रविविरुद्ध प्रहरीको झण्डै तीन महिना लामो अनुसन्धान प्रतिवेदन पुग्यो वकिल कार्यालय, अब के हुन्छ ?

रविविरुद्ध प्रहरीको झण्डै तीन महिना लामो अनुसन्धान प्रतिवेदन पुग्यो वकिल कार्यालय, अब के हुन्छ ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १ गते सोमबार ०८:२९

जीबी राईले क्रिप्टो मार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएकोले थप सजाय माग गरिएको बताइन्छ ।

रविको म्याद पुस २ गते पनि थप हुने जिल्ला सरकारी वकिलको कार्यालयको भनाइ छ ।

पोखरा– राजनीतिक प्रतिशोध साध्ने नियतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलगायत विरुद्धको तीन महिना लामो अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कास्की आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुस १ गते बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्त शर्माले सो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको जानकारी दिनुभयो । हिरासतमा रहनु भएका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित ५१ जनालाई प्रतिवादी बनाएर कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताउनु भयो ।
सभापति रविकाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदनमा भनिएको छ । अब सरकारी वकिल कार्यालयले माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने बताइन्छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानुनी तरिकाले गोखरा मिडिया नेटवर्कमा लगेको आरोपमा पक्राउ परेपछि रविलाई काठमाडौँ, बुटवल, चितवन र वीरगञ्ज लगेर बयान लिने काम भएको थियो ।
गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन संसदीय विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेको बहानामा रविलाई फसाउने नियतका साथ अनुसन्धान गरिएको हो ।
यसैबीच, सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको बताइएको छ । हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको बताइएको छ ।
्रविसहित ५१ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय दिएको छ ।
तर, जीबी राईलाई थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरीको अनुसन्धान निष्कर्ष छ । अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न माग दाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले जानकारी दिए । जीबी राईले क्रिप्टो मार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएको बताइन्छ ।
सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माको भनाइ छ ।
उनीहरूविरुद्ध पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुने बताइन्छ ।
रवि विरुद्ध पाँच करोड बिगो दावी :
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई जनही पाँच करोड ५८ लाख रुपैयाँ बिगो कायम हुनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।
कास्की प्रहरीले रवि र छविलाई सहकारी ठगी प्रकरणमा कम्तिमा पनि चार देखि ६ वर्ष कैद सजाय, त्यस्तै संगठित अपराधमा थप तीन वर्ष कैद सजायको माग गरिएको जनाएको छ ।
रविको म्याद भोलि पुस २ गते पनि थप हुने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायधिवक्ता कमला काफ्लेले बताउनु भयो । उहाँका अनुसार प्रतिवेदनको अध्ययन विश्लेषणपश्चात मात्रै अभियोजन दर्ता हुनेछ । उहाँले भन्नुभयो, ‘प्रतिवेदन अध्ययन विश्लेषण गर्छौं, त्यसपछि मुद्दा चल्ने, नचल्ने के कति कसुरमा प्रतिवादीहरू उपर चल्छ सबै विश्लेषण गरेर मुद्दा चल्ने नचल्ने निर्णय हुन्छ ।’ अनुसन्धान प्रतिवेदन अध्ययन गरेर भोलि नै अभियोग दर्ता गर्न सम्भव नरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार पुरक र थप गरेर दुईवटा अभियोगपत्र हुने छ । उहाँले भन्नुभयो, ‘पहिला लगाइसकेका प्रतिवादीहरू उपर थप कसुर र बिगोहरू भएको अवस्था छ । थप बचतकर्ताहरूको पनि जाहेरी परेकाले, पहिला लगाइसकेका प्रतिवादीहरूप्रति थप अभियोग लगाउँछौँ । नयाँ पक्राउ परेका प्रतिवादीहरूलाई पूरक अभियोगपत्र लगाउँछौँ ।’
छविलाई असोज ६ गते र रविलाई कार्तिक २ गते पक्राउ गरिएको थियो । पक्राउ परेको ८५ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति २०८१ पुष १, सोमबार २०:२९ गते
हजुरको प्रतिक्रिया