लमजुङ उद्योग बाणिज्य संघको साधारण सभामा विभिन्न व्यक्तिहरू सम्मानित

लमजुङ उद्योग बाणिज्य संघको साधारण सभामा विभिन्न व्यक्तिहरू सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २९ गते सोमबार ०७:०५

साधरणसभाको बन्दसत्रमा संघका महासचिव विपिनकुमार श्रेष्ठ र कोषाध्यक्ष भरत विष्ट कुतालले क्रमशः सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बाणिज्यतर्फ अग्रज व्यवसायी हिरालाल श्रेष्ठ र उद्यमीतर्फ डवलमाया गुरुङलाई सम्मान गरिएको थियो ।

बेसीशहर– लमजुङ उद्योग बणिज्य संघको ३८ औ वार्षिक साधारण सभा तथा ४९ औ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषवहादुर पौडेलले बेसीशहर नगरापलिका– ८ को प्रगतिटोल तमु समाज भवनमा आयोजित साधारण सभा तथा स्थापना दिवसको पुस २७ गते उद्घाटन गर्नुभएको हो । मन्त्री पौडेल संघको पूर्वअध्यक्ष एवम् सल्लाहकार समेत हुनुहुन्छ ।
यसैबीच संघले साधारण सभाकै अवसर पारी २०८० को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल सामुदायिक तथा निजी विद्यालयका तिनजना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा निजीतर्फ बेसीशहरस्थित युर्निभर्सल एकेडेमीका आयुस केसी, सोही विद्यालयकी आयुसा गुरुङ र सामुदायिकतर्फ कुश्माखर मावि मध्यनेपालका विश्वास घिमिरे रहेका छन् । उत्कृष्ट विद्यार्थीहरू संघमा स्थापना गरिएको स्वर्गीय सनदकुमार श्रेष्ठ र स्वर्गीय दालचिनी श्रेष्ठ स्मृति पुरस्कारबाट सम्मानित भएका हुन् । संघका सस्थापक कोषाध्यक्ष स्वर्गीय श्रेष्ठको परिवारले संघमार्फत प्रत्येक वर्ष एसईईमा जिल्ला उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएको स्वर्गीय श्रेष्ठका नाति एवम् संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट तीन जनालाई नगद ५÷५ हजारसहित प्रशंसापत्रले सम्मान गरिएको छ । उहाँले भन्नुभयो, ‘कार्यक्रम प्रमुख अतिथि मन्त्री पौडेलले उहाँहरूलाई सम्मान गर्नु भएको हो ।’ यसैगरी संघले सो कार्यक्रममा बाणिज्यतर्फ अग्रज व्यवसायी हिरालाल श्रेष्ठ र उद्यमीतर्फ डवलमाया गुरुङलाई सम्मान गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले आफ्नो उदघाटन मन्तव्यका क्रममा देशको आर्थिक अवस्था सुधार नहुँदा व्यवसायीहरूलाई समस्या परेको भन्दै त्यसका लागि सरकार गम्भीर भएको बताउनु भयो । उहाँले जिल्लामा धेरै ठूलो उद्योग तथा व्यवसाय नभए पनि यहाँका श्रोत र सम्भाव्यतालाई अध्ययन गरी व्यवसायिक निरन्तरता कायम राख्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती तामाङ, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, नेका गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरी बराल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवान बावु मास्के, क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, नेपाली काँग्रेस लमजुङका सचिव विमल श्रेष्ठ, एमाले जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ, माओबादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार, रास्वपाका जिल्ला सदस्य बमबहादुर राउत, राप्रपा केन्द्रीय सल्लाहकार बालचन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बुद्धवहादुर गुरुङ, संघका निर्वतमान अध्यक्ष गुणराज सिलवाल, पूर्वअध्यक्ष एवम् सल्लाहाकार रामकुमार श्रेष्ठ, रेडक्रस सोसाइटीका जिल्ला सभापति ऋषिराम घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधरणसभाको बन्दसत्रमा संघका महासचिव विपिनकुमार श्रेष्ठ र कोषाध्यक्ष भरत विष्ट कुतालले क्रमशः सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्यसँगै संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संघका महासचिव विपिनकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको समापन संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ पुष २९, सोमबार ०७:०५ गते
हजुरको प्रतिक्रिया