
नौथर(लमजुङ)– दोर्दीको सातौं राष्ट्रपति कप– २०८१ को उपाधी फलेनी मा.वि.ले चुमेको छ । दोर्दी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय ‘सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता– २०८१’ को समापन कार्यक्रम दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा पुस ३ गते सम्पन्न भएको हो ।
नौथर सेरा खेल मैदानमा सञ्चालन गरिएको उक्त दोर्दी गाउँपालिकास्तरीय सातौं राष्ट्रपति कप– २०८१ उपाधी दोर्दी गाउँपालिका– ८ बन्सारमा स्थित फलेनी मा.वि.ले चुमेको छ ।
उक्त प्रतियोगितामा फलेनी मा.वि.ले १४ स्वर्ण, ३ रजत र ३ कास्य सहित पहिलो स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्न क्रमशः लक्ष्मी मा.वि. श्रीमन्ज्याङ र पाचोक मा.वि. पाचोक सफल भए । ती माविले क्रमशः ६ स्वर्ण, ३ रजत, २ कास्य तथा ३ स्वर्ण, ५ रजत ४ कास्य प्राप्त गरेका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद २० हजार १५ हजार र १० हजार साथै ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजयी विद्यालय तथा विद्यार्थीहरूलाई दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सो प्रतियोगिता सञ्चालन गरिएको हो । सो प्रतियोगितामा अन्य विद्यालयहरूले लक्ष्मीनारायण माविले ३ स्वर्ण, ५ रजत ३ कास्य पदक प्राप्त गरेको छ । एक कास्य पदकले मात्र सो मावि पछि पर्न गएको छ ।
यसैगरी, एक एक वटा स्वर्ण पदक जित्ने मावि दुई छन् । सूर्योदय माविले १ स्वर्ण, ४ रजत २ कास्य पदक पाएको छ भने जयदेवी माविले १ स्वर्ण, २ रजत ३ कास्य पदक पाएको छ ।
एउटै पनि स्वर्ण पदक जित्न नसक्ने मावि पनि दुई रहेको छन् । ती हुन् चैतन्योदय सत्य मावि र बालकल्यण मावि । तिनले क्रमशः ३ रजत ६ कास्य र ३ रजत ५ कास्य पदक पाएका छन् ।
गाउँपालिकाका सामाजिक विकास संयोजक अम्बिका मरहट्टाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति काशिनाथ अधिकारीले गर्नु भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडा नं.२ का वडा अध्यक्ष गणेश बहादुर खत्री, वडा नं.९ का वडा अध्यक्ष आशिष तामाङ, कार्यपालिका सदस्य सृष्टि नेपाली, आर्थिक शाखा प्रमुख ताराचन्द्र ढकाल, स्रोत व्यक्ति टिकाराम थापा, पालिकाका आठ वटै मा.वि.का प्र.अ.हरू, शिक्षकहरू, विद्यार्थीहरूका साथै खेल प्रेमी दर्शकहरूको सहभागिता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले उदघाटन गर्नु भएको सो प्रतियोतिगाका अवसरमा विभिन्न नाच प्रदर्शन गरिएको थियो । त्यस्तै, उदघाटन कार्यक्रम अघि बाजा सहित नौथर बजार परिक्रमा गरिएको थियो ।
प्रकाशित मिति २०८१ पुष ४, बिहीबार ११:०० गते