गौलीटार(लमजुङ)– लमजुङमा यहाँ आयोजित चौथो राइनास कप फुटबल प्रतियोगिता जारी रहेको छ । राइनास नगरपालिका ६ धमिलिकुवास्थित गौलिटार क्षेत्रीय खेल मैदानमा चौथो राइनास कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । पहिलो खेलबाट आयोजकको विजयी सुरुवात गरेको छ ।
दोस्रो दिन तीन खेल सम्पन्न :
प्रतियोगिता औपचारिक उद्घाटनसँगै पहिलो चरणको एक खेल शुरु भएको छ । पहिलो खेलबाट आयोजकले विजयी शुरुवात गरेको छ । आयोजक राइनास– ११ र रुद्रदेवी युवा क्लब विच भएको पहिलो खेल ३– ० गोल गर्दै आयोजक दोश्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा १० टिमले भाग लिएका छन् ।
सो प्रतियोगिताको पहिलो पुरस्कार नगद तिन लाख मेडल, कप र प्रमाणपत्र रहेको छ । दोस्रो पुरस्कार नगद एक लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र रहेको छ । सेफाइनलका दुई टिमलाई ४०–४० हजार र प्रमाणपत्रको व्यवस्थ गरिएको अध्यक्ष चिलुवालले वताउनु भयो । उहाँका अनुसार उत्कृष्ट गोलकिप्पर, सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई पुरस्कार स्वरुप सात हजार पाँच सय सहित प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी नगद एक हजार सहित मायाको चिनो प्रदान गरिने छ ।
यसैगरी, दोभान एकता युवा क्लव र चाम्बास युवा क्लव विच भएको खेलमा ३– ० गोल गर्दै दोभान एकता युवा क्लवले दोस्रो चरणमा प्रवेश गरेको छ । सो खेलमा दोभान एकताका नविन थापा म्यान अफ दिन म्याच घोषित भएका छन् ।
सुन्दरबजार युवा क्लव र कालिका युवा क्लव विच भएको दोस्रो खेलमा खेल अवधिमा कुनै गोल भएन । ट्राइब्रेकरमा कालिकालाई ४– ३ गोलले हराउदै सुन्दरबजार दोस्रो चरणमा प्रवेश गरेको छ । उक्त खेलमा सुन्दरबजारमा संजिव गुरुङ म्यान अफ दि म्याच घोषित भएको आयोजक गौलिटार क्षेत्रीय खेल मैदान समितिका सचिव प्रदिप जंग गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार तार्कुघाट युनेस्को र बुद्ध युथ क्लव भोटेओडार विच भएको तेस्रो खेलमा १– ० गोल गर्दै तार्कुघाट युनेस्कोले अग्रता लिएको छ । उक्त खेलमा तार्कुघाट युनेस्कोका शुसन गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रत्येक खेलका म्यान अफ दि म्याच लाई नगद एकहजार पुरस्कार प्रदान गरिएको छ ।
आज माघ ३ गते पहिलो सामना युवा क्लव र दोभान एकता युवा क्लव विच हुने भएको छ ।
आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन :
राइनास नगरपालिकाको आर्थिक सहयोग र गौलिटार क्षेत्रीय खेलमैदान समितिको आयोजनामा प्रतियोगिताको शुरु भएको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो । उहाँले अगामी दिनमा गौलीटार खेलमैदानलाई प्रदेशस्तरीय खेलमैदान बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले खेल मार्फत स्थानीय व्यापारलाई रोजगारीमा जोड्न निरन्तर लागि पर्ने बताउनु भयो ।
उदघाटन कार्यक्रममा राष्ट्रिय खेलाडी अञ्जान विष्टलाई दोसल्ला, मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । सोही क्रममा खेलमैदानलाई हरेक तवरबाट सहयोग गरेको भन्दै इन्जिनियर किरण चिलुवाललाई सम्मान गरीएको थियो ।
गौलिटार क्षेत्रीय खेलमैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, राइनास नगरपालिका– ६ का वडा अध्यक्ष गोविन्द चिलवाल, नेपाली कांग्रेस राइनास नगर समितिका सभापति श्रीकृष्ण पौडेल, एमाले प्रतिनिधि शोभा पन्थी, रासपा विदेश विभाग सचिव पदमराज पन्थी, राइनास नगरपालिका सामाजिक विकास समितिका संयोजक बलराम पराजुली लगायतले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्नु भएको थियो ।
प्रतियोगिताका लागि मुख्य प्रयोजक तथा संरक्षक राइनास नगरपालिका रहेको छ भने देश विदेशमा रहनुहुने राइनास बासी सँगै अन्य विभिन्न व्यक्तिहरूले सहयोग गरेको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ ३, बिहीबार १०:०३ गते