नेपालमा पर्यटन भन्ना साथ हिमाल ताल तलैया र प्राकृतिक सम्पदा भित्रका कुरा धेरैले लिने गर्दछन । तर पर्यटन भित्र अर्को बिट इतिहास र संस्कृति पनि छ । नेपालमा धेरै पर्यटकहरू तीर्थाटनका लागि आउने गर्दछन । छिमेकी देश भारतबाट मात्र बर्षेनी लाखौंको संख्यामा तीर्थाटनका पर्यटकहरू नेपालमा भित्रिने गर्दछन । खुल्ला सिमानाको कारण कति भारतीय पर्यटकहरू नेपालमा भित्रिन्छन भन्ने तथ्याकं भने छैन । तर पनि भारतियहरू तीर्थाटनका लागि लुम्विनी, पशुपतीनाथ, जनकपुरधाम र स्वर्गद्वारीमा भने लाखौंको सख्यामा आउने गर्दछन ।
इतिहास र संस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने पर्यटकहरू जनकपुरधाम पुग्न सके राम्रो हुन्छ । प्राचीन मिथिलाको राजधानी र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृतिले मात्र नभएर मिथिला कला र संस्कृतिले पनि धनी छ, । अर्कोतर्फ जनकपुरधाम धार्मिक दृष्टिले पनि वैभवपूर्ण मानिन्छ । पर्यटनका लागि भौतिक पूर्वाधारका हिसाबले पनि जनकपुरधाम सुगम क्षेत्र हो । राजर्षी जनकको राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुरधाम हिन्दूहरूको आस्थाको केन्द्र पनि हो । अर्कोतर्फ जनकपुरधाम धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन ऐतिहासिक नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । जुन कुरा रामायण, वेद, पुराण र मिथिलाको उन्नत सभ्यताको बारेमा व्याख्या गरिएको छ । भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएको बेला नेपालमा मिथिला सभ्यताले उचाई पाएको थियो । जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय आदि विद्वानको थलो पनि जनकपुरधाममा नै थियो । पर्यटनको लागि मिथिला क्षेत्रको अध्ययन गर्न जनकपुरधाम खुल्ला संग्रहालय हो ।
जनकपुरधाममा त्रेतायुगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महोत्सव हुने गर्दछ । विवाह पञ्चमी महोत्सवमा राम जन्मभूमि भारतको उत्तर प्रदेश राज्यको अयोध्यादेखि तीर्थाटनका पर्यटकहरू जनकपुरधाममा आउने गर्दछन । आजभोलि विवाह पञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट जन्तीहरू जनकपुरधाम आएका छन । भारतबाट आउने जन्तीहरूमा विशेषत साधु, सन्तहरू धेरै हुने गर्दछन । अयोध्याबाट आएका जन्ती जनकपुरमा १७–२२ गतेसम्म बस्दछन । विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण यो मेलाका अवसरमा जनकपुरका होटल, लज र धर्मशालाहरू सबै भरिएका छन । सप्ताहव्यापी रुपमा मनाइने महोत्सवमा पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा महोत्सवको आयोजना गरिन्छ । महोत्सवका अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गरिन्छ । प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरुप जनकपुरमा राम र सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीतालाई विदा गर्ने प्रचलन छ ।
जनकपुरधामको रामजानकी मन्दिर ऐतिहासिक हो । प्रत्येक बर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमीमा तीर्थाटनका पर्यटकहरू जनकपुरधाममा पुग्दछन । अहिले नेपालका साथै छिमेकी मुलुक दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, उत्तराखण्डलगायत राज्यबाट हजाराँैको संख्यामा पर्यटकहरू जनकपुरधाम आएका छन । त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पनि वाह्य पर्यटकहरू जनकपुरधाम आउने गरेका छन् । त्रेतायुगमा विवाह पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई बिवाह गर्नु भएको तिथि मानिन्छ । आर्दश जोडी राम सिताको विवाह जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको थियो । प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । जुन कारणले जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत अर्थात लगन हेर्न नपर्ने पौराणिक मान्यता समेत रहँदै आएको छ ।
जनकपुरधामलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन । सीता नेपाल भूमिकी पुत्री पनि हुन । त्रेता युगमा जनकवंशका वाईसौं राजा शीरध्वजले प्रजाहरूलाई अनिकालबाट मुक्ति दिलाउन आफै हलो जोत्न थाल्दा भूमिबाट वालिका जानकी उत्पन्न भएको मानिन्छ । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करुणाका खानीका रुपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठूलाठूला वीरहरूले पनि उचाल्न सक्दैन थिए । सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । सर्वगुण सम्पन्न जानकीको विवाहका लागि स्वयंवर लिन इच्छुक विभिन्न प्रदेशबाट आएका राजकुमारहरू मध्येवाट शिवधनुषमा तांदो चढाउनेलाई वरको रुपमा ग्रहण गर्ने राजा शीरध्वजको शर्तमा अयोध्याबाट आएका दशरथपुत्र श्रीराम बाहेक कोही उतीर्ण हुन सकेनन् । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।
जनकपुरधाम पुगेपछि पर्यटकहरूले जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रुपमा परिचित जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रगभूमि मैदान नजिकैको हनुमानको शंकटमोचन मन्दिर, स्वर्गद्वारीलगायतका धार्मिकस्थल र तालतलैया सरोवर र दैनिक रुपमा हुने गगां आरतीले तीर्थाटनका पर्यटकहरूलाई आकर्षण गर्दछ । यो बाहेक पर्यटकहरूलाई अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन । गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर पनि जनकपुरधाम पुग्ने पर्यटकहरूका लागि पुग्नै पर्ने ठाउँहरू हुन । जनकपुरधाममा विवाह पञ्चमी मात्र होइन राम जन्मको अवसरमा रामनवमी, वैशाखमा जानकी नवमी, असोज पूर्णिमामा कोजाग्रत, साउन भदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ ।
जानकीको विशाल मन्दिरको निर्माण सन १९११ मा गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५ औँ शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए । शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए । त्यसैले मिथिलाधाम दर्शन गर्ने उनको मनमा इच्छा जाग्यो तर मिथिलाधाम कुन ठाउँमा छ भन्ने विषयमा उनलाई केही थाहा थिएन । भनिन्छ माता जानकीले नै उनलाई सपनामा जनकपुरधामको बाटो देखाएकी थिइन । बि.स. १४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेला पारेको बताइन्छ । बि.स. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा जमिन दान दिएको लिखत अझै छ । पछि निसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको इच्छा व्यक्त गरिन । उनलाई पुत्र प्राप्ति भएपछि रामजानकी मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले रामजानकी मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ ।
बि.स १९५० मा शिलान्यास भई बि.स १९६७ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ । संग्रहालयमा हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको सबैकुरा राखिएको छ । जुन संग्रहालय इतिहासमा रुचि राख्ने पर्यटकहरूको लागि अध्ययन सामग्री बन्दछ । जनकपुरधामको मध्य भागमा रहेको रामजानकी मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रुपमा रहेका छन । रामजानकी मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ । रामजानकी मन्दिर वास्तु कलाकारिताको विलक्षण रहेको छ । जानकी मन्दिरमा पुगेपछि पर्यटकहरू मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजुर, फराकिलो मन्दिर परिसर र कलात्मक प्रवेशद्वार अवलोकन गर्दा दंग पर्दछन् ।
बिवाह पञ्चमीमा जनकपुरधाम पुग्ने पर्यटकहरू धनुषाधाम पुग्नै पर्ने हुन्छ । जनकपुरधामबाट करिब १५ किलो उत्तर पूर्वी क्षेत्र धनुषाधाम नगरपालिकामा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण मानिन्छ । त्रेतायुगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए । भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो । जसको एक टुक्रा आकाशमा, एउटा पातालमा र एउटा टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ । पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल नै हो धनुषाधामलाई मानिन्छ । धनुष झरेको स्थलमा अहिले कालो सिमेन्ट झै ढुंगा झरेको जस्तो देखिन्छ । धनुषाधाममा झरेको कालो शीलामाथि अहिले विशाल पिपलको बोट छ ।
जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको शहरको नामले पनि चिनिन्छ । जनकपुरमा पाइलै पिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैयाहरू छन । जनकपुरधामका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसंगीतले तीर्थाटन पर्यटकहरूलाई मन्त्रमुग्ध बनाइ दिन्छ । मठमन्दिरमा गुञ्जिने संगीतले पर्यटक उत्साहित हुँदै जय सीताराम, जय जय हो ! भन्दै रामजानकी मन्दिर परिक्रमा गर्दछन् । बिवाह पञ्चमीको बेला जनकपुरधाममा भगवान राम र सीताको शुभबिबाह सम्पन्न भएको हुनाले देशका विभिन्न स्थानबाट वैवाहिक कार्यको लागि पनि जनकपुरधाममा पुग्ने गर्दछन । रामजानकीको मन्दिरमा विवाह गर्नाले वर वधुको जीवन सफल हुने विश्वास गरिन्छ । विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा सामूहिक विवाहको समेत आयोजना हुन्छ । बिवाह गर्नको लागि भारतको बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, पश्चिम बंगाल, राजस्थान आदि ठाउँबाट समेत मानिसहरू जनकपुरधाममा आउने गर्दछन ।
जनकपुरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ । यसलाई साँस्कृतिक, व्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । जनकपुरलाई ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि मानिन्छ । साथै यस शहरको आफ्नै भाषा मैथिली र लिपि तिरहुता पनि छ । प्राचीन कालमा हालको जनकपुर क्षेत्र मिथिलापुरीको सभ्यता उपनिषदकालको समयमा सर्वोच्च शिखरमा पुगेको पाइन्छ । त्यस समयका शासकहरू सभ्य र उदार भएको कारण मिथिलापुरीमा अध्यात्मिक शिक्षा दर्शन तथा उपनिषदहरूको अत्यन्त विकास भएको इतिहासमा पाइन्छ । सत्ययुगको अन्त्यतिर गएर बैष्णब भगवान विष्णुका अनुयायीहरूको प्रयासबाट मिथिलापुरीको खोज र पुनर्जागरण गरी मिथिलाराज्य जनकपुरको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ । जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो । यो भाषा भारतको बिहार प्रान्तको धेरैजसो भागमा पनि बोलिन्छ । मैथिल नारी मैथिल चित्रकलाका लागि पनि प्रख्यात छन । विशेषतया माटोको भाँडा एवम् घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ ।
जनकपुर जाँदा समय लम्वाउन सके मधेश प्रदेशका अन्य जिल्लाहरूसमेत पुग्न सकिन्छ । जनकपुर जाँदा बारा जिल्लाको प्रसिद्ध गढीमाइ पुग्दा राम्रो हुन्छ । आजभोलि गढीमाईमा पञ्चबर्षीय मेला समेत लागेको छ । मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ । विश्व कै बढी बली चढने शक्तिपिठहरू मध्ये पहिलो स्थानमा गढीमाई मंदिर मानिन्छ । गढीमाई मेलामा नेपाल बाहेक भारतबाट ठूलो संख्यामा माता गढीमाई प्रति आस्था राख्ने तीर्थाटनका पर्यटकहरू आउने गर्दछन । बाराको सदरमुकाम कलैयाबाट आठ कि.मी पूर्व बरियारपुरमा गढीमाईको मन्दिर पर्दछ । त्यसैगरी सप्तरीको छिन्नमस्ता, सर्लाहीको सर्लाही देवीको मन्दिर, सिराहाको सहलेस फुलबारी, महोत्तरीको लक्ष्मीनारायणको मन्दिर र दरबार, पर्सा ऐतिहासिक गहवामाईको मान्दिर पुग्न सके जनकपुरधाम जाँदाको धेरै उपलब्धि हुन्छ ।
मदेश प्रदेश घुमफिर गर्नको लागि यातायात एव खानबस्नको लागि कुनै असुबिधा हँुदैन । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा आउने भारतीय पर्यटकहरूलाई सहज भएको छ । आजभोलि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि आन्तरिक पर्यटकहरूलाई पनि आवत जावतका गर्न सहज बनेको छ । जनकपुरधाम नेपालको प्रमुख शहरबाट सिधैंं बससेवा सञ्चालन छ ।
(लखेक : स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष, पर्यटन क्षेत्रमा विशेष दखल राख्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८१ मंसिर २३, आईतवार १८:५४ गते