बेसीशहर– प्रायोजित पत्रकारिताको बाहुल्यता चल्ने गरेको लमजुङको पत्रकारिताको इतिहासमा आजको दिन अर्थात मंसिर २८ गते कालो दिनको रुपमा अंकित हुने भएको छ । मंसिर २६ गतेका दिन सुरु भएको पत्रकार महासंघको अधिवेशनको क्रममा मतदान हुने दिन आज महासंघमा कब्जा जमाएका र तिनको कठपुलती बनेको निर्वाचन मण्डलले आजको दिनलाई त्यस्तो उपमा अर्थात ‘कालो दिन’ भन्न बाध्य बनाएको हो ।
पाठक वर्गलाई थाहै छ, यतिबेला मुलुकमा सत्तामा हालिमुहाली गरेका ठूला दुई दल काँग्रेस– एमालेको हैकमवाद चलिरहेको छ । त्यसको प्रष्ट रुपमा पत्रकार महासंघको अधिवशेन सुरु भएको दिनदेखि आज सम्पन्न भएको दिनसम्म प्रदर्शनज गरिएका विविध प्रकारका परिदृश्यबाट पुष्ट हुँदै आएको हो । आज सम्पन्न हुँदै गरेको पत्रकार महासंघको निर्वाचन क्रममा अपनाइएका घट्नाले उदघाटन सत्रदेखि सुरु भएका त्यस्ता विसंगतिपूर्ण केही थप दृश्यहरूले फेरि पर्दामा उतारेको छ । विहान ८ बजे सुरु गनु पर्ने मतदान प्रक्रिया दिउसो चार बजे सुरु गरियो । निर्लज्ज बन्यो निर्वाचन मण्डल । स्वतन्त्र उम्मेदवारको समर्थक बसेका व्यक्तिले समेत आफनो मत आफूले दिन नपाएको गुनासो गरेका छन् । यसलाई निष्पक्ष निर्वाचन भन्न मिल्छ ? त्यसैले आजको दिनले ‘कालो’को संज्ञा पाएको हो ।
पत्रकार महासंघको जिल्ला, प्रदेश मात्र नभई केन्द्रका समेत पदाधिकारी तथा कार्यकारी सदस्य र लेखा समितकिो समेतका लागि मतदान हुने दिन आज मुलुकका ७६ जिल्लामा विहान ८ बजे मतदान सुरु भयो । तर लमजुङमा भने त्यो समय तालिका सार्दा सार्दा चार बजेमात्र मतदान सुरु गरियो । यस्तो निर्वाचन पनि वैध हुन्छ ? हुन सक्छ ? त्यसो गर्नुको कारण थियो लमजुङमा अध्यक्ष युनियनलाई परेको थियो तर अध्यक्ष पदमा चौतारीको तर्फबाट निवर्तमान उपाध्यक्ष अनुज अधिकारीले विद्रोह गर्नु भई स्वतन्त्र उम्मेदवारी दिनु भयो । उहाँ गत अधिवेशनमा भएको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन भई प्यानलवाइज भएको निर्वाचनमा पनि ११ क्रस भोट ल्याएर चौतारीको प्यानलबाट उपसभापति पदमा जित्ने एकमात्र व्यक्तित्व हो ।
विडम्बना ! गत निर्वाचनमा आफूले हराएकै व्यक्तिलाई यस पटक युनियनले अध्यक्ष बनायो । त्यसो हुँदा पनि उहाँलाई त्यो निर्णय स्विकार गर्न कठिन भयो एकातिर भने अर्कोतिर चौतारीले उहाँलाई के कसरी व्यवस्थापन गर्ने ? के छ इन्छा ? भनेर एक बचन सोध्ने कामसम्म नभएको उहाँको गुनासो छ । स्माभिमानी र क्षमतावान् मानिसले लत्रदै जीहजुर पनि गर्दैन । अनुजमा त्यस्तो क्षमता प्रचुर मात्रामा देखिन्छ ।
स्वतन्त्र, निष्पक्ष एवम् धाधली रहित वातावतरणमा निर्वाचन गरिएको भए, गर्न दिएको भए यो पटक पनि अनुज अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर रेकर्ड ब्रेक गर्ने निश्चित थियो । त्यसो त नैतिक रुपमा उहाँले जितिसक्नु भएको छ । प्राविधिक रुपमा हार्नु बेग्लै हो ।
त्यस्तो वस्तुस्थिति बुझेका प्रेस युनियर र चौतारीमात्र हैन तिनका माउ पार्टीसमेत अनुजलाई रोक्न धोति खुस्कने गरी कम्मर कसेर लागे । उनीहरूका सामु निर्वाचन समिति निरीह मात्र हैन महानिरीह सावित भयो, पटक पटक निर्वाचन तालिका र मतदानको समय धकेल्दै धकेल्दै चार बजेसम्म पुर्याउने काम भयो ।
अन्त्यमा, अनुजले नाम फिर्ता लियो भन्नेसम्मको हल्ला फैलाएर मतदान सुरु गरियो । तर अनुजले नाम फिर्ता लिने लगायतका त्यस्ता कुनै पनि कागजातमा आफूले सही नगरेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘चौतारी र एमालेले समेत आफूलाई गरेको कारवाही सार्वजनिक भएपछि म बाहिर आएको हुँ र पनि घेर्न छाडेनन्, मलाई तीन थरी कागज दिएका थिए तर मैले कुनैमा पनि मेरो हातले दस्तखत गरेको छैन ।’
नयाँ उदाउँदै गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी जसले सुशासन, स्वाभिमान, न्याय, राष्ट्रिय स्वधिनता जस्ता गहन विषयको पक्षपोषण गर्ने अभियानमा जुटिरहेको छ– लाई सिद्धान्त हीन भन्दै उडाउने काँग्रेस– एमालेको लोकतान्त्रिक सिद्धान्त एवम् आचारण यो निर्वाचनमा थप छरप्रष्ट भएर उदाङ्गीएको छ । जसले लमजुङको प्रायोजित पत्रकारिताको विकृति रुपलाई थप मलजल गर्ने आंकलन गरिएको छ ।
त्यस्तो विकृति झ्याङ्गिनुलाई भागबण्डाको उपजका रुपमा यो अधिवेशन सुरु हुँदादेखि अन्त्य हुँदासम्मका दृ्श्यले पुष्टि गरेको हो ।
पत्रकार महासंघको अधिवेशनको २६ गते गरिएको उदघाटन सत्रमा राष्ट्रिय मान्यता प्राप्त पार्टीलाई समेत आसन ग्रहणमा समेत नबोलाएर हैकमवादी रबैया देखाइएको थियो । यहाँ सम्झनै पर्ने केपनि छ भने लमजुङको २०७९को निर्वाचनमा ‘रास्वपाले तेस्रो स्थानको मत हासिल गरेको थियो ।’ सो कार्यक्रममा जिल्लामा चौथो दल बनेको माओवादी केन्द्रलाई आसन ग्रहण गराइएको थियो । तर अन्य राष्ट्रिय मान्यता प्राप्त दललाई बोलाउने काम भएन ।
त्यस्तै, २७ गते निर्वाचनको मनोनयन गर्दा गर्नु पर्ने पत्रकार महासंघको केन्द्रले दिएको निर्देशनमा उल्लेख छ । तर यहाँ २८ गते विहान ८ बजेका लागि पहिलो सूचना जारी गरियो, त्यसलाई पनि सार्ने काम भयो । मनोनयन २ बजेसम्मका लागि धकेलियो । अनुज अधिकारीले एक बजेतिर स्वतन्त्र मनोनयन गर्दा गर्नु भयो । तर उहाँलाई भूमिगत हुन बाध्य पारियो । अनौठो त के छ भने अनुजलाई फकाउन, धम्काउन, गलाउन सकिन्छ कि भन्ने धेयले उहाँलाई प्रहरीसमेत लगाएर खाज्ने कामसमेत गरिएको थियो ।
मानिसले आफ्नो वयैक्तिक स्वतन्त्रताको उपयोग गर्न नपाउने ? जहाँ पनि जतिबेला पनि पार्टीको हस्तक्षेप ? पार्टीको यस्तो सेपमा पर्ने गरेपछि कसरी हुन सक्छ स्वच्छ, निष्पक्ष एवम् निर्भिक, कर्मठ तथा समालोचनायुक्त पत्रकारिता ? लमजुङको पत्रकारिता किन निरिह छ भन्ने सायद अर्को उदाहरण खोजिरहन परोइन ।
एमालेले गरेको चलखेलका केही उदाहरणहरू :
अनुजलाई उम्मेदवारी फिर्ता गर्न नलगाएको खण्डमा केही पत्रकार नेताको पार्टी सदस्यता खोस्नेसम्मका धम्की पत्रकार नेताहरूलाई हिजै दिइएको थियो । त्यो थाहा पाएर पनि अनुज गल्नु भएन । त्यसो त अनुज के कस्तो व्यक्तित्व हो भन्ने त माथि पनि केही उल्लेख भएको छ भने antaranganews.com को यसअधि हिजो प्रकाशित समाचारमा पनि लेखिसकिएको छ ।
दिउँसो करिब २ बजे केन्द्र र प्रदेशबाट आएको मतपत्र रुजु गर्ने काम सुरु गरियो, त्यो सकिएपछि मतदान शुरु होला भन्ने आशामा रहेकाहरु फेरि निरास भए । मतदान थालिएन । पत्रकार मतदातालाई भ्रम र दबाबमा पार्नका लागि मनोनयन फिर्ता लिएको भन्नेसम्मका अफवाह प्रेस चौतारी र उसको माउ पार्टी एमालेबाट हुनु कतिसम्म लज्जास्पद होला ? पाठक वर्गले आफै आंकलन गर्न सक्नु हुन्छ ।
मतपत्रमा दुवै अध्यक्षको नाम छ । जिल्लाको अध्यक्ष पदमा मतदान भएको छ । यो पंत्तिकारले समेत अन्तिममा गएर मत खसालेको छ । अनुजले साच्चै नाम फिर्ता लिएको भए अध्यक्ष पदमा मतदान हुँदैनथ्यो, सन्देश पौडेल निर्विरोध अध्यक्ष भएको घोषणा निर्वाचन मण्डलबाट हुन्थ्यो । अन्य दबाब झेल्न नसकेर निरीह बन्दै पटक पटक निर्वाचन तालिका फेरबदल गरेको निर्वाचन मण्डलबाट अनुजले नाम फिर्ता लिएको भए सन्देश पौडेल निर्विरोध अध्यक्ष भएको घोषणा गरिएको हुन्थ्यो तर त्यसो गर्ने हिम्मत भने निर्वाचन मण्डलले गर्न सकेन । गरेन निर्वाचन परिणम कही क्षणमा आउँदै छ ।
हाम्रो चिन्ता र चासो भनेको व्यक्ति कस्ले के पद पायो वा जित्यो भन्ने गौण विषय हो । मुख्य लोकतान्त्रिक पद्दति बलियो हुने काम भयो भएन ? यो महत्वपूर्ण पक्ष हो र रहनेछ । 
गोप्य मतदानको धज्जी उडाइयो :
जो कसैको पनि र जुन कुनै पनि संस्थामा मताधिकार गोप्य हुन्छ । तर यहाँ आज गरिएको पत्रकार महासंघको निर्वाचन प्रयोजनका लागि हिजको दिनदेखिनै ‘गठबन्धनका सदस्यले देखाएर भोट हाल्नु पर्छ’ भन्ने डंका पिट्दै मतदातालाई तर्साउने र दबाब दिने काम भएको थियो । त्यो हल्ला बाहिर आएपछि त्यसको प्रतिकार हुने स्थिति बन्यो । त्यसपछि उनीहरूले चलाखी गरी दुई दुई जनालाई जोडी बनाउँदै पठाएर एकले अर्कोलाई देखाएर मत हाल्नु पर्ने भन्दै उर्दी जारी गरे र जोडी बनाएको पर्चा समेत अन्तरङ्ग न्यूज डटकमलाई प्राप्त भएको छ । अन्नतः त्यस्तै गरियो, त्यतिमात्र हैन स्वतन्त्र उम्मेदवारका समर्थक बसेका व्यक्तिले समेत आफ्नो मन आफूले दिन नपाएको गुनासो गर्नु भएको छ ।
प्रस्तुत छ : सो जोडीको नामावली जस्ताको तस्तै । यही हो लोकतन्त्रको मर्म ? यस्तो पनि गोप्य मतदान हुन्छ ?
राजनीतिक भागवण्डाले देश थिलोथिलो भएको बेलामा पत्रकारिताको भागबण्डाले कता पुग्ने हो ? थप सोचनीय विषय हुन पुगेको छ । यसप्रकार यी र यस्तै सेरोफेरोका घट्नाले प्रायोजित पत्रकारिताको बाहुल्यता रहँदै आएको यस जिल्लामा त्यस्तो प्रवृत्ती एवम् प्रकृतिको पत्रकारिताले थप मौलाउने मौका पाउने आजको कालोदिनबाट झनै उजागर भएको छ ।
प्रकाशित मिति २०८१ मंसिर २८, शुक्रबार २१:०५ गते