बेसीशहर– लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालन हुँदै आएको ३२ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिता यो वर्ष पनि विगत वर्षझै पुस १२ गते सुरु हुने भएको छ । प्रतियोगिताको तयारी जोडतोडका साथ भइरहको आयोजकको भनाइ छ । त्रिवेणी युवा क्लवको आयोजनामा हुने सो प्रतियोगिताको यो वर्ष ३२ औं शृंखला हो ।

प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरिएको छ । अन्य वर्षभन्दा यसवर्ष थप व्यवस्थित तरिकाले खेल सञ्चालन गर्ने उद्धेश्य सहित तयारी चलिरहेको सो क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो । उहाँका अनुसार यतिखेला खेल मैदान मर्मत गर्ने कार्यसँगै प्याराफिट निर्माण कार्य पुरा भएको छ । उहाँले भन्नुभयो, ‘खेल मैदानको लेबलीङ गर्ने कार्य र प्याराफिट निर्माण कार्य सँगसँगै गरिएको हो । यसवर्ष २ हजार बढी क्षमताको प्याराफिट निर्माण गरिएको छ ।’ त्रिवेणी फुटबल प्रतियोगिता जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता हो ।

हर दृष्टिले खेललाई उत्कृष्ट बनाउने गरी तयारी तिब्र पारिएको अध्यक्ष घिमिरेको भनाइ छ । दर्शकहरूलाई सहज रुपमा बसेर खेल अवलोकन गर्ने वातावरण निर्माण गर्नका लागि यसवर्ष व्यवस्थित प्याराफिट निर्माण गरिएको क्लवका अध्यक्ष घिमिरेले उल्लेख गर्नुभयो ।
यसवर्ष पहिलो पुरस्कार राशीमा चार लाख थप गरेर १२ लाख रुपैयाँ पु¥याइएको आयोजकको भनाइ छ । प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने सो क्लबका सचिव प्रवीण वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रथम पुरस्कार नगद ८ लाख रहेको थियो । त्यस्तै, दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने तयारी छ ।
गतवर्ष उपविजेतालाई ४ लाख तथा सेमिफाइनल प्रतियोगिताका उपविजेता दुई समूहलाई नगद एक–एक लाख पुरस्कार दिइएको थियो ।
सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५– २५ हजार रुपैयाँ दिइने तयारी छ । त्यस्तै, खेललाई प्रभावकारी रुपमा सञ्चान गर्नका लागि क्वाटर फाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच प्रदान गरिने भएको’ आयोजकले उल्लेख गरका छन् ।

यस वर्ष प्रतियोगितामा राष्ट्यिस्तरका आमन्त्रित रूपमा छ वटा विभागीय टिमले भाग लिने र तीसहित जम्मा १६ टिमले भाग लिने प्रवन्ध गरिएको आयोजक क्लबका सचिव वाग्लेले जानकारी दिनु भएको छ । आयोजक क्बलले पछिल्ला तीन वर्षदेखि पुस १५ गतेका दिनमा प्रतियोगिता स्थगित गरी तमु ल्होसारको पावन अवसरमा बेसीशहरमा त्रिवेणी साँझ एवम् स्थानीय खाना महोत्सवको कार्यक्रम पनि सञ्चालनको तयारी गरिएको आयोजकले बताएका छन् ।
सो प्रतियोगिताका लागि ८४ लाख रुपैयाँको आय व्ययको अनुमान गरिएको आयोवक त्रिवेणी क्लवका सचिव प्रवीण वाग्लेले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढीरहेको छ । उहाँले भन्नुभयो, ‘सो फुटबल प्रतियोगिता विगत वर्षझैं बेसीशहरको सहजी खेल मैदानमा हुने तयारी छ ।’

यो वर्ष दुई हजार क्षमताको प्याराफिट बरिहेको सचिव वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसको टिकट मूल्यका बारेमा भने पछि निर्णय गरिने छ । यो वर्ष शौचका लागि दुःख हुँदैन ।
वाग्लेले भन्नुभयो, ‘यो वर्ष खेलमैदान भित्रै शौचालयको प्रवन्ध गरिएको गरिने भएको छ । त्यसका लागि १० वटा घुम्ती शौचालय निर्माणको काम भइसकेको छ ।’ उहाँका अनुसार जिल्लामा रहेको सबै सञ्चारमाध्यमलाई अफिसियल मिडियाका रुपाम अनुबन्ध गरिएको छ ।
प्रकाशित मिति २०८१ पुष १०, बुधबार ०६:४७ गते