त्रिवेणी कप फुटबल प्रतियोगिताको कुम्भ मेला समापन

त्रिवेणी कप फुटबल प्रतियोगिताको कुम्भ मेला समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २१ गते आईतबार ०८:४९

बेसीशहर– त्रिवेणी कप फुटबल प्रतियोगिताको कुम्भ मेला समापन भएको छ । उक्त प्रतियोगिताको पुस २० गते अन्तिम नतिजा आए सँगै हरेक वर्ष  लमजुङमा आयोजना हुने त्रिवेणी कप फुटबल प्रतियोगिताको कुम्भ मेला समापन भएको हो । हरेक बर्ष पुसको दोस्रो...

बेसीशहर– त्रिवेणी कप फुटबल प्रतियोगिताको कुम्भ मेला समापन भएको छ । उक्त प्रतियोगिताको पुस २० गते अन्तिम नतिजा आए सँगै हरेक वर्ष  लमजुङमा आयोजना हुने त्रिवेणी कप फुटबल प्रतियोगिताको कुम्भ मेला समापन भएको हो ।
हरेक बर्ष पुसको दोस्रो सातामा सुरू भइ तेस्रो सातामा समापन हुने गर्दछ । सोही कार्यक्रम अनुसार पुस १२ गते सुरू भएको कुम्भ मेला ९ दिन सम्म चलेर पुस २० गते समापन भएको हो । उक्त प्रतियोगितामा विभागिय टिम घरेलु टिम तथा छिमेकी जिल्लाहरूका टिम गरि कुल १६ टिमले भाग लिएका थिए । आयोजकले फुटबलमा ख्याती कमाएका फुटबल टिमलाई यो बर्षदेखि निःशुल्क टिम दर्ताको प्रबन्ध गरेको थियो ।
सो प्रतियोगिताको फाइनल चरणको खेलमा प्रतिस्पर्धामा ३२औँ त्रिवेणी कपको उपाधि एपिएफ काठमाडौँले जितेको छ । यहाँको सहजी स्थित त्रिवेणी रंगशालामा भएको फाइनल खेलमा घरेलु टिम विवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले हराउँदै एपिएफ काठमाडौंले ३२औँ त्रिवेणी कपको उपाधि  जितेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक रहेको सो खेलको अवधि भर दुवै तर्फबाट २–२ गोल भइ बराबर भएको थियो । त्यसपछि ८ मिनेटको समय थप गरिएको थियो । सो अवधिमा कुनै पनि टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुट आउट तर्फ मोडिएको हो । ४–३ गोल अन्तरले एपिएफ काठमाडौं विजयी हुन सफल भएको हो ।
विजयी भए सँगै एपिएफ काठमाडौंले १२ लाख पुरस्कार राशीसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता विवाईसी भोटेओडारले ६ लाख रुपैयासहित, रजतपदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेताहरूलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार र प्रमाण पत्र वितरण गर्दै त्रिवेणी युवा क्लबबाट आयोजना हुँदै आएको राष्ट्रियस्तरको त्रिवेणी कपले लमजुङलाई मात्र नभई सिंगो गण्डकी प्रदेशलाई नै चिनाउन टेवा पुग्ने बताउनु भयो । उहाँका अनुसार खेलको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउनु पर्ने सरकारको धारण रहेको छ ।
फाइनल खेलमा एपिएफका ऐन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ताको उपाधी भर एपिएफका प्रदिप लामाले प्राप्त गरेका छन् । उनले खेल अवधिभर ६ गोल गरेका आयोजकको भनाइ छ । सर्वाधिक गोलकर्ताको उपाधिमा भने जनही नगद २५ हजार पुरस्कार सहित पदक र प्रमाणपत्र रहेको छ ।
त्यसैगरी बिवाईसीका ईमिनियलले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको सेमीफाइनलमा पुग्ने दुई टिम त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लव काठमाडौंलाई नगद २/२ लाख र प्रमाण पत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनु भयो ।
आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण भएको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानिय तहका प्रमुख, उपप्रमुख, जिल्ला स्थित सरकारी कार्यालय तथा विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
उक्त प्रतियोगिताको उद्घाटन पुष १२ गते गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष २१, आईतवार ०८:४९ गते
हजुरको प्रतिक्रिया