त्यो व्यक्तिले दश पास गरेको पनि छैन, राजनीति गरेर देश हाँंक्छु भन्छ । जाबो दश पास हुन नसक्नेले देश हाँंक्ने धाक लगाउने जस्ता भनाइ आउने गरेका छन् । तर उनीहरूलाई थाहा छ कि छैन, दश पास मात्र गरेका वा त्यो भन्दा कम पढेकाहरूले लेखेका किताबहरूमा विद्यावारिधी पनि गरिएको छ । बुझ्नै पर्छ कि पढाई केवल मापदण्डसम्म हो र यतिसम्म जानेको छ भन्ने आधिकारिकता मात्र हो । त्यो आधिकारिकता नभइ त्यो भन्दा राम्रो अध्यायन र ज्ञान भएको मानिस हुनै सक्दैन ? कस्तो अचम्म ? हामीले कालिदाश महाकवि भए पनि नपढेका, एकलव्यले गुरु नै स्थापना गरी बांण अर्थात क्षेप्यास्त्र चलाउन सक्षम भएका, जोन मेजर जस्ता बसको कन्डक्टरवाट प्रधानमन्त्रीसम्म बन्न सकेका, नरेन्द्र मोदी जस्ता चिया बनाउने मानिस प्रधानमन्त्री बनेका, उमा भारती जस्ती गरिबीको कारणले विद्यालयको पढाइ गर्न नै नसकेकी साधवी प्रदेशको मुख्य मन्त्री भएकी जस्ता उदाहरण दुनियाँमा धेरै छन् भन्ने बिर्सन हुंदैन । त्यसैले मानिसहरूका भनाइहरूको पछि विश्वासमा हिंड्ने हो भने कही पनि पुगिदैन भनिने गरेको हो ।
मधुशुधन गड्तौला कमै पढेका अलग अभिकर्ता हुनु हुन्थ्यो । उहाँंको त्यतिबेला रहेको कानुनी ज्ञान र प्रयोगमा ल्याउने क्षमता यति राम्रो थियो कि ! उहाँं मेरा दाज्यु तथा गुरु अधिवक्ता भरतराज उपाध्यायको पनि गुरु हुनुथ्यो, मेरो त भइ भै हाल्नु भयो । जिल्ला अदालतका न्यायाधीश प्रेमनाथ सिलवाल हुनु हुन्थ्यो, सुने अनुसार उहांँले प्रमाणपत्र तह मात्र पढ्नु भएको थियो र कानुनको पढाइ थिएन । तर उहाँं कानुनको प्रयोग गरेर उचित न्याय दिनमा अत्यन्त शिद्धहस्त हुनु हुन्थ्यो । उहांँको तुलनामा अहिलेका माथिल्लो अदालतमा रहेका न्यायाधीशहरूको पनि न्यायाशील र विवेकशील क्षमता कतिपय कुरामा पुग्न सक्दैन जस्तो लाग्छ ।
त्यसैले पढाई विद्वता जान्ने र जांँच्ने एक प्रष्ट आधार हो तर प्रमाणपत्रमा आधारित योग्यता नभएको व्यक्ति जान्ने नै हुंँदैन भन्ने भ्रम राख्नु मुर्खता हो । कमै पढेका गिरिजाप्रसाद कोइराला तथा केपी ओलीको अंग्रेजी अरु धेरै पढेका धेरैको भन्दा राम्रो रहेको सबैलाई थाहा छ । यो सत्य नहुन पर्ने हो, तर हामीहरूकोमा शुद्ध अंग्रेजी राम्रोसंग पढ्न, लेख्न र बोल्न जान्ने मानिसहरू धेरैको ज्ञान राम्रो नै हुने गरेको छ । किनकि, मातृभाषा र दोश्रो भाषा समेत अंग्रेजी नभएकोले यसको लागि प्रयास चाहिन्छ ।
अहिले रवि लामिछानेले नेतृत्व लिएको राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धान्तहीन दल हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको आर्थिक दृष्टिकोण छैन केवल राजा र हिन्दु राष्ट्रको सेन्टिमेन्ट बोकेको हो जस्ता औचित्यहीन कुराहरू पनि आउने गरेका छन् । प्रथमतः सिद्धान्त के हो ? समाजवाद, लोकतन्त्र, कम्युनिजम, माओवाद आदि बिचार बोकेर उनीहरूका गुरुहरूका भनाइहरू समेत अक्षर अक्षर कण्ठ गरेकाहरूले के गरे ? देशलाई कहांँ पुर्याए ?
राजनैतिकवाद भनेको जनतालाई मुर्ख बनाउने र ठग्ने माध्यम हो ? अन्यथा २०४६ सालदेखि अहिलेसम्म देश हाँंक्नेहरूकोे सत्तामा जानुको लक्ष्य के छ ? कांग्रेसले २०५१ सालमा आफ्नो सरकार आफैले ढालेको हो । ऐमालेबाट कर्मचारीमा राजनीतिकरणको सुरुवात भएको हो । राजनीति गरेकाले जस्तो भए पनि स्वतः स्थायी हुने नीति कांग्रेसका सन्त भनिने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै ल्याएका हुन् । त्यसैबाट पेसागत क्षमता भन्दा राजनीतिमा दखल भएपछि शिक्षक, संस्थान आदिमा स्थायी हुन पाइन्छ भन्ने, निजामति सेवामा समेत राजनैतिक प्रभावमा पानी बढुवा हुने कार्य चर्चित कार्य भएको हो । अहिले पनि ती गलत कार्यहरूको प्रभाव शिक्षा र संस्थानहरूमा यथावत छ ।
राजनीति गरेर कसैको पानी बढुवा भयो । कसैको सोसर्् फोर्स लगाएर जागिर भयो, आन्दोलनबाट स्वतः स्थायी भयो । बिद्धानहरूको लागि भनेर राखिएको संसदहरूको समानुपातिक सिट कहिल्यै चुनाव जित्न नसक्ने, जनताले नपत्याउनेहरूले नेताहरूको हनुमान भएको भरमा पाउने भयो । महिला, आदिबासी, पिछडिएका स्थान र जातहरूको सिट पनि क्षमताबान महिला, आदिवासी आदिले नपाएर नेताहरू नजिकका आफन्तहरू, पत्नी, साला, अघोषित आफ्नाहरूको पोल्टामा राख्नको लागि काम लाग्यो । संवैधानिक पदहरू, राजदुत, सल्लाहकार जस्ता पदहरू राजनीतिज्ञहरूका गल्ती ढाकछोप गर्नेहरूको पोल्टामा गए । कुनै समयमा भनिएको थियो कि ! भ्रष्टले राखेको अख्तियारको प्रमुखले इमान्दारलाई बचाउन परेन, किनकि, त्यो फाइल आफ्नोमा आउंदैन, भ्रष्टलाई नै बचाउने त हो । यस्तो हाँस्यास्पद कार्य भइरहेको छ ।
देशको विकास भएको छ अरे ! म आजको मितिमा घोषणा गर्छु कि ! देशको स्थायी विकासको लागि जे काम भएको छ, त्यो विकास विदेशीहरू, अन्यदाताहरू, ऋण दिनेहरू, सहयोग दिनेहरूले दिएको सहयोग र सहयोग दिंदाको मुल्यको आधारमा त्यो रकम अनुसार विकास भएको र त्यो पैसा सबै विकास कार्यमा लागेको रहेछ र उचिति विकास भएर उचित परिणाम आएको रहेछ भने म मेरो भएको सबै सम्पति बेइमानहरूलाई बुझाएर श्रम कारावासमा बस्न तयार छु । यो मेरो चुनौति नै हो ।
सिद्धान्त र वादको नाममा जे पनि गर्ने, अरुलाई सिद्धान्त र आदर्शको कुरा सिकाउने ? यो मिल्दैन । सत्तामा रहनेहरूले सिद्धान्तको सुकुटी खाइसकेका छौं । अब त्यो सिद्धान्तलाई आफ्नो फाइदा र देशको बरवादीको लागि जनतामा दुष्प्रचार नगरे हुन्छ । तिमीहरूको सिद्धान्तले के दियो ? खान दियो ? बस्न दियो ? जनतालाई काम गर्न दियो ? विदेश पठायो, नेपालीलाई नेपाल नराम्रो बनाएर विदेशमा गएर नागरिकता लिन बाध्य तुल्यायो । तिमीहरूका सन्तानहरू पनि तिमीहरूले देश खत्तम बनाएको कारणले त बिदेश गएका हुन् ।
देशमा विकासको मुल फुटाउने नारा र भ्रम दिने, आफूहरू देशमा लुट मच्चाउने र सन्तानलाईसम्म भने पनि राम्रो गरेको देखाउन विदेश पठाउने, यही हैन तिमीहरूको नियत ? सन्तानलाई विदेश पठाएं, यस्तो राम्रो देशमा गएं, आफू पनि घुमें भनेर फोटाहरू पोष्ट गर्न लाज लाग्दैन ? बेइमानहरू ? अहिले यस्तै विदेशको गुणगन र प्रसंसा गर्न, फोट खिचाउन र फेसबुकमा हाल्न, मेरो सन्तानले विदेशमा गाडी किन्यो, घर किन्यो भनेर देखाउन नै तिमीहरुले त्यो देशको पहिला तथानाम गल्ती गरेको हो ? प्रतिकृयावादी, साम्राज्यवादी आदि भनेको आफ्ना सन्तानहरुले त्यो देशमा जान नपाएकोले भनेको हो ? यो अति भयो । सिद्धान्तको नारा र बन्दुकले जनसंख्या घटाएर केहीलाई विदेश जानबाट रोक्यौं, तर त्यो धार्मिक रुपमा पाप हो र सामाजिक रुपमा अपराध हो ।
मलाई र म जस्ता नेपालीहरुलाई सिद्धान्तको किताब र भाषण चाहिंदैन । बरु सिद्धान्त नबुझेकोले भ्रष्टाचार नगरी, कमिसन नखाई, विदेशबाट गलत कामको लागि ऋण नलिई देशको श्रोत र साधनलाई परिचालन गर्ने इमान्दार नेता भए पुग्छ । मलाई विदेशको ऋण बोकाएर विकासको ढोग देखाउने भन्दा हामीलाई काम लगाएर विकास गर्न प्रेरित गर्ने जनतामा सुख र दुःखमा साथमा रहने दल र नेता चाहिएको छ ।
राप्रपाको आस्थाको धरोहर भनेको पनि होइन र म राजसंस्थाको पनि समर्थक होइन । तर राजाको समयमा यो देश यति ज्यादा विदेशी प्रभावमा थिएन । सरकार उत्तर र दक्षिणको चाहाना र खुखीको लागि पनि सहयोगी बन्ने भन्ने गरिएको थिएन । यसरी नेपालीहरू विदेशबाट बाकसमा आउन परेको थिएन । झुठा आश्वासनका अनगिन्ती लोभहरूले मानिसहरू थिचिएका थिएनन् र तिनै झुठा आश्वासनको कारणले एक नेपालीले अर्को नेपालीलाई मार्ने सम्मका कार्यहरू संस्थागत रुपमा भएका थिएनन् । ती गल्ती गर्नेहरूलाई नै पदले सम्मान पनि गरिएको थिएन ।
राजा नभएर के जनतालाई राम्रो के दियौं तिमीहरूले ? जनताका छोराछोरी रामवरण यादव, विद्यादेवी भण्डारी, रामचन्द्र पौडेल राष्ट्पति हुनु भयो उहांँहरूप्रति सम्मान छ । तर उहांँहरू राष्ट्पति भएर गरिवको चुलोमा के परिवर्तन भयो ? विदेशमा गएर मरेको सन्तानको लास देख्नको लागि हो राजा फालेको ? यहांँ के रोजगारी प्राप्त भयो ? जनताको सन्तान नै राष्ट्रपति बन्ने हो भने राजा पनि नेपाली जनता नै हैन ? एक पटकमा दुइवटा राष्ट्रपति र राजा त बन्ने होइन होला ? हिड्न नजान्नेहरूलाई अर्को कसैले लठ्ठीले हान्नै पर्ने रहेछ । तर तिनै हिड्न नजान्नेहरूले छडी पाए भने हिड्न नजान्नेहरू माथि नै चढेर सबैलाई भिरबाट लडाउने रहेछन् । लोभीपापी सर्वोच्च नेताहरू र सिद्धान्त धेरै जानेका बेइमानहरू भन्दा ठूला कुरा गर्न नजान्ने जनताको आबाजलाई नेपालको माटोसंग जोडेर निर्णय गर्न सक्नेहरू नै यस देशका सच्चा भक्त र भविष्यका आशा हुन् । अब सिद्धान्तका ठूला कुरा नगर्ने, देश र जनताको अहिलेको अवस्था हेरेर निर्णय गर्न सक्ने दल र व्यक्तितर्फ ध्यान दिउँं । पुराना भ्रष्टहरूलाई सजायको दायरामा ल्याउन पुराना दलका इमान्दारहरूले पनि सक्दैनन् । यसका लागि राजनीति गरेपछि भ्रष्टाचार नगरेकाहरूको नेतृत्वनै चाहिन्छ । अस्तु !
(लेखक : वरिष्ठ अधिवक्ता हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८१ मंसिर ३०, आईतवार ०७:२७ गते