रास्वपा सभापति रविले साध्नु भयो– ‘श्रीमान्, मलाई आजसम्म हिरासतमा राख्दा के प्रमाण प्राप्त भयो ?’

रास्वपा सभापति रविले साध्नु भयो– ‘श्रीमान्, मलाई आजसम्म हिरासतमा राख्दा के प्रमाण प्राप्त भयो ?’

एजेन्सी

@antaranganews

२०८१ पुस २ गते मङ्गलबार ०५:४९

‘हिरासतमा नबसेको भए मैले कुन प्रमाण नष्ट गर्ने रहेछु, बुझ्न सकिन श्रीमान’ न्यायाधीशको जबाफ– ‘तपाईंको यो अनुभव पछि काम लाग्न सक्छ ।’

‘मिडियाले आफ्नो धर्म छाडे’ : निकिता रवि पत्नी

पोखरा– राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अन्तिमपटक ४ दिनको म्याद थप गरेको छ । लामिछानेविरूद्ध सरकारी वकिलले चार दिन म्याद थप गर्न माग गरेका थिए । इजलासमा केहीबेरको बहस पछि न्यायाधीश हिमलाल बेलबासेले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति पुस २ गते दिनु भएको हो ।
आठौँपटक म्याद थपका लागि अदालत लग्दा आज रविले म्याद थपको क्रममा इजलासमा रविले केही प्रश्न पनि राख्नुभएको थियो । त्यसमा न्यायाधीश बेलबासेले जबाफ दिनु भएको थियो । म्याद थप बहसमा न्यायाधीश बेलबासेले ‘केही भन्नु छ ? भन्दै राखेको जिज्ञासामा रविले ‘म अहिलेसम्म हिरासतमा रहेँ, म हिरासतमा नबसेको भए कुन प्रमाण मैले नष्ट गर्ने थिएँ भन्ने थाहा पाउन सकिनँ श्रीमान् ?’ भन्ने जिज्ञासा राख्नु भएको थियो । न्यायाधीश बेलबासेले भन्नुभयो, ‘तपाईंको त्यो अनुभव पछि काम लाग्न सक्छ, म्याद त थप्नै पर्ने भयो, थपिएको समयभित्र अभियोग पत्र आइपुग्नुपर्छ ।’
जिल्ला अदालतले सरकारी वकिलको कार्यालयले माग गरेअनुसार नै रविसहित ५ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ५ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप गर्न माग गरेको थियो ।
जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले प्रहरीबाट अनुसन्धान प्रतिवेदन हिजो १ गतेमात्र प्राप्त भएको, प्रतिवेदन अध्ययन, प्राप्त प्रमाणको विष्लेषण, अभियोग पत्र लेखन लगायतको काम बाँकी भएकाले थप म्याद चाहिने भयो भन्नुभएको थियो ।
इजलासमा रवि पक्षबाट बहस गर्नु भएका वरिष्ठ अधिवक्ता नारायण घिमिरे, हरि सुवेदी लगायतले अभियोग पत्र तयार गर्न, तथ्य र तथ्याङ्क विश्लेषण गर्नका लागि मात्र लामिछानेलाई हिरासतमा राख्न म्याद थप गर्नुको औचित्य नरहेको बताउनु भएको थियो । उहाँहरूले रविलाई पोखरामा ठाउँ तोकेर छाड्न पनि माग गर्नु भएको थियो ।
सहकारी पीडितका तर्फबाट बहस गर्दै अधिवक्ता युवराज पराजुलीले दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने दावी गर्नु भएको थियो ।
सोही जोहरीका आधारमा रविलाई गत कार्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लयाइएको थियो । लामिछानेसँगै अनुसनधानका लागि पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई र कृष्णबहादुर गुरूङ प्रहरीको हिरासतमा छन् ।
उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार अनुसन्धान गरिएको बताइन्छ ।
थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्त शर्माले बताउनु भयो । उहाँका अनुसार सुर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पूर्पक्षका लागि कारागारमा तथा पाँच जना हिरासतमा छन् । सो सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राईसहित ३७ जना फरार रहेको बताइन्छ ।
गोरखा मिडिया नेटवर्कका संस्थापक गितेन्द्रबाबु राई (जिबी) तथा पूर्वडिआईजी छविलाल जोशीसँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थप भएको छ ।
प्रहरीले उनीहरूसँग १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन सहितको राय दिएको छ ।
यो अन्तिम पटक म्याद थपेर पुस ५ गतेसम्म अभियोजन दर्ता गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
कास्की प्रहरीको हिरासतमा रहँदा कै अवस्थामा रविलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सासम्म लगिएको थियो ।
अहिले रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बिगो माग दाबी गरिएको हो । कुल प्रतिवादी ६५ जना भएतापनि १४ जनाको ठेगाना नखुलेका कारण अहिले ५१ जनालाई मात्र प्रतिवादी बनाइएको प्रहरीको भनाइ छ ।
‘मिडियाले आफ्नो धर्म छाडे’ : निकिता रवि पत्नी :
यसैबीच, चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आएको बताउनु भएको छ । आफूहरूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।
उहाँले ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु’, सामाजिक सञ्जालमा लेख्नु भएको छ । ‘बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को । कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् ।’ उहाँले यस्तो तथ्यहीन कुरा लेख्नु मिडियाले धर्म छाडेको प्रमाण भएको समेत उहाँको टिप्पणी छ ।
उहाँले लेख्नु हुन्छ, ‘मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ आफ्नो सम्पूर्ण बैकिङ् विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ।’ उनले आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए आफैले बताउने समेत उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति २०८१ पुष २, मंगलवार १७:४९ गते
हजुरको प्रतिक्रिया