गुरुङ जातिको नयाँ बर्ष, तमु ल्होसार

गुरुङ जातिको नयाँ बर्ष, तमु ल्होसार

के.बि.मसाल

@antaranganews

२०८१ पुस १३ गते शनिवार ०२:२२


लमजुङ जिल्लामा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथारको शाब्दिक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातिहरूको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरूको पुर्खाको थलो हो ।

वास्तवमा आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको पर्व नै ल्होसार हो । ल्होसार विशेष गरेर मंगोल जातिले मान्ने पर्व हो ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । ल्हो को ‘अर्थ’ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु गुरुङ जातिको मूख्य ६ वटा पर्वहरू मध्ये ल्होसार अर्थात नयाँ बर्ष प्रमुख पर्व हो । यो बाहेक गुरुङ जातिहरूले मा ङी दिना सात कन्याहरूको उत्पत्ती एवम् पारिवारिक सम्बन्ध कायम रहेको दिन । मे त्हले ल्हिपा, धन विद्या पर्व । फु ता सो दिना, विधान सभा अर्थात गुरुङहरूको विधान दिवस पर्व । खे कु त्हे, नौ महागुरुहरूको उत्पत्ती दिवस अर्थात गुरु पूजा दिन । क्होला सोथर च्यूपा, नयाँ राज्य स्थापना दिवस जस्ता पर्वहरू पर्दछन । यी पर्वहरू मध्ये त कतिपय आजभोलि प्रायः लोप हुन लागेको अवस्थामा पुगिसकेका छन भने कतिपय पर्वहरू महत्व मान्न छाडेको पाइन्छ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायको विश्वास छ । तमु समुदायले चाईनिज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ । गुरुङ समुदायले यो बर्षको ल्होसार पर्वमा मुप्री ल्होलाई विदाई गरी सप्री ल्हो अर्थात नाग वर्गलाई स्वागत गर्दछन । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाहा पाउन सकिन्छ ।
शास्त्र अनुसार १२ वटा वर्गमा मुसा वर्ग (च्युल्हो), गाई वर्ग (ल्वोँल्हो), बाघ वर्ग (तो ल्हो), बिरालो वर्ग (हिल्हो), गरुड वर्ग (मुप्रील्हो), नाग वर्ग (सप्री ल्हो), घोडा वर्ग (तल्हो), भेंडा वर्ग (ल्हुल्हो), बादर वर्ग (प्र ल्हो), चरा वर्ग (च्हयाल्हो), कुकुर वर्ग (खिल्हो) र मृग वर्ग (फोल्हो) पर्दछ । नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातिहरूले ल्होसार मान्दछन् । तर ती जातिहरूले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ल प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ ।
बिशेष गरी ल्होसार पर्व १५ दिनसम्म रहने गर्दछ । नयाँ वर्षको शुरुका १५ दिनहरू हर्षोल्लास अनि उत्साहकासाथ बिताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद व्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरू जंगल या सार्वजनिक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ‘ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलिपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ‘ल्हो’को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरूलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरूका अनुसार तमुका पुर्खाहरू छैठौं शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समुदाय अहिले अधिकांश संख्यामा बौद्धिष्ट र केही क्रिश्चियन अनि हिन्दूहरू पनि छन । ल्होसार पर्व नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरूमा भएका तमु समुदायले मनाउने गर्दछन् ।
ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभुषा सजिएका हुन्छन । महिलाहरूले शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरुङ जातिहरूको पनि पर्वहरू मनाउने आफ्नै शैली छ । ल्होसार पर्वमा सोरठी स्थानीय भाषामा चुडका भनेर प्रचलित कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसंग रमाइलो गर्छन् । गुरुङहरूले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको मानिन्छ । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन । ल्होसारको दिन अर्थात १५ पुषमा नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरू जंगल अथवा सार्वजनिक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ल्हो अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलिपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ‘ल्हो’को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरूलाई आउन नदिन जन्तर जंगलको रुखमा बाँध्ने चलन छ ।
गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन । यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोडन खोजेको देखिन्छ । ल्होसार पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दुःख–सुखका कुरा एक–अर्कामा बाँडछन । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुसबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । आजभोलि कतिपय गुरुङ जातिहरू आफ्नो मुल थलो छाडी शहरी क्षेत्रमा बसाई सरेका छन । काठमाडौ उपत्यका लगायत विभिन्न तराईका शहर बजार र ग्रामीण बस्तीमा रहने तमु अर्थात गुरुङ जातिहरूले ल्होसार पर्व विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन । कतिपय ठाउँमा क्बलहरूले सांस्कृति कार्यक्रमको आयोजना पनि गर्दछन । कतिपय रोजगारीको लागि देश विदेश पुग्ने तमु युवाहरू पनि ल्होसारको समयमा आफ्नो घर फर्किएका हुन्छन । ल्होसार पर्वको लागि विभिन्न मन्त्रहरू लेखिएका अनि विभिन्न रङ्गका तोरण, झण्डाहरू घर, डाँडा र वौद्ध विहारमा झुण्डयाइने प्रचलन हुन्छ । तमु भाषामा लेखियको यो भाषाले छयाँजलो, ताहान मिथेवामैलाई छयाँजगे मु जाँसाजे । हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन ! आज तमु ल्होसार हो भन्ने अर्थ दिन्छ । पे म्ह्स्या, छ्या म्हमु, छया म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु यसको अर्थ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने मान्यता गुरुङ संस्कृतिले लिएको पाइन्छ ।
तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारले नयाँ जनाउँदछ । जसले गर्दा चिनियाँ तिब्बतीहरूले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लोको अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ । भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तदभव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ । हिन्दुहरुले बडा दशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन् । यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भए पनि अर्थ र संस्कृति तथा महिमा एउटै हो । भाषा विज्ञानको नियममा भाषा हरु तल माथि भइरहन्छन् । तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न पर्दछ ।
हरेक समुदायले आ–आफ्नै किसिमले नयाँ वर्ष सुरुवातलाई चाडका रुपमा मनाउँछन । कसैले इस्वी संवतको, कसैले विक्रम संवतको र कसैले नेपाल संवतको सुरुवातलाई चाडका रुपमा मनाएजस्तै तमु समुदायले ल्होसार मनाउँदै आएको छ । वास्तवमा आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको पर्व नै ल्होसार हो । ल्होसार विशेष गरेर मंगोल जातिले मान्ने पर्व हो । नेपालमा गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरू नेपालको पूर्वी पहाडका धेरै जिल्लामा समेत बसोवास गर्दछन । नेपालमा मात्र होइन गुरुङ जाति थोरै संख्यामा सिक्किम र भुटानमासमेत बसोवास गरेको पाइन्छ । केही इतिहासविदहरूका अनुसार गुरुङहरू हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरू मङ्गोलबाट बसाइ सरेकाहरू हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरू मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि विकास भएको मानिन्छ ।
लमजुङ जिल्लामा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथारको शाब्दिक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातिहरूको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरूको पुर्खाको थलो हो । त्यही कारणले पनि गुरुङ संस्कृतिको बारेमा अध्ययन गर्न पर्यटकहरू यहि क्षेत्रमा पुग्दछन । हामी नेपालीहरूले मान्ने प्रत्येक पर्वको पछाडि रहेका पौराणिक कथाहरूले मानव जीवन सुखी हितकर बनाउने संदेश दिएको हुन्छ । ल्होसार पर्वको पौराणिक कथामा पनि यस किसिमको सन्देश पाइन्छ । पर्वहरूको कथाबाट पाइने सन्देश हाम्रो जन जीवनसंग गाँसिएका छन् । हामीले मान्दै आएका सबै पर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन । पर्वमा आफन्त, साथीभाइसगँको भेटधाटले मानिसमा भएको निराशा, एक्लोपन हरायको महसुस हुन्छ । पर्वमा हुने भेटघाटले आपसी प्रेम, भाईचारा, सदभाव बढाई शान्ति, मेलमिलाप र निकटता कायम राख्न मदत गर्दछ ।
मानव सभ्यताको विकासमा सनातन सांस्कृतिक परम्परा सभ्य समाजका जीवन पद्धतिसंग जोडिदै आएको छ । सभ्यताको विकास र विस्तारमा हिमवत्खण्ड मानव सभ्यताको उदगम मानिन्छ । सभ्यताको आदिम कालमा मानव सीमित समुदायको थियो र उसले प्रयोग गर्ने भाषा पनि एकै थियो तर सभ्यताको विकाससंगै मानव अनेक समुदायमा धेरैतिर व्याप्त भयो अनि उनीहरूले प्रयोग गर्ने भाषा पनि धेरै भए । कालान्तरमा एकै भूभागमा अनेकन जाति र समुदायका मानिसहरूको बसोवास बढन थाल्यो । त्यसले समाज बहुजाति, बहुसंस्कृति र बहुभाषाको बन्न थाल्यो । नेपाल यस्तै मुलुक हो । वोन धर्म तमु जाति अर्थात गुरुङ समुदायमा विधमान पैतृक कुलधर्म हो । जुन धर्ममा तमु जातिले प्राचिनकालदेखि नै विश्वास राखी अनुशरण गर्दै आइरहेको छ । वोन धर्म विश्वको पूरानो धर्म अन्तर्गत पर्ने एक प्राचिन धर्म हो । जसमा मानव निर्मित मानवरुपि भगवानमा विश्वास राख्दैन । अझ भन्ने हो भने वोन धर्ममा भगवान हुँँदैन, देवता हुन्छ । त्यसैले वोन धर्मलाई भवगान नभएको धर्म पनि भन्दछ । वोन धर्ममा खोलानाला, पोखरी, रुख, पहाड, डाँडाकाँडा, भिरपखेरो, बन, जंगल, ठूला चट्टान, घाम, जुन, तारा, आकाश, भूमि, देउराली आदिलाई पूजा गर्दछन । तमु भाषामा भन्नु पर्दा क्लहेसोदी, परहेसोदी, आजीखे, आजीमा, सिल्दो, नाल्दो, सिमे, भूमे, खेकु, माङी, खेथे, माथे, सग्र्या, जस्ता प्राकृतिक वोन धर्म अन्तर्गतका देवताहरू हुन । वोन धर्म अनुसार संसार, जगतका सबै प्राकृतिक वस्तु, सजिव प्राणीहरू सबैको आत्म हुन्छ भन्ने विश्वास गरिन्छ ।
ल्होसार पर्व अघिल्लो दिनदेखि नै मनाउन सुरु हुन्छ । बेलुका पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर रमाइलोको गरिन्छ । ल्होसार पर्वमा तमु जातिले आफ्नो सांस्कृतिक भेषभुषा खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ । यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ । गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन ।
सन्दर्भ ः तमु ल्होसार पर्व २०८१

प्रकाशित मिति २०८१ पुष १३, शनिबार १४:२२ गते

हजुरको प्रतिक्रिया