सर्वोच्चद्वारा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न आदेश

सर्वोच्चद्वारा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न आदेश

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ५ गते शुक्रबार ०६:१६

साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट मंसिर ४ गते प्रसाईंलाई पक्राउ गरिएको थियो । गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई सिआइबीले पुनः नियन्त्रणमा लिएको थियो ।

प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न आदेश दिएको छ । सर्वोच्चले व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई रिहा गर्न पुस ५ गते आदेश दिएको हो ।
दुर्गा प्रसाईँलाई रिहा गर्न उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश दिएको थियो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि उनलाई सर्वोच्चमा आज हाजिर गराइएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँलाई छाड्न सरकारलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताउनु भयो ।
सर्वोच्च अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।
प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट मंसिर ४ गते पक्राउ गरिएको थियो । यसअघि गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई सिआइबीले पुनः नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले बताउनु भयो । उहाँका अनुसार प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी भएको छ । उहाँले भन्नुभयो, ‘सर्वोच्चको आदेशपछि मेडिकल जाँच गराएर हाजिरी जमानीमा छाड्न लागेका छौं । अब हिरासत बाहिरै राखेर अनुसन्धान गर्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई यसअघि पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

प्रकाशित मिति २०८१ पुष ५, शुक्रबार १८:१६ गते
हजुरको प्रतिक्रिया