इतिहास भनेको बितेका सत्य तथ्य घटनाहरूको यथार्थ विवरण हो । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । इतिहास सर्वव्यापक छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । इतिहासको खोज अनुसन्धान कहिल्यै सकिदैन । लमजुङको मर्स्याङदी गाउँपालिकाको बाहुनडाँडाको इतिहास लामो छ । बाहुनडाँडा भित्रको इतिहास खोज्ने हो भने कुश्माखर घिमिरे र राष्ट्रकवि माधव घिमिरेको बारेमा समेत जान्न पर्ने हुन्छ ।
मर्स्याङदी गाउँपालिका– ६ मा पर्ने बाहुनडाँडामा कुश्माखर घिमिरे र राष्ट्रकवि माधव घिमिरेको जन्म भएको गाउँ हो । अन्नपूर्ण पदमार्गमा पर्ने उत्तरी लमजुङको बाहुनडाँडा भौगोलिक बनावटले छुट्टै पहिचान भएको सुन्दर गाउँ हो । गाउँहरूबाट देखिने मनोरम पहाडको दृश्य सेता हिउँले ढाकिएको हिमालले बाहुनडाँडालाई सजाएको छ । गजाधरका छोरा कुश्माखर घिमिरेको जन्म विक्रम सम्वत १४८० साल असोज २७ गते विजया दशमीका दिन भएको थियो । कुश्माखरको नेतृत्वमा वि.सं १५१६ मा लमजुङमा आधुनिक राज्यको थालनी भएको इतिहास छ । संस्कृतिविद प्रा.डा. जगमान गुरुङका अनुसार राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता कुश्माखर घिमिरे थिए । प्रकाण्ड विद्वान प्रखर ज्योतिषी उष्कृष्ट राजनीतिज्ञ कुश्माखर घिमिरे लमजुङ राज्यका स्थापनाकर्ता र नेपालको वर्तमान चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डाको परिकल्पनाकार समेत हुन । लमजुङका ८ वटा कोटहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डामा ८ वटा कोणहरु राखिएको संस्कृतिविद जगमान गुरुङको भनाइ छ । अर्कोतर्फ द्रब्य शाहले लिलिगकोट कब्जा गरी राजा बनाउन पनि कुश्माखर घिमिरेको महत्वपूर्ण भूमिका थियो ।

लमजुङमा शाह वंशका राजा स्थापना गर्नमा घिमिरेको काम्लो र दुराको नाम्लो गरी कुश्माखर घिमिरे र खजे दुराको ठूलो भूमिका थियो । कुश्माखर घिमिरे राजा यशोबह्म शाहको अदृश्य सारथी थिए । कुश्माखरले लमजुङमा आधुनिक राज्यको थालनी गर्ने नेतृत्व बोकेका थिए । यशोमह्म शाहले कुश्माखर धिमिरेलाई श्री ३ को उपाधी दिएका थिए । अर्कोतर्फ यशोमह्म शाहले कुश्माखर धिमिरेलाई बाहुनडाँडाको सिमलचौरदेखि दुधखोलासम्मको जमिन बिर्तासमेत दिएका थिए । त्यसैबेला भीरपुस्तुनका धिमिरेहरूलाई रक्तकाली गुठी प्रदान गरिएको थियो । त्यो बेला भिरपुस्तुनमा सुरक्षाको लागि सैनिक टुकुरी राखी कोत घरको समेत स्थापना भएको थियो । गुठीको जमिन ठूलीबेसी र चनौटेमा रहेको छ । त्यसबेला यी सबै क्षेत्रलाई पुस्तुन मौजा भन्ने गरिन्थो । जुन कुरा इतिहासकार प्रा.डा. रामराजा सुवेदीले कुश्माखर धिमिरे नामक पुस्तकमा लेख्नु भएको छ ।

पछि यशोव्रह्म शाहले कालु शाहको छोरा नरपती शाहलाई भिरपुस्तुनको मौजा राज्य दिएका थिए । तर पछि नरहरि शाहका बिरुद्धमा लाग्यो भनि नरपती शाहलाई मारिएको कुरा इतिहासकार रामराजा सुवेदीले लमजुङ राज्यको बारेमा लेख्नु भएको छ । लमजुङमा शाह वंशले ३०० बर्ष शासन चलाएका थिए । राजा रिपुमर्दन शाहले राज्य सञ्चालन गर्दा लमजुङलाई २७ मौजामा विभाजन गरेका थिए । त्यो बेलामा पनि घले राजाले बिभाजन गरेको नालछोँजलाई नै आधार बनाएर मौजा बिभाजन गरेको पाइन्छ । त्यसबखत अहिले मर्स्याङदी पालिकामा पर्ने दशथर, स्यायीकुवा अर्थात खुदीखोलाको शिर दुधपोखरी, चारनाल पाचँगाउँ, पुस्तुन मौजामा कालिकाको मन्दिर, देउरालीकोट, लटेश्वर महादेवको मन्दिरस्थल र बाहुनडाँडा समेत पनि रिपुमर्दन शाहले मौजा विभाजन गर्दा परेका ठाउँ हुन ।
क्व्होलासोँथरको पतन भएपछि त्यो बेला राजकुमार खजे घले र राजा परसुराम घलेको बीचमा राज्य सत्ताको सवालमा खचपच भयो । खजे घले तुर्लुङमा नयाँ कोट स्थापना गरी घलेबाट दुराको उपनामबाट स्वतन्त्र रुपमा रजाइँ गरी बस्न थाले । खजे दुरालाई दाजुको राज्य विस्तारको अभियान मन परेको थिएन । त्यहिबेला कुश्माखर घिमिरे, खजे दुरा, सुकराम क्याउछा र लक्ष्मण दुराहरू मिलेर कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई वि.सं १५४० मा लमजुङको पहिलो चौबीसे राज्यको राजा बनाए । कालु शाहले शासन गर्दा घेर्मु र बाहुनडाँडा क्षेत्र घले राजाबाट शासित थियो । कालु शाहलाई राजा बनाएको कुरा घलेहरूलाई मन परेको थिएन । त्यसैले घले राजा परसुरामले मृगको शिकार खेल्ने बहानामा कालु शाहलाई वाण प्रहार गरेर मारिदिए । राजा कालु शाहले कुल १० बर्ष मात्र शासन गर्न पाए ।

कालु शाहको हत्या पछि पुनः कुश्माखर घिमिरेको पहलमा कुलमण्डलका साइला छोरा यशोबह्म शाहलाई दोस्रो पटक राजा बनाएका थिए । यशोबह्म शाहलाई राजा बनाउदा कुश्माखरले साइत हेरी दुराडाँडा नजिकैको ठूलोढुङ्गा माथि राखी सिन्दुर जात्रा गरी वि.सं १५५० असार १५ गते राजा घोषणा गरी पुरानकोट दरबारमा भित्र्याइएको थियो । घले राजा परसुरामले कालु शाहको हत्या गरेकोले यशोब्रम्ह शाहको घले राजासंग राम्रो सम्वन्ध थिएन । लामो समयको विवाद र युद्ध पछि बिना हतियार खुदी नजिक भलम खोलाको किनारमा सम्झौता गर्ने निर्णय भयो । तर यशोब्रह्म शाहका सेनाहरूले अघिल्लो दिन हात हतियार भलम खोलाको वालुवामा लुकाई सकेका थिए । वि.स. १५६७ जेष्ट १० गते पूर्णिमाको दिनमा दुबै राजाहरू बिच शान्ति सम्झौताको प्रस्तावमा छलफल भयो । छलफलबाट कुनै निर्णय हुन नसकेपछि यशोब्रह्म शाहका सेनाले बालुवा मुनी लुकाएर राखेका हतियारहरू निकालेर घले राजा परसुरामलाई काटीदिए । घले राजा मारिए पछि यशोबह्म शाहका सेनाहरू भागे । यसरी १४ वर्ष शासन गरेपछि लमजुङमा घले राजाको पतन भयो ।
घले राजाको पतन पछि शाह राजा र घले गुरुङहरूको बीचमा गाउँशहर दरबारमा सम्झौता हुदा पनि कुश्माखर घिमिरेको महत्वपूर्ण भूमिका रहेको थियो । त्यो बेला राजा यशोब्रह्म शाह, राजगुरु कुश्माखर घिमिरे र भारदारिया खजे दुरा यी तीन जना मिलेर लमजुङ राज्यमा रचनात्मक काम गर्न थाले । पुरानोकोटको धर्मसभा र लमजुङ दरबारको नीतिसभा जस्ता उच्चस्तरीय मिटिङ बसालेर जनचाहना र राज्यको आवश्यकता अनुसार काम हुन थाल्यो । कुश्माखर घिमिरेको पहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानी र आवश्यकता अनुसार विभिन्न ठाउँमा कोट स्थापना गर्ने काम भयो । सबैभन्दा पहिले पुरानोकोट र त्यसपछि तुर्लुङकोट, जिताकोट, तान्द्राङकोट, याङ्जाकोट, बज्रकोट, तार्कुकोट, राइनासकोट र बाहुनडाँडाकोट खडा गरेका थिए ।

अर्कोतर्फ त्यो बेला मनाङको ङावल गाउँमा घले राजा ख्योम्योर घले थिए । ङावलमा घले राजाले १० पुस्तासम्म राज्य गरेपछि ११औ पुस्ताका अन्तीम राजा ताछातोर्खे घलेले घेर्मु गाउँमा दरवार बनाएर राज्य गरेका थिए । दरवारको अहिले पनि भग्नावशेष भेटिन्छ । दरवार भएको घेर्मुफाँटमा अहिले खेतीयोग्य खेत रहेकोछ । किसानहरूले खेती गर्दा खनजोत गर्ने क्रममा दरबारको जङ्ग, घोडालाई दाना खुवाउने ढुङ्गाको ओखल, इटाको टुक्रा आदि भेटिने गरेको छ । घेर्मुका ताछातोर्खे घले राजा अत्यन्त अत्याचारी थिए । यिनले दिउँसै जुनसुकै जातीका युवतीहरूलाई बलात्कार गर्ने र गाउँलाई त्रसित बनाउथे । अत्याचारी राजाको शासनले गाउँका मानिसहरू डराउन थाले । त्यसैबेला बाहुनडाँडाका कुश्माखर धिमिरेको अगुवाईमा घले राजालाई मनाङको टंकीगाउँ हँुदै थोराङलेक कटाएर मुस्ताङतिर पठाएका थिए ।

राणा प्रधानमन्त्री वीर शमशेरले वि.स. १९५२ मा घनपोखराका मणिलाल गुरुङलाई सुब्बा पदवी दिएका थिए । वीर शमशेरले मणिलाल गुरुङलाई सुब्बा पदवी दिदा अहिलेको मर्स्याङदी गाउँपालिका र मनाङ जिल्लाको समेत तिरो भरो र कर समेत लिनको लागि स्थानीय शासकका रुपमा नियुक्त गरेका थिए । सुब्बा गुरुङहरू राणाहरूले स्थानीय शासकका रुपमा नियुक्त गरेपछि शक्तिशाली सामन्त बने । सुब्बा गुरुङहरूको प्रभाव अहिलेको मर्स्याङदी गाउँपालिका क्षेत्रमा मात्र नभएर तल्लो मनाङको नाचे, ताचे, वडागाउँ, तिल्चो, धेराङ गाउँमासमेत रहन गयो । मनाङको सदरमुकाम मनाङकै भूमिमा सरकारले लैजान नसकेको समयमा धेरै बर्षसम्म घापोखराका सुब्बा गुरुङ मनाङको माननीय भए । घनपोखराका खगेन्द्रजंग गुरुङ त पञ्चायतकालमा सहायकमन्त्री समेत भए । नरेन्द्रजङ गुरुङ, शेरजङ गुरुङ, डिल्लिजङ गुरुङ, मुनिन्द्रजङ गुरुङ र गञ्जसिंह गुरुङ त्यतिबेला घनपोखरा भन्दा माथी मनाङ जिल्लाको तल्लो भेगका शासक नै थिए । उनीहरूले जे बोल्यो त्यही नै कानुन सरह हुन्थो ।

जगत गाउँमा राणाकालीन समयमा तिब्बतसंगको भोटे नूनको ब्यापार हँुदा नूनको कर लिनको लागि भन्सार समेत राखिएको थियो । त्यो बेला नूनको कर लिने समेतको काम सुब्बा गुरुङले गरेका थिए । नूनको कर नतिरे जगत लाग्छ भन्ने मान्यता थियो । त्यसैकारणले ठाउँको नामसमेत जगत भएको हो । तिब्बतबाट नून खरिद गरी मनाङको तिल्चे गाउँमा राख्ने र लमजुङ, तनहुँ लगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने व्यापारिक केन्द्र तिल्चे र थोचे गाउँ थियो । नूनकै कारण हिमाली र पहाडका जनजाति बीच सम्बन्ध गाँसिएको थियो । कसैले मितेरी साइनो अर्थात नेचाङ लगाउथे । तिब्बतीसँग मीत लगाउँदा नूनको व्यापारमा सजिलो हुने गर्दथ्यो । तिब्बतबाट याक, जोपा, घोडा, भेडा, बाख्राबाट नुन लिएर आउने मानिसका धेरैका मित हुने गर्दथे । कोसेली आदानप्रदानले त्यो सम्बन्धलाई झन प्रगाढ बनाएको हुन्थ्यो । यसरी नुन र अन्नको विनिमयसँगै मानवीय सम्बन्धसमेत साटासाट गरिन्थे । यी कुरा अहिलेका पुस्तालाई कथा बनेको छ । नूनको महत्व बुझेपछि घेर्मुफाँटको मर्स्याङदी किनारमा घनपोखराका सुब्बा गुरुङहरूले नूनखानी समेत सञ्चालन गरेका थिए । तर त्यो नूनखानी ठूलो पहिरो जाँदा खानीनै पुरिएपछि बन्द भएको थियो ।

बाहुनडाँडा कुश्माखर धिमिरेका पुस्ता राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर पनि हो । माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गत भएको थियो भने मृत्यु १ सय १ वर्षको उमेरमा २ भाद्र ९ २०७७ को दिन काठमाडौँ, लैनचौरस्थित आफ्नै निवासमा भएको थियो । माधवप्रसाद जन्मिएको तीन वर्षमा आमा बित्नु भयो । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चाङ्ग अध्ययन गरेका थिए । माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रुपमा चिनिन्छन । घिमिरेलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो । चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली …. ’का रचनाकार घिमिरेका गौरी र अश्वत्थामा मात्रै होइन, मालती मगले र शकुन्तला जस्ता अनेकौँ कृतिहरू छन । माधवप्रसाद घिमिरे प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी मात्र नभएर साझा पुरस्कार र त्रिभुवन पुरस्कारजस्ता अनेकौँ पुरस्कारबाट विभूषित भए । बाहुनडाँडामा अहिले पनि माधव घिमिरेको करिब तीन रोपनी जग्गा छ । उनको घर धेरै वर्षअगाडि भत्किसकेको छ । त्यहाँ केही समयअघि माधव घिमिरे वाचनालय बनाइएको थियो । अहिले त्यो पनि भत्किएको छ । उनको जग्गामा माधव घिमिरे पार्क र शालिक निर्माण हुन लागेको छ ।
नेपाल राज्यमा एकीकरण हुनु भन्दा अगाडि मनाङ पनि लमजुड राज्यकै एक अङ्गको रुपमा रहेको थियो । पछि लमजुङलाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गत पोखरा स्थित बडाहाकिममार्फत प्रशासन सञ्चालन हुने गर्दथ्यो । वि.सं.२०१८ सालमा नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा बिभाजन गर्दा मनाङ छुट्टै जिल्ला भयो । तर सदरमुकाम सरकारले मनाङमा राख्न सकेन । धेरै बर्षसम्म मनाङेहरूले बिशेष गरी उपल्लो मनाङबासीहरूले नेपालको सरकारलाई मानेनन् । तर पञ्चायती व्यवस्थामा मनाङ जिल्लाको रापंस भने लमजुङ घनपोखराका मुनिन्द्रजङ, खगेन्द्रजङ र नरेन्द्रजङ गुरुङ भए । त्यो समयमा मनाङको सदरमुकाम लमजुङको बाहुनडाँडामा रहेको थियो । मनाङ बासीहरूलाई तपाईंहरू नेपाली हुनुहुन्छ अब तपाईंहरूले नेपाल सरकारको ऐन नियम पालना गर्नु पर्दछ भन्ने कुरा सिकाउनु प¥यो । मनाङको सदरमुकाम बाहुनडाँडामा डेड बर्ष अर्थात १८ महिना बस्यो । त्यसपछि बाहुनडाँडाबाट मनाङको थोँचेमा २०१९ सालमा सदरमुकाम सारिएको थियो । थोचेमा मनाङको सदरमुकाम १० बर्ष बस्यो र २०२९ कार्तिकमा चामेमा सारिएको हो ।
प्रकाशित मिति २०८१ पुष २२, सोमबार १८:४८ गते