लमजुङ– नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङको नवनिर्वाचित समितिको बैठक आज मंसिर १८ गते बस्ने भएको छ । सुन्दरबजार नगरपालिका– ६ को HDCS– नमूना सामुदायिक अस्पतालको हातामा हुने सो बैठकले नवनिर्वाचित समितिका पदाधिकारीहरूको पद बाडफाड गर्नुका साथै केन्द्रीय सभामा भाग लिने प्रतिनिधि र पर्यवेक्षकहरूको चयन गरिने भएको हो ।
उक्त शाखाले मंसिर २१ र २२ गतेका दिन आयोजना गरेको दुई दिने निःशुल्क अर्बुद(क्यान्सर) र आँखा शिविरको तयारीका क्रममा सो बैठक सुन्दरबजारमा बैठक राखिएको शाखाका नवनिर्वाचित सभापति नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार बैठकले शिविरका लागि आवश्यक तयारी र जिम्मेवारी बाडफाड गरिने छ । उहाँले भन्नुभयो, ‘बैठकमा शिविर सञ्चालनका लागि जिम्मेवारी तोक्ने र तयारीका थप कामका बारेमा निर्णय हुनेछ ।’
यसका अतिरिक्त नवनिर्वाचित समितिका पदाधिकारीहरूको पद बाडफाड गर्नुका साथै केन्द्रीय सभामा भाग लिने प्रतिनिधि र पर्यवेक्षकहरूको चयन गरिने भएको शाखाका सभापति पहाडीले बताउनु भएको छ । उहाँका अनुसार बैठकले सल्लाहकारहरूको समेत चयन गर्दैछ ।
मंसिर २१ र २२ गते हुने दुई दिने निःशुल्क अर्बुद(क्यान्सर) र आँखा शिविरको व्यवस्थापन HDCS– नमूना सामुदायिक अस्पतालबाट भइरहेको छ । त्यस्तै, प्राविधिक एवम् औषधि र प्लस चश्मा लायन्स क्लब इन्टरनेशनल 325- E काठमाडौंबाट हुँदैछ । काठमाडौंमा प्राविधिक टोलीसँग परामर्श, समन्वयलगायतका कार्यमा आयोजक नेपाल अर्बुद रोग निवारण संस्थाका सल्लाहकार रामबाबु अधिकारीले गरिरहनु भएको छ ।
सल्लाहकार अधिकारीका अनुसार मंसिर २१ गते बिहान ऐतिहासिक स्थल दुराडाँडाको पाणिनी संंस्कृति माविमा रहेको गुरुकुलका बटुकहरूलाई लायन्स क्लबले खाद्यान्न सहयोग गर्ने कार्यक्रम छ । उहाँले भन्नुभयो, ‘२० गतेका दिन दिउँसो लायन्स क्लब इन्टरनेशनल 325- E काठमाडौं र सुन्दरबजार नगरपालिकाका बीचमा हुन सक्ने सहकार्यका लागि अन्तरक्रिया गर्ने समेतका कार्यक्रम तय भएको छ ।’ क्लबले उत्पादनमूलक क्षेत्रमा सहकार्य गर्न चाहेको अधिकारीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८१ मंसिर १८, मंगलवार ०७:५९ गते