भोर्लेटार(लमजुङ)– वर्तमानको शिक्षा पद्दति गुणस्तरीय भएन, प्रविधि रहित भई बेरोजगार बढाउने र मानिसलाई परजीवी बनाउने काम गर्यो भन्दै चिन्ता व्यक्त भइरहेको बेलामा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षामा कायापलट गर्ने सुत्र हस्तान्तरण गर्नु भएको छ । निवृत्त शिक्षक समाज लमजुङले यहाँ आयोजना गरेको ‘गुणस्तरीय शिक्षा सुधारका लागि प्रअहरूको भूमिका’ विषयक एक दिने अन्तरक्रियामा डा. कोइरालाले पुस ८ गते त्यस्तो विधि बताउनु भएको हो ।
प्रशिक्षण शैलीमा डा. कोइरालाको प्रस्तुतिकरण अत्यन्तै सरल, प्रभावकारी एवम् सुरुचिपूर्ण थियो । उहाँले सहभागीहरूलाई भन्नुभयो, ‘आफ्नो तपाईहरूलाई जिस्क्याउने, फकाउने र बाटो देखाउनका लागि प्रयास रहने छ ।’ गुडमर्निङ, नमस्कार र नमस्ते बीचको अन्तर खुलाउँदै बच्चालाई कक्षामा के कसरी उत्प्रेरित गर्नुपर्छ भन्ने प्रयोगात्मक हुने विधिमा प्रकाश पार्नु भएको थियो । उहाँले राष्ट्रगानका ‘ज्ञान’ र ‘शान्ति’ शब्दको विश्लोषणको कार्य समेत गर्नु भएको थियो । उहाँले राष्ट्रगानमै भएको ‘बहुभाषा’को अर्थ के होला ? हामीले आफ्नो कक्षामा भएका सबै जातिका बालबालिकालाई एकको भाषा अर्कोलाई सिकाउ भनेर सिक्न दिदा के होला ? भन्र्दै आजका दिनसम्म राष्ट्रगानको आम बुझाईको अर्थ र उहाँले लगाएको अर्थमा आकाश जमिनको फरक थियो । उहाँले लगाउनु भएको अर्थ हैन भन्ने ठाउँ नदिई उहाँले आफूलाई प्रस्तुत गर्दै प्रअहरूलाई भोलिदेखि आ– आफ्नो विद्यालयमा गएर यस्तो अभ्यास गर्न ‘सकिन्छ ?’ भन्ने आग्रहका साथ उत्प्रेरित गर्नु भएको थियो ।
डा. कोइरालाले २७ वर्षको उमेरमा अक्षर चिन्ने स्वामी प्रपन्नाचार्य(काले राई)ले हिन्दू विज्ञानको विश्लेषण गरेको स्मरण गर्नु भयो । उहाँले द्वैध चिन्तनका प्रतिपादक मार्क्सभन्दा धेरेअघि कपिलमुनी र बुद्ध रहेको उहाँको बताउनु भयो । यसैगरी, अद्वैतका प्रवर्द्धक शिवजी भएको उहाँले उल्लेख गर्नु भयो । त्यस्तै अथाह ज्ञानकी खानी पार्वती सबै नेपाली भएको उहाँले उल्लेख गर्नु भयो । पाणिनी, योगी नरहरिनाथको समेत चर्चा गर्दै नरहरिनाथले ६०५ वटा पुस्तक कसरी लेखे होलान् ? कल्पना गर्न सक्नु हु्न्छ ? भन्नु भएको थियो ।
उहाँले गुणस्तर भनेको के हो ? भन्ने जिज्ञासा पस्कदै अब विद्यार्थीलाई पढाउने दिन गए उनीहरूलाई सिक्ने कला दिन आवश्यक छ भन्दै हत्तासो र कलमको उदाहरण दिनु भएको थियो ।
उहाँले नाङ्लोमा तीन वटै गणित अंकगणित, अल्जेब्रा र ज्यामिति भएको उदाहरण सहित प्रस्तुत गर्दै सहभागीलाई दङ्ग पार्नु भएको थियो । उहाँले भन्नुभयो, ‘हामीले सिक्न, सिकाउन प्रयास नगरेर हो ।’ पाठ्यक्रम र पाठ्य पुस्तक गलत होइन भन्ने ठोकुवा गर्नु भएको थियो । यसैगरी, मोही पार्ने कलामा विज्ञान रहेको उहाँले उल्लेख गर्नु भयो ।
उहाँले करेला तितो हुन्छ भनेर पत्ता लगाउने हाम्रा पुर्खा बैज्ञानिक कि ? फर्मुलाबाट काम गर्नेहरू बैज्ञानिक भन्दै सहभागीहरू बीच प्रश्न राख्नु भएको थियो ।
उहाँले भगवान् छन् कि छैनन् ? भन्ने जिज्ञासा राख्दै हरेक पदार्थ वा कणकणमा भगवान् देख्ने, जप्ने र पुज्ने हाम्रा पुर्वज के साच्चै मुर्ख थिए त ? भन्ने जिज्ञासा राख्नु भएको थियो । उहाँले भग भनेको योनी र त्यसबाट जन्मेकाहरू भगवान् हुन सक्छन् । बुद्धले आफूलाई कहिल्यै भगवान भनेनन् । साइ भगवान भनिन्छ, ऐले रजनिशलाई पनि भगवान् भन्न थालिएको छ । भगवान भन्ने बनाइने रहेछ । यसबाट पुष्टि हुन्छ देवता भनेको प्रकृति र भगवान भनेको मान्छे भन्दै सिकाईका अनगिन्ती उदाहरण पस्कनु भएको थियो ।
डा कोइरालाले अब हामीले विद्यार्थीलाई प्रकृति र संस्कृति सिकाउनु पर्छ भन्नेमा जोड दिदै त्यसलाई अर्थसँग जोड्नु् पर्छ भन्नु भएको थियो ।
सम्पन्न उक्त कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै मंगला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले सैद्धान्तिक पक्ष अति राम्रो छ । त्यो व्यवहारिक रुपमा कक्षा कोठामा कति पुग्छ र विद्यार्थीलाई के कति हस्तान्तरण गर्न सकिन्छ भन्ने चुनौती मुख्य हो भन्नुभयो । सामुदायिक र निजी विद्यालयका बीचको खाडल पनि ठूलै छ त्यसलाई के कसरी पुर्ने भन्ने पनि खाँचो छ । दुवैतर्फका राम्रा कुरालाई आत्मसात गर्दै अघि बढ्नु पर्छ उहाँले भन्नुभयो । उहाँले राज्य नै हामी हौं, घरपायक शिक्षकहरूलाई घरको मात्र चिन्ता छ स्कूल र विद्यार्थीको चिन्ता भएन भन्नुभयो ।
यसैगरी, हिमाली आमाविकी संस्थापक रमिला गुरुङले कार्यक्रम निकै प्रभावकारी लाग्यो भन्नुभयो । यस्ता कार्यक्रममा प्रायः निजी विद्यालयलाई उपेक्षा गर्ने गरिन्थ्यो, यस कार्यक्रममा सम्झनु भयो । यो कार्यक्रमलाई निरन्तरता दिन सके, डा. कोइरालाजस्तो व्यक्तित्व हामीले बोलाएको बेलामा स्कूलमा समेत आएर सबै शिक्षकलाई यस्ता कक्षा लिइदिनु भएमा झनै बेस् हुने लाग्यो उहाँको भनाइ छ ।
मध्यनेपाल नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारीले उदघाटन गर्नु भएको उक्त अन्तरक्रिया कार्यक्रममा उहाँ र शिक्षा शाखाका प्रमुखसहितका कर्मचारीलाई साथमा राखेर पालिकाको एक पोर्टल सञ्चालन गर्नका लागि प्रतिवद्धता व्यक्त गर्न डा. कोइरालाले लगाउनु भएको थियो ।
अन्तरक्रियाको समापन मन्तव्यमा डा. कोइलाराले समाधान हामीसँगै छ भन्ने बुझौं र कार्यान्वयन गरौं भन्ने आग्रह गर्नु भएको थियो ।
नगरापलिकाका प्रवक्ता भण्डारीले आफ्नो उदघाटन मन्तव्यमा यो कार्यक्रमले मध्यनेपाल नगरपालिकाको शिक्षा सुधारका लागि विशेष योगदान दिने विश्वास गरेको हुँदा आफूले पनि सिक्ने प्रयास गर्ने उल्लेख गर्नु भएको थियो । उहाँले समापनका क्रममा यस्तो कार्यक्रम आप्mनो वडामा पनि आयोजना गर्ने र डा. कोइरालालाई आजै निमन्त्रणा गर्दछु भन्नुभयो ।
निवृत्त शिक्षक समाज लमजुङका अध्यक्ष खुशीराम डौलियाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले समापन मन्तव्य राख्नु भएको थियो । निवृत्त शिक्षक समाज मध्यनेपालका अध्यक्ष युवराज घिमिरेले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले समापनका क्रममा आज सिकेको कुरालाई ४० प्रतिशत मात्र पनि विद्यालयमा लागू गर्न सक्दा ठूलो उपलब्धि हुने भन्दै कार्यान्वयनका लागि प्रअहरूलाई आग्रह गर्नु भयो । उहाँले आफू शिक्षक हुँदा छात्राबासमा समेत बसेको र त्यो बेलामा विद्यार्थीलाई मोवाइल प्रतिवन्ध लगाएकोमा पछुतो मान्दै त्यसबाट सकारात्मक कुरा सिक्न छात्रछात्रालाई प्रोत्साहित गर्नु पर्ने रहेछ भन्नुभयो ।
नगरापलिकाको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रमको निवृत्त शिक्षक समाज लमजुङका उपाध्यक्ष रामहरि न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन समाजका जिल्ला सचिव टिकाराम घिमिरेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ पुष ८, सोमबार १९:१८ गते