सुन्दरबजार– लमजुङको यहाँ सञ्चालन गरिएको १० औं सुन्दरबजार महोत्सवका एक दिन थप गरी भोलि माघ २२ गते समापन गरिने भएको छ । दोहोरी प्रतियोगितामा सहभागी टिम धेरै (२४) भएको हुँदा त्यसको फाइनलको काम समेत बाँकी रहेको हुँदा एक दिन थप गरी भोलिका लागि समापन सारिएको आयोजकको भनाइ छ ।
दोहोरी गीत प्रतियोगिताको फाइनल भोलि हुने भएको निर्णायक समितिका संयोजक एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताउनु भयो । उहाँका अनुसार दोहोरी गीत प्रतियोगितामा परेवाडाँडाकी पार्वती आलेको टोली र लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ शाखाको टिम फाइनलमा पुगेका छन् । उहाँले भन्नुभयो, ‘आज भएको सेमी फाइनलमा घनपोखराका राजु लामिछाने र लोक तथा दोहोरी गीत प्रतिष्ठानका बीचमा सेमी फाइनलमा प्रतिस्पर्धा भएको थियो ।’
महोत्सवको अवधि एक दिन थप गरी भोलि समापन गरिने भएको आयोजक समितिका संयोजक एवम् लमजुङ उद्योग वाणिज्य संघ(लउवासंघ) सुन्दरबजार इकाईका अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दोहोरी गीत प्रतियोगितामा सहभागी संख्या बढी भएको हुँदा दिन थप गर्नु पर्ने भएको हो ।

उहाँले भन्नुभयो, ‘भोलि समापन कार्यक्रममा लउवासंघका अभिभावक पूर्वअध्यक्ष समेत रहनु भएका गण्डकी प्रदेश सरकराका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यता ग्रहण गर्न आउनु हुने भएको छ ।’
सो महोत्सवमा आयोजना गरिएको प्रतियोगिताका कार्यक्रम माघ १४ गतेदेखि सुरु भएका हुन् । प्रतियोगितामा खास गरी नगरपालिका भित्रका माविस्तरीय नृत्य प्रतियोगिता र दोहोरी गीत प्रतियोगिता मुख्य रहेको आयोजकको भनाइ छ ।
यसैगरी, सम्पन्न भएका माविस्तरीय नृत्य प्रतियोगितामा फ्युचर स्टार आमावि पहिलो, ग्लोबल भिजन आमावि दोस्रो र सयपत्री आमावि तेस्रो भएको महोत्सवको शिक्षा उपसमितिका संयोजक एवम् सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा ११ माविले भाग लिएका थिए । यसैगरी, स्मार्ट सिटीको डेमो प्रतियोगितामा उत्कृष्ट चारलाई पुरस्कृत गर्ने भएको छ । तिनमा सयपत्री आमावि, इन्साइट भिजन आमावि, विद्याज्योति मावि र त्रिभुवन मावि मानेचौका छनौट भएका छन् । सो प्रतियोतिगामा ९ विद्यायलले भाग लिएका थिए ।

शर्माले भन्नुभयो, ‘सोही अवसरमा गरिएको वक्तृत्वकला प्रतियोगिताको पनि नतिजा आएको छ ।’ डिजिटल उपकरणको समुचित प्रयोगमा विद्यार्थीको मूमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा फ्युचर स्टार आमावि पहिलो, इन्साइट भिजन आमावि दोस्रो र सयपत्री आमावि तेस्रो हुन सफल भए । सो प्रतियोतिगामा पनि ९ माविले भाग लिएको शिक्षा उपसमितिका संयोजक शर्माले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण लगायतका कार्यहरू गरिने छ ।
महोत्सवको अवसरमा दिनहुँ राष्ट्यि तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा दर्शक रमाइरहेका छन् । २० गतेका दिन सुमधुर स्वरकी धनी एलिना चौहानका साथमा दर्शकहरू निकै रमाए । उनले ‘धोकेवाज हौ तिमी ….. ’ सहितका गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् ।
यसैगरी, महोत्सवका केरा, मह लगायतका परिकारमा पनि दर्शकहरुको झुण्ड राम्रै देखिने गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
उक्त महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नु भएको हो ।
प्रकाशित मिति २०८१ माघ २१, सोमबार २१:४५ गते