पाँच जना साधकलाई नइ पुरस्कार– २०८० का लागि छनौट

पाँच जना साधकलाई नइ पुरस्कार– २०८० का लागि छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १५ गते मङ्गलबार ०५:४८

तीनओटा पुरस्कारका राशि जनही पचास पचास हजार रुपैयाँ रहेका छन् भने अन्य दुईमध्ये एकको ६० हजार रुपैयाँ र अर्कोको २५ हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ— नेपाली भाषा साहित्यको श्रीबृद्धिका लागि निजीक्षेत्रबाट योगदान गर्ने मुलुककै सर्वश्रेष्ठ संस्था नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । सम्मानित हुनेहरूमा कृष्णप्रसाद वस्याल पाल्पा, ठाकुर शर्मा भण्डारी काठमाडौं, धनकुटे कान्छा झापा, तेस्रो लिङ्गी रजनी थकाली पोखरा र सुश्री मनीषा राजबंशी झापालाई माघ १३ गते छनौट गर्ने निर्णय गरिएको हो ।
कृष्णप्रसाद वस्याल पाल्पालाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँले साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेको पुरस्कार समर्पण गरिएको हो । सो पुरस्कारको राशि साठी हजार रुपैयाँ राशि रहेको छ ।
साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँले ‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि योगदान गर्नु भएको हुँदा सो पुरस्कारका लागि योग्य ठानिएको नइ प्रकाशनले जनाएको छ ।
यसैगरी, धनकुटे कान्छा झापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्याउनु भएको हुँदा उहाँलाई सम्मान गर्नु भएको हो ।
तेस्रो लिङ्गी रजनी थकाली पोखरालाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । उहाँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पुर्याएको हुँदा उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको नइ प्रकाशनले जनाको छ ।
यी तीनओटा पुरस्कारका राशि जनही पचास÷पचास हजार रुपैयाँका दरले रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले उल्लेख गर्नु भयो ।
यस्तै, सुश्री मनीषा राजबंशी झापालाई ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँले थाइल्यान्डमा सम्पन्न विश्वका चवालीस राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाए बापत सो पुरस्कार समर्पण गरिने भएको हो । उक्त पुरस्कारको राशि पच्चीस हजार रुपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भयो ।
उहाँका अनुसार नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति २०८१ माघ १५, मंगलवार ०५:४८ गते
हजुरको प्रतिक्रिया