सोतीपसल(लमजुङ)– लमजुङ– तनहुँको संगम स्थल, रिस्ती खोला करिडोरको गौरवको रुपमा रहेको मंगला मावि, सोतीपसलको हीरक जयन्ती महोत्सवको डेढ साता व्यापी कार्यक्रम आज माघ ९ गतेदेखि सुरु भएको छ । उक्त उत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलको समेत समुपस्थिति रहने भएको छ ।
सोही उपलक्ष्यमा महामहिम राष्ट्रपति पौडेलको आगमन माघ १५ गते हुने कार्यक्रम रहेको छ । आयोजित हिजो ९ गतेदेखि विद्यालयमा अन्तरिक विद्यालय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको विद्यायय प्रशासनले जनाएको छ । भलिबल प्रतियोगितामा मध्यनेपाल नगरपालिका भित्र रहेका विद्यालयका ८ शिक्षक टिमले भाग लिएका छन् ।


भोलि १० गते पूर्वशिक्षक, पूर्वविद्यार्थी, पूर्वव्यवस्थापन समिति र शिक्षक अभिभावक संघका बीच पुनर्मिलन एवम् संयुक्त जलपान कार्यक्रमको तयारी गरिएको छ । उक्त कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सो कार्यक्रमको प्रमुखआतिथ्यता ग्रहण गर्नु हुने तय भएको सो माविका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले जानकारी दिनुभएको छ । उहाँका अनुसार त्यसअघि स्थानीय झाँकी ¥यालीको प्रदर्शन, राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुति, शुभकामना मन्तव्य आदि हुने कार्यक्रम छ ।
त्यस्तै, १२ गते शिक्षक मैत्री भलिबलको फाइनल हुनेछ । साथमा अन्तर मावि तोक नृत्य प्रतियोगिता र ईशानेश्वरको बालुन प्रदर्शनको कार्यक्रम हुने भएको सो माविका शिक्षक उदयचन्द्र कँडेलले बताउनु भएको छ । उहाँका अनुसार सो दिनमा मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे प्रमुख अतिथि हनुहुुनेछ ।
त्यस्तै, १३ गते अन्तर आधारभूत विद्यालयस्तरीय हिज्जे प्रतियोगिताका साथमा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहेन छ । सो दिन गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यता रहने भएको छ ।
माघ १४ गते आधारभूत तहको चित्रकला प्रतियोगिता, तेक्वान्दो प्रदर्शनका साथमा ठाडोभाका लोककाल प्रतिष्ठान नेपालबाट ठाडोभाकाको विशेष प्रस्तुति हुने जानकारी प्रतिष्ठानका आजीवन सदस्यसमेत रहनु भएका सो माविका प्रअ विष्णुहरि बस्तोलाले दिनु भएको छ । उहाँका अनुसार ठाडोभाकाको प्रस्तुतिका लागि प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको नेतृत्वमा कलाकार टोली प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, उहाँका गायन जोडी प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा सहितका कलाकारहरू आउनु हुने भएका छन् । सो दिन पूर्वसंघीय सांसद देवप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहने छ ।
यसैगरी, १५ गतेका दिन राष्ट्रिय साहित्य सम्मेलन हुने छ । साथमा अन्तर मावि कविता प्रतियोगिता गरिने छ । यसैगरी, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने छ । त्यस दिन गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यता रहने तय भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको माघ १५ गतेको कार्यक्रममा प्रमुख आतिथ्यता रहने भएको शिक्षक कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महामहिम राष्ट्रपति पौडेलबाट विद्यालय हातामा निर्मित हीरक स्तम्भको अनावरणका साथै हीरक जयन्ती मूल समारोहको समुदघाटन गर्नु हुनेछ । साथमा प्रअ बास्तोलाद्वारा प्रगति प्रतिवेदन प्रस्तुति, शुभकामना आदानप्रदान तथा विभिन्न रङ्गकर्मीहरूको प्रस्तुतिरहने छ । सो दिन साँझ दिपावलीको कार्यक्रम रहेको शिक्षक कडेलले भन्नुभयो ।
त्यस्तै, अन्तिम दिन १६ गते अन्तरिक पुरस्कार वितरणका साथ उक्त कार्यक्रमको समापन गरिने तय भएको छ । रिस्ती करिडोरमा शैक्षिक उन्नयनका लागि आयोजना गरिएको यो नै आजसम्मको सबैभन्दा ठूलो मेला हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ ९, बुधबार १६:११ गते