दुईपिप्ले(लमजुङ)– नेपालकै मध्यविन्दुमा रहेको मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्लेमा ‘प्रथम मध्यनेपाल महोत्सव’ सञ्चालनको तयारी तिब्र रुपमा अघि बढेको छ । महोत्सवको आयोजक लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल इकाई समितिले यहाँ पत्रकार सम्मेलान गर्दै यस महोत्सवबारेमा विविध जानकारी दिदै तयारी तिब्र रुपमा अघि बढेको पुस ११ गते बताएको हो ।
‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो महोत्सवको संरक्षक मध्यनेपाल नगरपालिका रहेको छ । महोत्सव यही पुस २४ गतेदेखि माघ ४ गतेसम्म रम्घा दुईपिप्ले बजारमा सञ्चालन गर्ने तयारी छ ।
१० दिने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलोको देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सव आयोजक मूल समितिका संयोजक एवम् आयोजक इकाईका अध्यक्ष रमेशचन्द्र भट्टरार्ईले बताए । उनका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उनले भने, ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी गराउँदै संयोजक भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने बताए ।
जिल्लामा आयोजना गरिने अन्य महोत्सवहरू पछिल्ला वर्षमा ठेकेदारलाई जिम्मा दिएर आयोजक र स्थानीय कला सँस्कृति, उद्योग व्यापार प्रबर्धन जस्ता कार्य ओझेलमा पार्ने प्रयासका विरुद्ध उनको प्रतिवद्धता व्यक्त गरेका छ । त्यसको लागि १५१ नजाको मूल आयोजक समितिका साथै १६ वटा विभिन्न उपसमिति गठन गरी तिनलाई आआफ्नो जिम्मेवारीको काम तदारुकताका साथ काम गर्न लगाएको संयोजक भट्टराईको भनाइ छ । उनले भने, ‘नगरपालिका– ४ को रम्घा दुईपिप्ले महोत्सव स्थल भएपनि महोत्सवमा सम्पूर्ण पालिकाभरको प्रतिनिधित्व र अपनत्व हुने गरी काम थालिएको र त्यसरी गरिने छ ।’
महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु– घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ । साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।
यो पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोस्रो, तेस्रो महोत्सवका आधारस्तम्भ निर्माण गर्न समेत आफूहरू लागेको आयोजकको भनाइ छ । आफ्नो यो अभियानमा साथ सहयोग दिन सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत सबैसँग अपेक्षा गरेको आयोजकले बताए ।
कुल १ सय २० वटास्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा वडानं– ५ का अध्यक्ष ओमबीर गुरुङले बताएका छन् । उनका अनुसार तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराने तयारी छ ।
पत्रकार भेटघाट कार्यक्रममा मध्यनेपाल ४ का अध्यक्ष रामबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको थियो भने वडानं २ का अध्यक्ष पदमबहादुर थापा, वडानं ३ का अध्यक्ष केशव न्यौपाने, ७ का अध्यक्ष हिराबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रममा प्रथम मध्यनेपाल महोत्सव सांस्कृतिक उपसमितिका संयोजक राजेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो । 
लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै सम्भावना बोकेको छ । जिल्लामा मर्स्याङदी गाउँपालिकापछि पालिकास्तरीय महोत्सवको आयोजना गर्ने मध्यनेपाल लमजुङको दोस्रो पालिका हो ।
प्रकाशित मिति २०८१ पुष १२, शुक्रबार ०७:५८ गते