इतिहास, पर्यटन र दोर्दीमा गुरुङ संस्कृति

इतिहास, पर्यटन र दोर्दीमा गुरुङ संस्कृति

के.बि.मसाल

@antaranganews

२०८१ माघ १३ गते आईतबार ०६:४५

दोर्दीका हिम पोखरीको महत्व र विशेषताबारे पर्यटनको क्षेत्रमा प्रचार प्रसार भएको छैन भन्दा पनि हुन्छ । अर्कोतर्फ हिम पोखरीहरूको दिगो उपयोगबारे दोर्दीबासीहरूले पनि आवश्यक ज्ञान हासिल गर्न सकिरहेका छैनन । दोर्दीको पश्चिम उत्तरमा मेमे, नार्सीङ, धर्म र दुध पोखरी पर्दछ ।

आजभोलि लमजुङको दोर्दी गाउँपालिका पुग्दछन । पर्यटनका लागि दोर्दी इतिहास, हिमाल, ताल तलैया, गुरुङ संस्कृति र पदयात्राको लागि पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

पर्यटन भनेको आँफैमा बृहत क्षेत्र हो । पर्यटन भित्र भूगोल, इतिहास, समुदाय र संस्कृति पर्दछन । पर्यटकहरूले घुम्नको लागि नयाँ ठाउँ खोज्दछन । नयाँं ठाउँको ऐतिहासिक र पुरातत्विक स्थल धार्मिक, सांस्कृतिक परम्पराहरू र नयाँ खानपान पर्यटकहरूको रुचिको बिषय हुन्छ । इतिहास र संस्कृतिको खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरू आजभोलि लमजुङको दोर्दी गाउँपालिका पुग्दछन । पर्यटनका लागि दोर्दी इतिहास, हिमाल, ताल तलैया, गुरुङ संस्कृति र पदयात्राको लागि पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।
दोर्दी गाउँपालिकामा अहिले भारते, अर्चलबोट, श्रीमन्ञ्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारसमेत गरी ९ वाडमा विभाजन भएको छ । पर्यटनका लागि दोर्दी बाह्रथर, नौथर र चौथरको केही भूगोलले बनेको छ । उत्तरतिर हिमचुली र मनास्लु हिम श्रृखलाले दोर्दीको गाउँहरूलाई काखमा राखेको छ । दोर्दीका प्रायः सबै गाउँघर प्रकृतिक भ्युटावर हुन भन्दा पनि हुन्छ । कुनै एउटा गाउँबाट अर्को मात्र होइन निकै टाढाका भूगोलसम्म पर्यटकहरूले देख्न सक्दछन । त्यही भूगोलमा बग्ने दोर्दी, किसेती, छयाङ्दी, पार्दी र म्यार्दी खोलाको दायाँ वायाँ डाँडाकाँडामा दोर्दीका सुन्दर गाउँहरू पर्दछन । डाँडाकाँडामा मानवबस्ती खोला किनारमा खेतीयोग्य जमिन देख्दा पर्यटकहरू लोभिन्छन । अर्कोतर्फ पर्यटकहरूले अर्चलबोट र भारतेका गाउँबाट राइनासकोट भोटेओडार र उदिपुर वरपरका गाउँहरूसमेत देख्न सक्दछन ।
इतिहास अनुसार कुनै कालखण्डमा गण्डकी प्रदेश मगरहरूको राज्य थियो । लमजुङको नाम पनि मगर भाषाबाट आएको मानिन्छ । लमजुङको अर्थ अग्ला, लामा तथा ठूला पहाड र पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ । जुन कारणले लमजुङका धेरै गाउँठाउँ खोला र नदीको नाम मगर भाषामा रहेको मानिन्छ । ‘मगर ढुट’ अर्थात बाह्र मगराती भाषामा पानीलाई ‘डी’ भनिन्छ । मस्र्याङदी, रुदी, मादी, मिदिम, खुदी, ङादी, दोर्दी नाउँदी र पाउँदी जस्ता नदी र खोलाको नाम मगर भाषामा रहेको मानिन्छ । तर अहिले स्थानीय बासिन्दाहरूले भने दोर्दीको नाम महर्षि दुर्वासा ऋषिले मेमे पोखरी र दुध खोला क्षेत्रमा तपस्या गरेका र दोर्दी खोलाको उदगम स्थलमा दुध जस्तो पानी भुलभुल गरेर निस्कने भएकोले खोलाको नाम दोर्दी भएको मान्दछन । दोर्दी खोला, दोर्दी गाउँपालिकाको लागि बरदान पनि भएको छ । दोर्दी खोलाबाट अहिले माथिल्लो सुपरदोर्दी दोर्दी, पिपुल्स हाइड्रो पावर, लिवर्टी हाइड्रो पावर सिमी, लिड्को हाइड्रो पावर समेत गरी चार ठाउँमा र अपर छयाङ्दी र तल्लो छयाङ्दी हाइड्रो पावर समेत ६ ठाउँमा हाइड्रोपावर सञ्चालनमा छ । दोर्दीमा बनेका जलविद्युन आयोजनाले पर्यटकलाई आकर्षित गरेको छ ।
लमजुङ राज्य नेपालको एकीकरण पूर्वचौबीसी राज्य थियो । लमजुङका आठौं पुस्ताका राजा रिपुमर्दन शाहले शासन गर्न सजिलो होस भनी लमजुङलाई २७ मौजामा अर्थात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए । जसमा सराञ्चोक, राजाका सिपाहीले सरायँ खेल्ने ठाउँ । चौथर, गौंडाकोट राज्यले सैनिक राख्ने ठाउँ । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ भन्ने उल्लेख छ । आजभोलि दोर्दीमा जादा पर्यटकहरूले इतिहासका कुरा रुचि पूर्वक सोधखोज गर्दछन । अर्कोतर्फ गुरुङ समुदायको भेषभुषा, चाड पर्व पर्यटकहरूले रुचि राख्ने गर्दछन । दोर्दी पुग्ने पर्यटकहरूलाई अध्ययन अनुसन्धानको लागि महत्वपूर्ण मानिने आदीबासी गुरुङ समुदायको हिले टक्सार, दुवार, टापा, बन्सार, लप्सीबोट, सिमी, ताजे, कर्दी, किर्तीपुर, हरिगाउँ, पाचोक, लामा श्रीमञ्ज्याङ लगायतका अति रमणीय गाउँहरू रहेका छन । भूबनोटले पनि सुन्दर अनि गुरुङ समुदायको बाहुल्यता र छुट्टै पहिचान भएको दोर्दीका गाउँहरू पर्यटनका लागि रमणीय छन ।
दोर्दीका सबै गुरूङ गाउँमा गुरुङ संस्कृति र रीतिरिवाजको लागि धनी छ । दोर्दीमा घले, गुरुङ र तमाङ समुदायको गाउँ पनि फरक फरक गाउँमा छन । गुरुङ समुदायको आफ्नै शास्त्र, संस्कार र संस्कृति छ । तर,तीमध्ये अधिकांश मौखिक छन लिखित दस्तावेजमा छैन । गुरुङहरूको मुख्यपर्व तमु ल्होसार हो । गुरुङ जातिको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व र भेषभूषाले पनि कुन गाउँको रहेछ भनेर चिन्ह सकिन्छ । दोर्दीका गुरुङहरूको दोर्दीखोला वारीपारीमा केही भाषागत लवाज पनि अल्ली फरक हुन्छ । गुरुङहरूले प्रयोग गर्ने बख्खुमा पनि बाह्रथर र नौथरको रङ्ग फरक छ । गुरुङ समुदायको घाँटु नृत्य गाउँ ऐतिहासिक मानिन्छ । घाँटु नृत्य गाउँ अनुसार फरक भए पनि सबै गाउँमा नाचिने घाँटुको कथा भने एउटै हुन्छ । घाँटु नृत्यको प्रारम्भ सत्रौँ शताब्दीदेखि भएको मानिन्छ । घाँटु मध्ययुगिन राजा परशुराम र रानी चम्पावतीको प्रतीकका रुपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । गुरुङ समुदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ ।
आदिम कालमा क्व्होलासोँथर, घेर्मु गाउँ र जुमडाँडा घले राजाले राज्य गरेका थिए । घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरू भने भेटिदैन । तर पनि घले राजाले त्यो बेला राज्य सञ्चालन गर्नको लागि नालछोज अर्थात राजसभाको निर्णय लिने गर्दथे । मर्स्याङदी पश्चिम खासुर, भाचोक, हिले, टक्सार, लाँकुरीबोट र चिसापानी गाउँलाई बाह्रथरको नाम राखिएको थियो भने दोर्दी र किसेती बिचको भूगोललाई नौथर र त्यसपछि चेपेको शिरसम्मलाई चौथरको नाम राखेका थिए । घले राजाले स्थापना गरेको नालछोंजले विशेष गरेर जग्गा जमिन, खोरिया, भीर, पाखा, खोला, नाला, पोखरी, वन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, रीतिरिवाज, चाडपर्व, संस्कृति, संस्कार आदिको बारेमा छलफल गरेर थिति बाध्ने गरिन्थो । दोर्दीकोे गुरुङ गाउँहरूमा नालछोँजको अवशेषको रुपमा अझै पनि प्रचलनमा छ ।
दोर्दीमा जाने पर्यटकहरूले प्याकेज कार्यक्रम बनाउदा राम्रो हुन्छ । घुम्दा एक्लै जानु भन्दा समूहमा जादा रमाइलो मात्र होइन खर्चमा समेत कमि हुन्छ । दोर्दीको भूगोल रमणीय त छ तर सबै ठाउँ घुम्नको लागि महिनौं दिन पनि लाग्न सक्दछ । पर्यटकहरूले आफ्नो घुम्ने समयलाई ख्याल राख्दै प्याकेजमा दोर्दीको भूगोललाई खण्ड–खण्ड गर्दै पनि घुम्न सकिन्छ । दोर्दीको प्रायः सबै गाउँमा कच्ची भएपनि मोटर मार्ग पुगेको छ । दोर्दी प्रवेश गर्नको लागि डुम्रे–बेसीशहर राजमार्गको उदिपुर र भोटेओडारदेखि सकिन्छ । पर्यटकहरूले बलेरो अथवा स्कारपिओ जस्ता गाडी प्रयोग गर्दा भरपर्दो र सजिलो हुन्छ । बेलघारीदेखि अर्चलबोट, हँदै सेरा बजारसम्म मोटरमार्ग कालोपत्रे भएको छ । सेरा बजार दोर्दी गाउँपालिकाको केन्द्र पनि हो । ताजे, खिन्चोक, हिलेटक्सार र श्रीमञ्ज्याङको लामा गाउँमा होमस्टे पनि सञ्चालनमा छन । पर्यटकहरूलाई गाउँमा पुग्दा खाना बस्नको कुनै असुबिधा हुँदैन ।
दोर्दीमा विषेश गरी प्राकृतिको दृश्यावलोकन र गुरुङ संस्कार संस्कृति हेर्न पर्यटकहरू पुग्ने गर्दछन । दोर्दीमा गुरुङ जातिको बाहुल्य रहेको छ । दोर्दीमा प्राकृतिक सम्पदाले पर्यटकहरू लोभिन्छन । दोर्दीबाट देखिने हिमश्रृखला पारि पनि नेपाल छ भन्दा धेरै पर्यटकहरू छक्क पर्दछन । दोर्दीबाट देखिने हिमाल पारी गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्छन् । तिब्बती मुलका भोटे समुदायको बसोबास रहेको गोरखाको उत्तरी भेगमा पर्ने चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास भित्रका विभिन्न गाउँहरू पर्दछन । हिमचुली र मनास्लु हिमालले लमजुङ र गोरखाको सीमा दिएको । हिमाल पारीको सबै भूगोल मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । मनास्लु संरक्षण क्षेत्रमा काल ताल र वीरेन्द्र ताल जस्ता विभिन्न ताल तलैयाहरू रहेका छन । हिमाल पारि चुमनुव्रीको भूगोलमा बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ, जाने पदमार्ग पर्दछ । तर दोर्दी गाउँपालिका र गोरखा जिल्लाको सिमानामा पर्ने हिमचुली हिमालको काखमा गोरखाको लिगाउँ, हिमाङ गाउँका पिताक, क्युचा र सिवियुकमा भन्ने चौरी गोठ राख्ने खर्कहरू पर्दछन । हिमाङ गाउँ ठूलो चट्टानको मुनी रहेको छ । हिमाङ गाउँमा पुरानो गुम्बा पनि रहेको छ ।
पर्यटकहरू भोटेवडारदेखि जादा मर्स्याङदी तर्नासाथ बेलघारी आउछ । दोर्दीको भारते जान बेलघारीबाट एक्लेखेत कल्लेरी सिरुवारी हँुदै करिव आठ किलो मिटरको यात्रामा भारते भन्ने गाउँमा पुगिन्छ । भारते गाउँमा ऐतिहासिक चण्डिदेवीको मन्दिर रहेको । भारते गाउँ पार्दी र प्यार्दी खोलाको बिच भूगोलमा पर्दछ । अर्चलबोट दोर्दीको रमणीय गाउँ हो । अर्चलबोट गाउँको सल्लाबोटमा गुम्बाको मन्दिर निर्माण भएको छ । ठाटी अथवा पिप्लेचोकबाट करिब चार किलो मिटरको यात्रामा सल्लाबोट पुगिन्छ । पर्यटकहरू श्रीमञ्ज्याङको बाटो हुदै इलमपोखरी जाँदा लामा गाउँको गुम्बामा पनि पुग्दछन । लामा गाउँमा पर्यटकहरूलाई बस्न खानको लागि होमस्टे समेत सञ्चालनमा छ । लामा गाउँ जानको लागि थाखेत वाग्ले गाउँहुदै थुम्की गाउँ भएर लामा गाउ पुग्न सकिन्छ ।
दोर्दीका हिम पोखरीको महत्व र विशेषताबारे पर्यटनको क्षेत्रमा प्रचार प्रसार भएको छैन भन्दा पनि हुन्छ । अर्कोतर्फ हिम पोखरीहरूको दिगो उपयोगबारे दोर्दीबासीहरूले पनि आवश्यक ज्ञान हासिल गर्न सकिरहेका छैनन । दोर्दीको पश्चिम उत्तरमा मेमे, नार्सीङ, धर्म र दुध पोखरी पर्दछ । यी पोखरीहरू मध्य सबैभन्दा ठूलो मेमे पोखरी रहेको छ । हिमचुलीको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बिच रहेको छ मेमे पोखरी । मेमे पोखरी सामुन्द्री सतह देखि ४ हजार ३५० मिटरको उचाईमा पर्दछ । मौसम खुलेको बेलामा मेमे पोखरीमा पैसाले किन्न नसकिने सुन्दरताको बर्णन गर्न नसकिने हजारौं रगंका प्राकृतिक हिमाली भेगमा फुल्ने रङगीचङगी पूmलहरू र त्यहाँको वातावरणले सबैलाई मोहित बनाउछ ।
मेमे पोखरी भन्दा पूर्व दिशामा अर्थात ताजे गाउँ भन्दा माथी नमचे ताल पर्दछ । नमचे ताल पनि हिमचुली हिमालको फेदीमा पर्दछ । भाद्र महिनामा यो ताल वरपर भेडीगोठ पुग्ने गर्दछन । हिमचुली र मनास्लु हिमालको फेदीमा एकोमेरिन, टुरमालिन, क्यानाइट जस्ता पत्थरका खानी समेत रहेका छन । मेमे पोखरी र दुध पोखरी जाने बाटो धेरै छन । मेमे पोखरी जाँदा बाह्रपोखरी पनि पुग्ने हो भने चिति–माझगाउँ, पुरानो दुबार हुँदै बाह्रपोखरी समेत अवलोकन गरी मेमे पोखरी पुग्न सकिन्छ । अर्को बाटो बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हँुदै बाह्रपोखरी पुग्ने र त्यसपछि मेमे पोखरी भएर दुधपोखरी पुग्न सकिन्छ । तर बाह्रपोखरी नपुगेर सिधै मेमे र दुध पोखरी जाने हो भने दोर्दी खोलाको शिरमा पर्ने ताजे गाउँबाट केही माथी पुगेपछि दोर्दी खोला तर्ने र उकालो बाटो भएर पनि मेमे पोखरी पुग्न सकिन्छ । उकालो बाटोमा पर्ने स्यायुडाँडाबाट सुरु हुन्छ भिर र चट्टानको सारै असजिलो बाटो । त्यसपछि भेटिन्छ जोरङाडाँडा । त्यसपछि पनि उकालो यात्रा गर्दै जादा भेटिन्छ छविगौंडा र उकालो सकिन्छ । दुधपोखरी र मेमे पोखरी उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा भएकोले यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले यात्रामा छुट्टै अनुभव हुन्छ । मेमे र दुधपोखरी जानेबाटोमा हिमाली फूलहरू फुलीरहेका हुन्छन । पहेलो, सेतो, रातो, निलो, गुलाबी रङ्गका फूलहरूले दुधपोखरी जाने पर्यटकहरूलाई स्वागत गरिरहेको हुन्छ ।
बाह्रपोखरी मर्स्याङदी र दोर्दी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । पर्यटनको क्षेत्रमा बाह्रपोखरीलाई बराहपोखरी पनि भन्ने गरिन्छ । प्राकृतिक सौन्दर्यले आकर्षक बाह्रपोखरी खुला मैदान अर्थात चरिचरन क्षेत्र र त्यहाँबाट नजिकै देखिएका हिमाललाई क्यामेरामा कैद गर्न सकिन्छ । बाह्रपोखरीबाट मनास्लु हिमश्रृखला अन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक हिमाली दृश्यसँगै लालीगुराँस फुल्ने समयमा थरीथरीका लालीगुराँसले मनोरम दृश्यावलोकले निकै रमाइलो हुन्छ । प्रकृतिमा रमाउनेहरूका लागि बराहपोखरी यात्र निकै रमणीय हुन्छ । डाँडैडाँडाको बाटो जताततै हरियाली वतावरण जस्ता प्रकृतिक सुन्दरताले पर्यटकहरूलाई यात्रामा आनन्द हुन्छ । बाह्रपोखरी क्षेत्रमा कुनै स्थायी संरचना छैन । बाह्रपोखरी जाने पर्यटकहरू अस्थायी गोठमा रात बिताउनु पर्दछ । कतिपयले आँफैले लगेका टेन्ट, त्रिपाल, रुखको फेद वा पहरामा ओत लागेर पनि रात बिताउने गर्दछन । बाह्रपोखरी जानको लागि बेसीशहर नगरपालिका– ११ मा पर्ने चितिबाट माझगाउँ, पुरानो दुबार हुँदै जान सकिन्छ । यस्तै बेसीशहरदेखि भुष्मे, छिनखोला हुँदै पनि पुग्न सकिन्छ ।
दोर्दी र दूधपोखरी गाउँपालिकाको सीमानामै पर्ने इलमपोखरीमा प्रत्येक वर्षको चैत पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । इलमपोखरीको मेलामा प्रायः दोर्दी र दुधपोखरी क्षेत्रका गुरुङ गाउँका मानिसहरू मात्र होइन गोरखा जिल्लाका अजिरकोट, सिरानचोक र सुलिकोट देखिका आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन । सडक सञ्जाल जोडिएपछि अहिले अन्य जिल्लाका तीर्थाटनका पर्यटकहरू पनि पुग्ने गर्दछन । इलमपोखरी मेलाको आकर्षण भनेको सातकन्या देवीको दर्शन गर्ने, छेलो हान्ने र लोकप्रिय ‘ठाडोभाका गीत’ गाउने र सुन्ने हो । इलमपोखरीको मेलामा नपुगेको र ठाडोभाकाको गीत नसुनेको पर्यटकहरूलाई अनौठो लाग्दछ । इलमपोखरीमा रहेको सातकन्या देवीको मन्दिरमा तीर्थाटन गरी रातभर जाग्राम बस्ने र मौलिक ठाडोभाकाको गीत गाउने तीर्थाटनका पर्यटकहरू रमाइलो गर्ने प्रचलन छ । इलमपोखरी धार्मीक र सांस्कृतिक थलो पनि हो । परापूर्वकालमा इलमपोखरी ठूलो थियो । पोखरी वरपर मानिसहरूको बसोबास थियो । इलमपोखरीको सातकन्या देवी मन्दिर आसपासमा बस्ती रहेको भग्नाबशेषसमेत देखिन्छ । पर्यटकहरूले बस्तीका भग्नाबशेषहरू घरका पर्खाल, ढिकी, जाँतो, कोल, ढुंगा विछयाइएको बाटो आदि रुचिपूर्वक अवलोकन गर्दछन ।
इलमपोखरी जाँदा कतिपय पर्यटकहरू लिपे लेक र दाम्राङ ट्रेकिङमा जान रुचाउछन । दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर पर्यटनको लागि चक्रीय पदमार्ग निर्माण भएको छ । अब पदमार्गमा यात्रा गर्न रुचाउने पर्यटकहरू दोर्दीको नौथर सेराबाट सुरु गरिएको चक्रीय पदमार्ग दोर्दीकै श्रीमञ्ज्याङ, दूधपोखरीको ओखरी, गौंडा, जोर्ने र दोर्दीको इलमपोखरी चेर्ने, लिपे, गौथली, टउ, मस्प्रो, र प्रो, दाम्राङ हुँदै नौथरकै सेरामा फर्कन सक्दछन । पदमार्गको यात्रामा ऐतिहासिक दाम्राङ पोखरी र पाण्डेगढी, घलेगढी, खुलल अर्थात गुरुङ गढी र गोरुजुरेगढी समेत पर्यटकहरू पुग्न सक्दछन । ऐतिहासिक दाम्राङ पोखरी सिमसार क्षेत्र हो । जंगलको बीचमा रहेको दाम्राङ पोखरीमा जंगली जनावर र चराचुरुंगी अनि भेडीगोठका भेडा पानी पिउन पुग्दछन । दाम्राङमा नयाँ वर्षमा ठूलो मेलासमेत लाग्ने गर्दछ । चैत–बैशाखमा दाम्राङ जाँदा काफल र ऐँसेलु पर्यटकहरूले खान पाउछन । पर्यटनका लागि दाम्राङ राम्रो गन्तव्य मानिन्छ । गुरुङ भाषामा ‘र’को अर्थ पोखरी भन्ने हुन्छ । दामे नामको गोठालो पोखरीमा डुबेर मरेको भन्ने गरिन्छ । त्यसैले दामेर भन्दै ताम्रा र पछि बोल्ने क्रममा दाम्राङ नाम रहन गएको भनाइ पाइन्छ । स्थानीयले दाम्राङ पोखरीलाई रात पोखरी पनि भन्ने गर्छन ।
तर, लिपे लेक र दाम्राङ ट्रेकिङमा जान पर्यटकहरूले समूहमा जाँदा राम्रो हुन्छ । इलमपोखरी भन्दा माथि कुनै बस्ती छैन पर्यटकहरूले ट्रेकिङमा क्याम्पिङ नै गर्नुपर्ने हुन्छ । पर्यटकहरूले टेन्ट, म्याट्रेस, स्लिपिङ ब्याग, न्यानो कपडा, पकाउने र खाने खानेकुरा एवम् भाँडा, लाइटर, टर्च लाइट, पावर बैंक, पानी, प्राथमिक उपचार सामग्री, लठ्ठी र ड्राइ फ्रुटस साथमा लैजान पर्दछ । दोर्दी गाउँपालिकाले ट्रेकिङमा रमाउन खोज्ने पर्यटकका लागि ट्रेकिङ रुट निर्माण गरेको छ । दोर्दीको नौथरसेराबाट सुरु हुने ट्रेकिङ रुट इलमपोखरी, लिपे लेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा आउन सकिने ट्रेकिङ रुट पनि छ । अर्को रुट भनेको नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरीतिर पुगिने छ । मेमे पोखरीबाट कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीशहर पुग्ने ट्रेकिङ रुट समेत निर्माण भएको छ ।
दाम्राङ नजिकै जुमडाँडा घले दरबार र खुलाल गुरुङ दरवार पर्दछ । दाम्राङको पश्चिमतर्फ थुम्कामा बाइसे–चौबीसे राजाका पालाका घले गढी, खुलाल गढी र पाण्डे गढी रहेको थियो । यो गढीमा दाम्राङ पोखरीबाट आधा घन्टामा गढी पुगिन्छ । जुमडाडाँमा छोरी ज्वाँईलाई दाइजो स्वरुप दिएको घले दरबार र सुसुराको गुरुङ दरबार रहेको थियो । मानवबस्तीबाट टाढा रहेको घले दरबार र खुलाल गुरुङ दरवार पुरातात्विक विभागबाट अहिले जिर्णोद्धार भएको छ । दाम्राङ पोखरीको सौन्दयले सबै पर्यटकहरूलाई आकर्षण गर्दछ । दाम्राङ पोखरीमा पुगेपछि पर्यटकहरु फोटो खिच्ने, भिडियो र टिकटक बनाउने गर्दछन । पर्यटकहरू दाम्राङ पोखरीबाट भिडियो लाइभ नै गर्छन् । घले दरबारमा राजा डवाङ क्याल्बोले राजकाज चलाएका थिए । पदमार्गको बाटोमा प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरूको अध्ययन तथा अवलोकन गर्न सकिन्छ ।
पोखरी क्षेत्रबाट बौद्ध हिमाल, डा. हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, हिमाल चुली, मनास्लुलगायत दर्जन हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ । पोखरी नजिकै फुटबल मैदान छ । यही खेलमैदानमा नयाँ वर्षमा फुटबल खेलाइन्छ । दाम्राङबाट करिब १५ मिनेट हिँडेपछि साततले गुफा पुग्न सकिन्छ । करिब ८० मिटर लामो गुफा एक ठाउँबाट पसेर अर्को ठाउँबाट निस्कन मिल्छ । पश्चिमतर्फ थुम्कामा घले गढी, खुलाल गढी र पाण्डे गढी छन् । दाम्राङ पोखरी पुग्न नौथर सेराबाट कामचोक हुँदै जान सकिन्छ । यस्तै नौथर सेराबाट डाँडागाउँ, बाँसबोट, कुखुरे ढुंगाको बाटो हुँदै पनि जान सकिन्छ । नौथर सेराबाट दाम्राङ पुग्न एकदेखि डेढ घण्टा जिप वा मोटरसाइकलको यात्रा गर्नुपर्छ । हिँडन सक्नेले नौथर सेरादेखि तीन घण्टामै पैदल दाम्राङ पुग्छन् ।
दोर्दीमा प्राकृतिक रुपमा रहेका सम्पदा पर्यटनका लागि मानवीय श्रम र रकम खर्च गर्न परेको छैन । ती क्षेत्रमा पर्यटक पुर्याउन पूर्वाधार निर्माण भए मात्र पुग्छ । तर धेरै ठाउँमा पर्यटकहरूलाई आकर्षण गर्न भने पुर्वाधारको खाँचो छ । अब दोर्दीमा सम्भावना बोकेका गाउँहरूलाई प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रितका आधारमा पर्यटन गाउँ बनाउन पर्दछ । गाउँको सरसफाई, स्वास्थ्य चौकी र सुरक्षा हुनु पर्दछ । गाउँघरमा कृषि क्षेत्रमा उत्पादन बढाउन पर्दछ । गाउँमा पुग्ने पर्यटकहरूलाई उत्पादित बस्तुहरू बिक्री गर्न सकियोस तब मात्र गाउँमा पनि पर्यटनको विकास हुन्छ ।
दाङबाट ।

प्रकाशित मिति २०८१ माघ १३, आईतवार ०६:४५ गते
हजुरको प्रतिक्रिया