बेसीशहर– लमजुङ जिल्लामा सञ्चालित सहकारी संस्थाका ठगी धन्दा एकपछि अर्को खुल्दै आइरहेका छन् । एउटा सहकारीको ठगी काण्डमा संलग्न सञ्चालकहरूका विरुद्ध जिल्ला अदालतमा बयान चलिरहेको यो बेलामा अर्को त्यस्तै एक सहकारीको ११ करोड बढी रकम अपचलन भएको सार्वजनिक भएको छ । एक सामान्य लेखपढ मात्र गरेकी महिलालाई सो अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको खुल्न आएको छ ।
जिल्लाको पहिलो कालिका बचत सहकारी र अन्य सदरमुकाममा हाइफाई गर्ने दुई कर्पुरेश्वर र सम्पदा नामक सहकारी गण्डकी प्रदेशकै नमूना बनाउने गुड्डी हाक्दै एकीकरण गरी कालिका साकोस बनेको सहकारीका सञ्चालकहरूले गरेको ठगी काण्डका विरुद्ध यतिबेला जिल्ला अदालतमा बयान चलिरहेको छ । यही मौकामा जिल्लामा राम्रोको श्रेणीमा गणना भइरहेको जनकल्याण साकोसको मर्स्याङदी गाउँपालिका– ८ स्थित ङादी सेवा केन्द्रबाट ११ करोड बढी रकम अपचलन भएको खुलासा भएको हो । मर्स्याङदी– ३ बस्ने २८ वर्षीय बिरेन्द्र गुरुङ र सोही गाउँपालिका– ९ की ५८ वर्षीय मधुमाया बगालेलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकल्याण साकोसको लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय छ । जिल्लाका विभिन्न स्थानीय तहमा सेवा प्रवाह गरिरहेको सो सहकारीको ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख ८१ हजार आठसय ४५ रुपैया किर्ते कागजात तयार गरी ठगी गरिएको सार्वजनिक भएको छ । उक्त सहकारीको सदस्य समेत नरहेकी मस्र्याङदी गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी मधुमाया बगालेले किर्ते कागज गरी ठगेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै त्यस्तो खुलासा भएको हो । प्रहरीले बगाले सहित जनकल्याण साकोसको ङादी सेवा केन्द्रका प्रमुख विरेन्द्र गुरुङलाई समेत पक्राउ गरेको जनाएको छ ।
बगालेविरुद्ध सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर किर्ते कागजबाट कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख ८१ हजार आठसय ४५ रुपैयाँ हिनामिना गरेको अभियोग छ । सो प्रकरणमा उनीहरूले भुलभुलेमा रहेको हिमालयन बैंकमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी त्यतिका रकम निकालेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । बगालेले त्यस्तो कार्य २०७२ सालदेखि नै सुरु गरेको बुझिन आएको छ ।
घर र माइती एउटै वडा भएकी, सामान्य लेखपढ मात्र गरेकी मधुमायाको कुनै पेशा व्यवसाय छैन । तर उनको हाइफाई देख्दा भने उनी अधिकृतस्तरभन्दा माथिल्ले जागिर खाने व्यक्तिको जस्तो हाईफाई पूर्ण व्यवहार देखिने गरेको उनका छरछिमेकी तथा उनलाई चिन्नेहरू समेत चकित पर्ने गरेका थियौं उनको धन्दा त यस्तो पो रहेछ एक स्थानीयले बताए ।
२०७२ सालदेखि सुरु भएको यो धन्दामा उनी र कर्मचारीको मात्र संलग्नता छ भन्नेमा विश्वस्थ हुने आधार भने देखिदैन । यस काण्डमा अन्य ४– ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको आशंका गरिएको छ । तर ती व्यक्ति को हुन् ? र के कस्ता हैसियतका हुन् भन्ने उनीहरूको बयानका क्रममा खुल्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । ११ करोड बढी रकम अपचलन भएको भए पनि सो सहकारीमा करिब तीन करोड रकममा मात्र मधुमायाको प्रत्यक्ष संंलग्ना रहेको देखिन आएको स्रोतको भनाइ छ । अन्य रकममा क– कस्तो हात रहेको हो, आउँदा दिनमा अनुसन्धान तथा उनीहरूको बयानबाट थप पुष्टि हुँदै जाने बताइएको छ ।
त्यसरी रकम हिनामिना गरेको जानकारी पाएपछि सहकारी संस्थाका सञ्चालकहरू आफैले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सहकारीले कार्यालयले यस सम्बन्धमा आवश्यक छानवीन गरिदिन सहकारी रजिष्ट्रारको कार्यालय, पोखरालाई पत्राचारको साथ अनुरोध गरेको थियो । रजिष्ट्रारको कार्यालयले छानवीनका लागि सहकारी रजिष्ट्रारको कार्यालयले बित्तीय विश्लेशक निर्मल गौतम सहितको टोली खटाएको थियो । वित्तीय विश्लेषक गौतमको टोलीले उक्त सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानवीन गरी प्रतिवेदन तयार गरी राजिष्टार कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बुझाएपछि प्रहरीले बगाले र सेवा केन्द्र प्रमुख गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक उपरीक्षक निशान्त श्रीवास्तवले बताउनु भयो । उहाँका अनुसार छानवीन प्रतिवेदनमा आरोपी बगाले र सेवा केन्द्र प्रमुख गुरुङले सहकारीको ११ करोड बढी रकम हिनामिना गरेको उल्लेख छ । उहाँले भन्नुभयो, ‘छानवीन प्रतिवेदनमा उनीहरूले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकोले उनीहरू उपर सम्पती शुद्धीकरण ऐन २०६४ (संशोधन समेत) को कसुर गरेको पाइएकाले सम्पती शुद्धीकरणतर्फ समेत अनुसन्धान गरि पिडित सहकारीका नाममा रकम भराउनु पर्ने राय दिइएको छ ।’
जिल्ला प्रहरी कार्यलय लमजुङको टोलीले एक दिन अघि र पछि गरी पक्राउ गरेका बगाले र गुरुङ मध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत लमजुङले प्रहरीलाई अनुमति दिएको प्रनाउ श्रीवास्तवले जानकारी दिए ।
मस्र्याङदी गाउँपालिका– ९ बाट वडा सदस्यमा एमालेबाट निर्वाचित मधुमाया बगाले सो गाउँपालिकाको कार्यपालिका सदस्य हुनुको साथै एमालेको सो वडाको अध्यक्ष समेत हुन् ।
यस बारेमा बुझ्नका लागि जनकल्याण साकोसको केन्द्रका सञ्चालक समितिका अध्यक्ष ताराराज घलेसँग सम्पर्क गर्न प्रयास गर्दा सफल हुन सकेन भने प्रवन्धक झमप्रसाद गुरुङको फोन उठेन ।
एकल पार्टीगत बर्चश्व भएका सहकारी प्रायः डुब्ने निश्चित :
लमजुङ जिल्लामा समस्या सिर्जना भएका सहकारीहरूमा एकल पार्टीगत बर्चश्व रहेका सहकारीहरू प्रायः ठगी धन्दा मौलाएर डुबेका देखिन आएको छ । त्यस्तो स्थिति खुल्न आएका हाल जिल्ला अदालतमा सहकारी ठगीमा सञ्चालकहरूका विरुद्ध बयान चलिरहेको कालिका सहकारीमा एमालेको बाहुल्यता रहेको छ । अर्को काँग्रेसको बाहुल्यता रहेको बेसीशहरमै मुख्य कार्यायल रहेको सुनौलो भविष्य साकोसमा पनि अपचालन भएको बारेमा गण्डकी प्रदेशको सहकारी राजिष्टार कार्यालय अनुन्धान गरेर फर्किएको छ । सो अनुसन्धनको प्रतिवेदन सार्वजनिक हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो सहकारी संस्था हाल बन्द जस्तै अवस्थामा छ । त्यो सहकारीमा पनि करिब १० करोड रकम अपचलन भएको बुझिन आएको छ ।
एमालेको द्वैध चरित्र उदाङ्गो :
जिल्लामा सहकारीका ठगी काण्ड उजागर हुँदै गर्दा केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको यस जिल्लामा द्वैध चरित्र देखिएको छ । जिल्लामा फ्लप खाएका अर्थात डुबेका सहकारीहरूका सञ्चालक तथा संलग्नका बीचमा एमालेले त्यस्तो द्वैध चरित्र देखिएको हो ।
हालै ठगी काण्ड सार्वजनिक भएको जनकल्याण सहकारीमा मुछिएकी मधुमाया एमालेको मर्स्याङ्दी गाउँपालिका– ९ की वडा अध्यक्ष समेत हुन् । उनलाई प्रहरीले पक्राउ गरेको तेस्रो दिनमा नै पार्टीले निलम्बन गरिएको विज्ञप्तिमार्फत खुलासा गरेको छ । तर हाल जिल्ला अदालतमा बयान चलिरहेको बेसीशहर स्थित कालिका सहकारीको बुहचर्चित ठगी काण्डको सहकारीमा सचिव समेत रही सो ठगी काण्डमा २६ दिनसम्म प्रहरी कष्टडीमा बसेर सात लाख रुपैयाँ अदालतमा धरौटी बुझाएर तारेखमा रिहा भएका सो दलका प्रचार विभागका प्रमुख एवम् बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीलाई भने आजका दिनसम्म उन्मुक्ति दिइएको स्थिति छ ।
यी दुई घट्नाबाट एमालेमा द्वैध चरित्र भएको उदाङ्गीएको हो । जसले पहुँच हुने र नहुनेका बीचमा पार्टीले विभेद गरेको तथ्यसमेत छताछुल्ल भएको यतिबेला जिल्लाका गाउँ तथा शहर बजारमा व्यापक हल्ला चलिरहेको छ ।
प्रकाशित मिति २०८१ मंसिर २०, बिहीबार १४:२२ गते