वरुप उहाँप्रति भएको आफ्नो स्नेह एवम् सदभावलाई फूलका माला र अवीरमा परिणत गर्दै छपक्क ढाकिदिएका थिए ।
सम्मान ग्रहण पछि निवर्तमान शिक्षक हुँदै गर्नु भएका कामसार्कीले पुलकित हुँदै आफ्ना भावनाहरू पोख्नु भएको थियो । उहाँले भन्नुभयो, ‘यो क्षण मेरो जीवनको निम्ति सबैभन्दा अविस्मरणीय रहने छ, यो सभ्य, भव्य बिदाइको मन मुटु देखिनै सम्मान व्यक्त गर्दछु ।’
उहाँले यस्तो सम्मान जीवनमा यसअघि कहिल्यै पाएको थिएन सायद अवका दिनमा पनि कहिले कतै पाउने छैन भन्नुभयो । बिदाइको बेला मैले मेरो सन्मानित अग्रजहरू विद्यालयको सस्थापकहरू लगयत मैले सेवामा प्रवेश गर्दै गर्दाको समाजको अगुवाईहरू स्व. मुक्तबहादुर गुरुङ, स्व. कुबिर घले, स्व. सिहबहादुर घले, स्व. गुन्जित गुरुङ लगायत सामाजिक नेतृत्वहरूको सम्झना गर्दै सम्मान गर्दछु भन्नुभयो ।
त्यो क्षणमा उहाँले २०५६ सालमा गंगामिलन मा.वि. स्थापना गर्ने क्रममा अग्रज मामा स्व. मुक्तबहादुर, बाजे चिसाङ गुरुङ तत्कालीन गाविस उपाध्यक्ष गमबहादुर गुरुङ, समकालीन साथीहरू मेरो गुरु प्रअ. थमनबहादुर गुरुङ, भुपु वार्डअध्यक्ष लेखमान गुरुङ, मोतीप्रसद गुरुङ. हालका वडाध्यक्ष घनस्याम घले लगयत सामाजिक अगुवाइहरूको अभियानमा सामेल हुने मौका पाएको स्मरण गर्नुभएको थियो । विद्यालयको आर्थिक अभाव टार्नका खेलिएको भैलो यात्रा लगायतका आरोह अबरोहका भोगाइहरू सजीव भएर आँखा अगाडि आइरहेको उल्लेख गर्नु भयो । उहाँले आफ्नो पेसाप्रति इमान्दार, बफादार रहँदै विभिन्न संघसंस्था तथा साथीहरूसँग समन्वय गरी विद्यालयको चौतर्फी विकासमा झिनो भए पनि आफ्नो विवेकले भ्याएसम्म सहयोग गर्ने कोशीस गरेको दिनहरूको याद गर्नुभएको थियो ।
शिक्षण पेशा, पेसा मात्रै नभै राष्ट्रप्रति गर्ने बफादारी, कर्तव्य र सम्मानित सेवा हो भन्ने मैले शिक्षण पेसाबाट अनुभव गरेको उहाँले सुनाउनु भयो । सेवामा रहदा काम गर्ने शीलशीलामा मबाट भएको गल्तीलाई संयोग मात्रै हो भन्ने सम्झेर माफी दिन वि.व्य.स., अ.स., स्टाफ, विद्यार्थी, अभिभावक, स्थानीय समुदायसँग अनुरोध गर्दछु उहाँले उल्लेख गर्नुभयो । आफूले जीवन जिउँने कला र सकरात्मक सोच, आनीबानी विद्यालय पेरिफेरिमा काम गर्ने व्याक्तित्वहरूबाट सिकेको बताउँदै त्यस्को निम्ति सेवा प्रवेशदेखि हालसम्म मलाई सहयोग गर्नु हुने सबैप्रति आभार व्यक्त गर्न गर्दछु उहाँले भन्नुभयो । उहाँले भावविह्वल हुँदै भन्नुभयो, ‘कुनै क्षेत्रबाट बाहिरनु पर्दाको क्षण हृदयविदारक हुदो रै’छ । यद्दपी आागामी दिन, काल, पर्यन्त सदैव तपाईंहरूको माया सद्भाव र मित्रता अटल रहिरहोस, भगवानसँग प्रार्थन छ, विद्यालयको चौतर्फी उन्नति प्रगतिका लागि एक अभिभावकको नाताले निरन्तर विद्यालय परिवारको साथमा सामेल रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’
कामसार्की गुरुङले शिक्षण पेशामा स्थायी सेवाको २० बर्षे अवधि पुरा हुनासाथ बेरोजगारी बढेको वर्तमान स्थितिमा आफ्नो ठाउँमा अर्को एक व्यक्तिले अवसरमा पाउन सक्ने भन्दै स्वेच्छिक अवकाश लिनु भएको हो । शिक्षक भएर पनि गाउँ क्षेत्रको विकासमा उत्तिकै दिलोज्यानले लाग्ने प्रेरणादायी र उर्जाशील व्यक्तित्व हो– कामसार्की गुरुङ । त्यतिमात्र होइन, उहाँ आफ्नो समाजको मौलिक लोक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका लागि पनि उत्तिकै चिन्तित हुनुहुन्छ । आफ्नो जन्म थलो खानीगाउँमा रक गार्डेन अर्थात ‘चट्टनको बगैंचा’ निर्माण गरी पर्यटकीय आकर्षण बढाउँदै गाउँलाई समुन्नतिको बाटोमा हिडाउने जमर्को गरिरहनु भएका उहाँ ठाडोभाका लोककला प्रतिष्ठान नेपालको वरिष्ठ आजीवन सदस्य समेत हुनुहुन्छ ।
प्रकाशित मिति २०८१ मंसिर १५, शनिबार ०७:४५ गते