प्रथम मध्यनेपाल महोत्सव आठौं दिन आज माघ २ गते सविना सिलवाल खुइली, घनश्याम रिजाल र सञ्जिव सिंह राणाको विशेष प्रस्तुति रहने 

प्रथम मध्यनेपाल महोत्सव आठौं दिन आज माघ २ गते सविना सिलवाल खुइली, घनश्याम रिजाल र सञ्जिव सिंह राणाको विशेष प्रस्तुति रहने 

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २ गते बुधबार ०९:५७

१० दिने सो महोत्सवमा दिनहु आशा गरिएभन्दा बढी दर्शकको भिड लाग्ने गरेको छ, हामी उत्साहित छौं आयोजक एवम् महोत्सव मूल समारोह समितिका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताउनु भयो ।

छैटौं दिनमा विश्वकै होचा व्यक्ति र जादु नाच हेर्न तथा ठाडोभाका सुन्न दर्शकको घुइचो महोत्सवमा लागेको थियो ।

दुईपिप्ले(लमजुङ)– लमजुङमा सञ्चालित प्रथम मध्यनेपाल महोत्सवमा विश्वकै होचा व्यक्ति मनोज गोर्खाली र जादु नाच देखाउने राजन बोगटी र सावित्री खत्रीको युगल नाच हेर्न तथा ठाडोभाका सुन्न दर्शकको घुइचो लागेको थियो । लमजुङको मध्यनेपाल नगरपालिका– को रम्घा, दुईपिप्लेमा सञ्चालित प्रथम मध्यनेपाल महोत्सवमा गायक/गायिकाका साथमा सेल्फी खिच्नेहरूको समेत पुस २९ गते भिड लागेको हो ।
सो महोत्सवमा आज आठौं दिन माघ २ गते सविना सिलवाल खुइली, घनश्याम रिजाल र सञ्जिव सिंह राणाको विशेष प्रस्तुति रहने भएको छ । त्यस्तै, स्थानीय कलाकारहरूका साथमा विद्यालयस्तर, आमा समूहको नाच पनि नियमति जस्तै हुने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
पुस २९ गते आफ्नो कला प्रदर्शनका क्रममा विभिन्न गीतहरूको मिश्रणमा जादु नाचका युगल जोडी राजन बोगटी र सावित्री खत्रीले नाचेर दर्शकहरूलाई चकित बनाएका थिए । उनीहरूको जोडीले नाच्दा नाच्दै परेवा निकाल्नेदेखि सुगा, मुसा, आगोबाट परेवा जोडी, पत्रिकाबाट पानी, खाली रुमालले डिब्बा छोपेर परेवा र जोडी तथा मुसाका तीन जोडी निकालेर दुई जोडी राजनले र सावित्रीले एक जोडी कपालमा सिउरीदा दर्शक दीर्घामा उनीहरूको फोटो खिच्नेहरूको भिड लागको थियो ।
यसैगरी, विश्वकै सबैभन्दा होचा(पुड्का) मनोज गोर्खालीले ‘म हुँ नेपाली बाबु मेड इन नेपाल … ’ बोलको गीतमा दर्शकलाई मन्त्रमुग्ध बनाउने काम गरेका हुन् । उनलाई नृत्यका साथमा उपचारार्थ सहयोग जुटाउन राजन बोगटीले सहयोग गरेका थिए । राजनले मनोज गोर्खालीलाई बोनम्यारो(क्यान्सर) भएको छ र उपचारका लागि सहयोग गर्न आह्वान गर्दै मनोजलाई ‘म बाच्न चाहन्छु, मलाई सहयोग गरेर बचाउनु होस्’ भन्न लगाएका थिए । मनोज गोर्खालीलाई दर्शक दीर्धामा रहेका धेरै व्यक्तिले एक, दुई सय रुपैयाँ दिएका थिए भने पाँच सय हजार रुपैयाँ सहयोग गर्नेको संख्या पनि बाक्लो थियो । दाँत बिहीन, २३ वर्षीय मनोज गोर्खाली रोगकै कारणले सहज रुपमा हुर्कन नसकेर पुड्को भएको जनकारी राजन बोगटीले दिएका थिए । उनले भने, ‘मानवता जस्तो ठूलो धर्म र सेवा केही छेन म पूर्वको मान्छे पश्चिम बाग्लुङका मनोज गोर्खालीलाई सहयोग गर्न हिडेको छु ।’ त्यसैले यहाँहरूले पनि सक्दो सहयोग गर्न आह्वान गर्दछु उनले भने ।
त्यसैगरी, सो कार्यक्रममा लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाकाको पनि प्रस्तुति गरिएको थियो । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ उनका गायन जोडी प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरा, ८७ वर्षीय बीरबहादुर अछामीका साथमा युवा गायक टस तमुले समेत ठाडोभाका गाएर मनोरञ्जन दिएका थिए ।
उक्त अवसरमा मध्यनेपाल नगरपालिकास्तरीय मावि नृत्य प्रतियोगिता अन्तरगत बालविकास मावि, भैरव मावि, जनमन्दिर मावि लगायतका विद्यालयको नाच प्रस्तुत गरिएको थियो । यसैगरी, विभिन्न आमा समूहको नाच प्रतियोगिता अन्तरगतका नाच प्रस्तुत गरिनुकोसाथै जातीय नाचमा नेवारी समुदायमा नाचिने टाकटुके, धिमे, लाखे लगायतका नाचसमेत दर्शकहरूले मन पराएका थिए ।
त्यसबाहेक मध्यनेपाल नगरपालिका– २ सोतीपसल निवासी गण्डकी बोर्डिङ पोखरामा कक्षा– ७ मा अध्ययन गर्ने छात्र स्पन्दन गिरिले ‘भविष्य खोज्नु छ, कहाँ भेटिएला ……. !?’ बोलको गीत गाउँदा दर्शकदीर्घा स्तब्ध बनेर गीत सुनेका प्रत्यक्षदर्शी स्थानीय पूर्वशिक्षक एवम् समाजसेवी तीर्थराज पराजुलीले बताउनु भयो । उहाँका अनुसार महोत्सवले गाउँघरका कुना कन्दरामा लुकेर रहेका प्रतीभाको उजागर गर्ने राम्रो काम भएको छ । उहाँले भन्नुभयो, ‘स्पन्दन गिरिको प्रतीभा यस्तो छ, भनेर महोत्सव नभएको भए थाहा पाउन धेरै समय लाग्ने थियो ।’
त्यस्तै लोकदोहोरी गायक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव रामजी पौडेल, सोही प्रतिष्ठानको तनहुँ शाखाका उपाध्यक्ष सावित्री हडखले बीचको दोहोरी, रचना खतिवडाको भोजपुरी नृत्यले पनि दर्शकलाई मोहित बनाएको थियो ।
पुस २४ गते सुरु भई माघ ४ गते समापन हुने १० दिने सो महोत्सवमा दिनहु आशा गरिएभन्दा बढी दर्शकको भिड लाग्ने गरेको आयोजक एवम् महोत्सव मूल समारोह समितिका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताउनु भयो । उहाँका अनुसार पहिलो पटक भएको हुँदा कति अनुभवको अभावले पनि कमजोरी भएका होलान्, त्यसलाई सहज रुपमा लिएर महोत्सवलाई आफ्नो ठानेर सहयोग गर्न आग्रह गरिएको छ । यो कुरा म फेरि दोहो¥याउन चाहन्छु, हामी उत्साहित छौं उहाँले भन्नुभयो ।

प्रकाशित मिति २०८१ माघ २, बुधबार ०९:५७ गते
हजुरको प्रतिक्रिया