बेसीशहर– लमजुङमा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल समक्ष जिल्लाका बाख्रा पालक किसानहरूले आफ्ना समस्या, जिज्ञासा तथा गुनासाहरू पोखेका छन् । वनमन्त्री पौडेल समक्ष बाख्रा पालक किसानहरूले ‘एक केजी मासु तयार गर्न १३ सय खर्च हुन्छ तर सात सयमा विक्री गर्नु पर्छ’ अनि कसरी बन्छ किसानको जिन्दगी ?’ लगायतका गुनासा नेपाल व्यवसायिक बाख्रा पालक महासंघ लमजुङ शाखाको पहिलो जिल्ला अधिवेशनमा हालै व्यक्त गरेका हुन् ।
उक्त साधारण सभामा किसानका गुनासा सुनी सकेपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री पौडेलले आफू पनि व्यवसायी भएको र व्यवसायीसँग संगत गर्न पाउदा रमाउने मान्छे आफू भएको बताउनु भयो । उहाँले किसानलाई व्यवसायिक बन्न अनुरोध गर्दै उत्पादन परिणाम बढेपछि उत्पादन खर्च कम हुने र मूल्य स्थिर राख्न सकिने हुन्छ यसतर्फ ध्यान दिन आग्रह गर्दछु भन्नुभयो । उहाँले यदि अनुदान रकम गलत मानिसले लिइरहेको छ भने त्यसको विवरण पत्रकारहरूलाई दिन र त्यसको समाचार बनाएर सहयोग गर्न उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । बजारको समस्या सधमानका लागि हाट बजारको प्रवन्ध गर्ने र बिक्री नभएको किसानका खसीबोकालाई पालिका वा पशु सेवा केन्द्रले जिम्मा लिने र विक्री भएपछि किसानको रकम पु¥याउने प्रवन्ध गर्नु पर्नेतर्फ पहल गर्ने मन्त्री पौडेलले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै ? औषधिको समस्याका लागि पालिकाको पशु शाखा र जिल्लाको भेटेरिनरी अस्पतालमार्फत प्रवन्ध गर्ने र समस्या कहाँ छ आफूले बुझ्ने र समाधान खोज्ने जानकारी दिनुभयो ।
त्यसैगरी, पशु बीमा अनिवार्य गर्नु पर्छ नगर्दा झनै ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ तर बीमा दावी भुक्तानी लिन प्रमाणित हुने आधार चाहिन्छ नै बीमाको ट्यागका लागि विकल्प सोच्नु पर्छ, त्यसका लागि दुई तीन वटा प्रयोग गर्ने हो कि ? भन्ने सुझाव मन्त्री पौडेलको थियो । त्यस्तै, चितुवा, बाघ, भालुले नोक्सान गरेकोमा पनि ऐले प्रदेश सरकारले बीचमा रोकिएको विगतका तीन वर्षको समेत रकम क्षतिपूर्ति दिनका लागि निकासा गरी सकेको जानकारी दिदै कसैले पाउनु भएको छैन भने वन डिभिजन कार्यालयमा सम्पर्क गर्न सक्नु हुने मन्त्री पौडेलले उल्लेख गर्नुभयो । उहाँले आजसम्मको काम निर्वाहमुखी मात्रै जस्तो भएको छ, परिवारका सदस्यले मात्र काम गर्नु भएको छ, ती गोठमा कम्तिमा २, ४ जना अन्य व्यक्तिलाई समेत रोजगारी दिन सक्ने गरी व्यवसाय बढाउनु पर्ने आग्रह मन्त्री पौडेलको थियो । उहाँले किसानको आम्दानी बढेर धनी भएमा देश स्वतः धनी हुन्छ भन्दै एकजना किसानले करोड कमाउँदा राज्यले लाख र किसानले लाख कमाएमा हजार राज्यले पाउँछ, त्यसैले किसान धनी हुँदा देश स्वतः धनी हु्न्छ यसकारण सबै धनी हुने बाटोमा लागौं उहाँले आह्वान गर्नुभयो ।
किसानहरूले एक किलो मासु तयार गर्दा किसानको १३ सय लगानी भएको हुन्छ तर ७ सयमा बिक्री गर्नु पर्ने बाध्यता छ, अनि किसानको भलो कसरी हुन्छ ? भन्दै बजारकोसमेत समस्या भएको, बीमाको शुल्क नपाएको, चट्याङ, बन्य जन्तु चितुवा, बाघ, भालुले मारेको पशुको क्षतिपूर्ति नपाएको, अनुदान नपाएको बताएका थिए । यसैगरी, अनुदान दिने प्रक्रिया यति झञ्जटीलो छ कि सच्चा सोझा किसानले त्यो सर्त पुरा गर्न नै सक्दैनन्, चरनको समस्या, डालेघाँस आदिको नर्सरीको प्रवन्ध गर्नु पर्ने, सामुदायिक वनमा वस्तु चराउन नपाउदा समस्या भएको, बोका खसी पार्न समेत भेटेरिनरीले सहयोग नगरेको जस्ता गुनासा समेत गरेका थिए ।
त्यस्तो गुनासो गर्नेमा बेसीशहर नगरपालिका– १० साँधुका किसान ७० वर्षीय मनरास तामाङले आफ्नो औषधि किन्ने क्षमता नरहेको तर भेटेरिनरीमा आउँदा औषधि दिनुको सट्टा कागज लेखेर दिने गरेको बताउनु भयो । उहाँले बाख्राको जात नै छुचो हुन्छ, आफ्नो बाख्राका लागि लगाएको ट्याग खाएर आधा बनाएछ, त्यो लिएर क्षतिपूर्ति माग्न आउँदा पुरै ट्याग नभई हुन्न, मिल्दैन भन्यो त्यस्तो बीमाको के काम ? भन्ने प्रश्न उहाँको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङको सभाहलमा आयोजित उक्त साधारण सभामा सहभागी रहेका झण्डै पाँच दर्जन बढी किसानमध्ये ३० वर्षभन्दा कम उमेरका दुई जना मात्र रहेको अन्य प्रायः ४५ वर्ष माथिका भएको पशु विज्ञ केन्द्रका नि. प्रमुख मेलिना खड्काले बताउनुभयो । उहाँका अनुसार व्यवसायिक किसानको परिभाषामा यतीनै सङ्ख्यामा बाख्रा हुन पर्ने उल्लेख छैन तर हाम्रो कार्यलयले एक परिवारले १५ र त्यो भन्दा बढी बाख्रा पाल्ने किसानलाई व्यवसायिक मान्ने गरी आएका छौं ।
दूधपोखरी गाउँपालिका– ४ का किसान ७१ वर्षीय खड्गबहादुर गुरुङले गाउँघरमा युवालाई सिलोझैं खोज्नु पर्छ उनीहरूलाई गाउँमा रोक्न सकिन्छ कि ? भनेर बुढेसकालमा पनि दुःख गरेको तर पार लाग्ने देखिदैन भन्ने गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘गाउँघरमा एउटा बोकालाई खसी बनाउँदा दुई सय रुपैयाँका दरले शुल्क लिन्छन्, हामीले भेटेरिनरीलाई आएर खसी बनाईदेउ वाइगमा लाग्ने तेल खर्च दिन्छौं र आफ्नै घरमा खाना खुवाएर पठाउँछौं भन्दा पनि सेवा पाउन सकिएको छैन ।’
उक्त महासंघको प्रदेश सदस्य समेत रहनु भएका धनबहादुर गुरुङले एक किलो मासु तयार गर्दा किसानको १३ सय लगानी भएको हुन्छ तर ७ सयमा बिक्री गर्नु पर्ने बाध्यता छ, अनि किसानको भलो कसरी हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भयो, ‘किसानले पाउने अनुदानको रकम पाउने सर्त यति जटिल छ कि सामान्य लेखपढ भएको व्यक्तिले त्यो सर्त पुरा गर्न नै सक्दैनन् अनि कसरी किसान प्रोत्साहित हुन्छन् ?’ भन्ने थप प्रश्न गरेका थिए । बीमा गर्दा एक बाख्रा बराबर १० हजार दिने भनेको रहेछ एक पटक पाँच वडाको पेश गर्दा ३५ हजार जति पाएँको थिएँ । अर्को पटक तीनवटाको पेश गर्दा कार्यक्रम नै सकियो भनियो रित्तै फर्के भन्दै उनले कोरोनाकाल अघि बजारको खासै समस्या नभएता पनि त्यसपछि भने बजारको समस्या आइपरेको उल्लेख गर्नुभयो । उहाँले एक वडा एक प्राविधिकको प्रवन्ध गर्नु पर्ने माग गरेका थिए ।
सभामा कार्यक्रमका समापति एवम् आयोजक संस्थाका अध्यक्ष बाबुराम रिमालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले लमजुङ बाख्रा पालनका लागि मुलुकभरमै उत्कृष्ठ जिल्लाका रुपमा पर्छ भनिए पनि त्यसअनुसारको किसानलाई प्रोत्साहित गर्ने सरकारी योजना र कार्यक्रम नभएको गुनासो गर्नु भयो । उनले जिल्लामा ५० वटा भन्दा माथि बाख्रा पाल्ने किसानको संख्या दुई सय हाराहारी रहेको ती मध्ये आफ्नो संस्थामा १२० जना किसान परिवार आवद्ध रहेको बताउनुभयो । तीमध्ये सबैभन्दा बढी दुधपोखरी गाँउपालिकामा र सबैभन्दा कम सुन्दरबजार नगरपालिकामा रहेको उहाँले जानकारी दिनुभयो । १०– १२ वटा बाख्रा पाल्ने किसानको संख्या जिल्लामा हजार भन्दा बढी रहेको उहाँको भनाइ थियो । उहाँले आफ्नो संगठन जिल्लाका सबै आठ वटै पालिकामा रहेको र दुई बेसीशहर नगरपालिका र दुधपोखरी गाँउपालिकाको अधिवेशन समेत सम्पन्न गरेको उल्लेख गर्नुभयो । बाँकी पालिकामा अबको छ महिनाभित्र पालिका अधिवेशन सक्ने योजना रहेको जनकारी दिँदै एक पालिकामा कम्तिमा १३ जना किसान भएपछि पालिका शाखाको मान्यता पाउन सक्ने विधानमा व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले सौर्य उर्जा, कृषि मिटर, वन नर्सरी, कम्पोस्ट मल बनाउने प्रबन्ध बिक्र संकलन केन्द्रको प्रबन्ध गर्नुपर्ने माग गर्नु भएको थियो ।
सो अधिवेशन नेपाल व्यवसायिक बाख्रा पालक महासंघ लमजुङ शाखाका अध्यक्ष बाबुराम रिमालको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति २०८१ माघ ११, शुक्रबार ०८:०१ गते