विश्वमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको करिव एक सय ८१ वर्ष भएको इतिहास छ । तर धार्मिक पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिन्छ । युनेस्कोका अनुसार बिश्वका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन र उनीहरू तीर्थाटनका लागि विभिन्न धार्मिकस्थहरूमा पुग्ने गर्दछन । नेपालमा धार्मिक पर्यटनको महत्व छुट्टै छ । प्राचीन कालदेखिनै नेपालीहरू चारधामको यात्रा गर्दै आएका छन । चारधाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल मानिन्छ । चारधामको नामांकन हिन्दू धर्मका जगतगुरु आदि शंकाराचार्यले गरेका हुन । चारधाम भारतको भिन्न भिन्न राज्यमा पर्दछ ।
सत्ययुगमा पनि ब्रह्मा, विष्णु र महेश्वरले तीर्थाटन गर्नुभएको वर्णन शास्त्रमा उल्लेख छ । त्रेतायुगमा रामचन्द्र भगवान र द्वापरयुगमा श्रीकृष्ण भगवान वलराम लगायत पाण्डवले समेत तीर्थाटन गरेको महाभारतमा छ । प्राचीनकालदेखि नै तीर्थ यात्रा निस्कने परम्परा थियो । तीर्थको बारेमा पद्मपुराणमा पनि वर्णन गरिएको छ । आजभोलि भारतको प्रयागराजमा विश्वप्रसिद्ध महाकुम्भ मेला चलिरहेको छ । महाकुम्भ मेलाको धार्मिक र सांस्कृतिक महत्व छ । महाकुम्भ मेलाले विश्वभरका धार्मिक पर्यटकहरूलाई आकर्षित गरेको छ । अहिले कुम्भ मेलामा नेपाल भारत मात्र होइन तेस्रो मुलुकका पर्यटकहरूको पनि उत्साहपूर्ण सहभागिता भएको छ । दक्षिण कोरिया, जापान, स्पेन, रुस, संयुक्त राज्य अमेरिका, इटाली, अर्जेन्टिना लगायतका देशका हजारौं खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरू महाकुम्भ मेलामा पुगेका छन । कुम्भमेलाले केवल अध्यात्मिक शान्तिका लागि मात्र नभएर सांस्कृतिक अध्ययन र विश्वभरका समुदायहरूसँगको सम्पर्कको माध्यम पनि भएको छ । महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक आध्यात्मिक भेला हो । महाकुम्भ मेला धार्मिक उत्सव मात्र होइन तीर्थाटन पर्यटकहरूका लागि आस्थाको महासागर पनि हो । संयुक्त राष्ट्रसंघ समेतले महाकुम्भ मेलालाई मानव जातिको अमूर्त सम्पदाको मान्यता दिएको छ ।
प्रयागराजमा गंगा, यमुना र पौराणिक नदी सरस्वतीको संगमस्थलमा प्रत्यक १२ वर्षमा आयोजना हुने कुम्भ मेला यहि १ माघदेखि सुरु भई ४५ दिन अर्थात शिवरात्रीसम्म चल्ने छ । कुम्भमेला स्नान गर्न महत्वपूर्ण तिथि माघे सक्रान्ति, मौनी औंसी, वसन्त पञ्चमी र महाशिवरात्रीलाई विशेष महत्व दिने गरिन्छ । यी ४ दिनको स्नानलाई शाही स्नान भनिन्थ्यो । तर अहिले अमृत स्नानको नामाकरण गरिएको छ । यो पटक माघे सक्रान्तिको दिनमा अमृत स्नान सम्पन्न भएको छ । इलाहाबादको प्रयागराज यतिखेर महा कुम्भमय भएको छ । प्रयागराजको त्रिवेणीमा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्यप्राप्ति हुने र मृत्युपछि मोक्ष हुने तीर्थाटनका पर्यटकहरूको मान्यता छ । महाकुम्भ स्नान गर्न दैनिक हजारांैको सख्यामा नेपालबाट समेत तीर्थयात्री पर्यटकहरू पुगेका छन । प्रयागराजमा पुग्ने पर्यटकहरूले कुम्भको इतिहास खोज्दछन । कुम्भको शाब्दिक अर्थ कलश वा घडा हो । वैदिक युगमा घडालाई कुम्भ भनिन्थ्यो । संस्कृति विज्ञकाअनुसार ऋग्वेदमा घडालाई कुम्भ भनिएको छ । घडा घाटमा स्नान गर्न र पानी सग्रह गर्न प्रयोग गरिन्थ्यो । माटो, तामा र पित्तलका घैला निर्माण गरिन्थे । मन्दिरमा चढाउन वा विशेष दान गर्न सुनका घडा बनाइन्थे । हिन्दूहरूको कुनै पनि यज्ञ, पूजा अनुष्ठान कलश स्थापनाबाट सुरु हुनु कुम्भकै प्रतीक हो ।
तर कुम्भको नाममा यति ठूलो धार्मिक तीर्थाटन मेलाको उत्पत्ति र विकास कसरी भयो ? पर्यटकहरू कुम्भमेलाको ऐतिहासिक तथ्य जान्न खोज्दछन । कुम्भ मेलाका मुख्य दुई पौराणिक कथासंग जोडिएको छ । बैकुण्ठबाट अमृत हरण र समुद्र मन्थनसँग जोडिएको कथन प्रचलित छ । पहिलो कथा ऋषि कश्यपसंग र दोस्रो दैत्य र दानवले समुद्र मन्थन गर्दाको प्रशंग उल्लेख छ । पौराणिक कथा अनुसार बैकुण्ठबाट अमृत हरण र समुद्र मन्थन, ऋषि कश्यपका दुई पत्नी कद्रु र वनिताले सन्तान मागेका, गरुडलाई बैकुण्ठबाट अमृत चोरेर ल्याउन भनिएको कथा प्रशङ्ग छ ।
अर्को कथा दैत्य र दानवले समुद्र मन्थन गर्दा निस्किएका १४ रत्नमध्ये एक अमृत घडा थियो । अमृत घडा वैद्यराज धन्वन्तरीको हातमा थियो । जब अमृत कसले खाने भन्ने विषयमा सुर र असुरबीच विवाद भयो । दैत्यराज बलीको सेना स्वरभानु घडा खोसेर आकाशमा उड्यो । देवराज इन्द्रका छोरा जयन्तसँग पनि आकाशमा उड्ने क्षमता थियो । इन्द्रले जयन्तलाई स्वरभानुबाट अमृत घडा खोस्न आदेश दिए । अमृतको घडा आफ्नो कब्जामा लिन देवता र राक्षस बीच १२ दिनसम्म युद्ध चलेको थियो । आकाशमै स्वरभानु र जयन्तबीच अमृत घडा खोसाखोस हुँदा उत्तराखण्ड हरिद्वारको गंगातट, मध्यप्रदेश उज्जैनको शिप्रा नदी, महाराष्ट्र नासिकको गोदावरी नदी किनार र उत्तरप्रदेश प्रयागराजको त्रिवेणी ४ स्थानमा अमृतको थोपा चुहियो । र कुम्भ मेलाको थालनी भयो ।
कुम्भ मेला ४ प्रकारका हुन्छन । १२ औं वर्षको मेलालाई पूर्ण कुम्भ भनिन्छ । यो मेला प्रयागराजमा मात्र लाग्दछ । ६÷६ वर्षमा लाग्ने मेलालाई अर्धकुम्भ भनिन्छ । यो प्रयागराज र हरिद्वारमा लाग्दछ । वार्षिक स्नानलाई भने कुम्भ भनिन्छ । त्यो मेला ४ वटै स्थानमा हुन्छ । १२ वटा ‘पूर्ण कुम्भको चक्रलाई महाकुम्भ’ भनिन्छ । अर्थात महाकुम्भ प्रत्येक १४४ वर्षपछि दुई शताब्दी छोएर आउँछ । यस पटकको प्रयागराजको मेला ‘महाकुम्भ’ हो । यस अघिको महाकुम्भ मेला सन् १८८२ मा भएको थियो । प्रयागराज मेलाको अवधि सूर्य, चन्द्र र बृहस्पति ग्रहको ज्योतिषीय स्थान गणनामा आधारित हुन्छ । जब सूर्य र चन्द्र मकर राशी र बृहस्पति ग्रह वृषभ राशीमा हुन्छ त्यो बेला प्रयागराज कुम्भ मेला लाग्दछ ।
महाकुम्भको इतिहास निकै पुरानो छ । केही ग्रन्थहरूका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । तर, यसलाई अंग्रेजको शासनकालमा आएर मात्र औपचारिक रुपमा कुम्भमेला भन्न थालिएको इतिहास छ । इतिहास अनुसार ७ औं शताब्दीका चिनियाँ यात्री हु वान साङले कुम्भ मेलाको चर्चा गरेका थिए । हु वान साङले माघे सक्रान्ति स्नानका लागि राजा हर्षवर्धनले शिविर बनाएर भाग लिएको मेलाका रुपमा कुम्भको वर्णन गरेका छन । कतिपयले कुम्भ मेला सुरुवात ८ औं शताब्दीका धर्म गुरु शंकराचार्यलाई दिने गर्दछन । त्यो बेला हिन्दू धर्म भन्दा बौद्ध र जैन धर्मको प्रचार व्यापक थियो । त्यहि बेलामा शंकराचार्यले अद्वैत वेदान्तको दर्शनसहित हिन्दूत्व जागरण अभियान सुरु गरेका थिए । जागरण अभियान प्रयोजनका लागि आयोजना गरेको हिन्दू जागरण सभाले कुम्भ मेलाको रुप लिएको तर्क पनि गरिन्छ । जहाँ सृष्टिकर्ता ब्रह्माले पहिलो यज्ञ गरेका थिए । प्रयागराजको अर्थ तीर्थहरू मध्यको सर्वश्रेष्ठ तीर्थ हो । सन् १५७५ मा मुगल सम्राट अकबर प्रयागराजमा पुगेका थिए । सम्राट अकबरले प्रयागराजको नाम परिवर्तन गरी इलाहावाद राखेका हुन । अकबरले हिन्दूको इश र र इस्लामको अल्लाह दुवैका देवताको बास भएको ठाउँ भन्ने अर्थमा इलाहावाद नाम राखेको इतिहास छ । इलाहाबादको अर्थ अरबी भाषामा ईश्वरद्वारा बसाइएको वा ईश्वरको शहर भन्ने हुन्छ । तर सन् २०१८ बाट पुनः प्रयागराज भन्न थालिएको छ ।
प्रयागराज तीन नदी गंगा, यमुना र सरस्वतीको त्रिवेणी हो । तर, रोचक त के छ भने त्यहाँ गंगा र यमुना मात्र मिसिएको देखिन्छ । सरस्वती नदी भने तीर्थाटनका पर्यटकहरूले देख्न सक्दैनन् । तर, सरस्वती नदी भित्रभित्रै बग्दै आएर त्रिवेणीमा मिसिन्छ भन्ने विश्वास गर्दछन । किनकि, प्राचीन हिन्दू ग्रन्थमा गंगा र यमुनाकै जस्तो सरस्वती नदीको पनि ठूलो चर्चा, प्रशंसा र महिमाको गान छ । भगवान कृष्णले काशी र द्वारकाबीचको यात्रा सरस्वती नदी हुँदै नौकाबाट गर्दथे भन्ने वर्णन छ । किन देखिएन सरस्वती नदी ! सरस्वती नदी नदेख्नुको कारण बारे धार्मिक विश्वास र भौगर्भिक परिवर्तन दुवै प्रकारका तर्क छन । सरस्वती नदी मारवाड र सौराष्ट्रबाट प्रवाहित हुँदै प्रयागराजमा आएर गंगा र यमुनामा मिसिन्थ्यो भन्ने विश्वास छ । जब सौराष्ट्र क्षेत्रमा पाप, अनाचार, दुराचार फैलियो तब सरस्वती नदी प्रयागराजमा आएर भूमिगत भएको धार्मिक तर्क छ । अर्को तर्कअनुसार राजस्थानको थार मरुभूमि क्षेत्र भौगर्भिक परिवर्तन हुनु अघि हराभरा, वनजगल र कृषियोग्य जमिन थियो । प्राचिनकालमा राजस्थानमा भएको भौगर्भिक परिवर्तनले जमिन भित्रको बलौटो माटो सतहमा आएर मरुभूमि बन्यो । यही प्रक्रियामा सरस्वती नदी भूमिगत भएको हो भन्ने तर्क पनि छ ।
कुम्भमेला बिशेष गरी साधु बाबाहरूको मेला हो । कुम्भ मेलामा नागाबाबाहरूको चर्चा धेरै हुन्छ । पहिलो चोटी प्रयागराज पुग्ने पर्यटक त साधुको बथान देखेर अचम्म मान्दछ । शरीरमा खरानी घसेका साधुहरूको भिडमा कोही निर्वस्त्र कोहीले लगौँटी मात्र लगाएका सर्पको माला लगाएका त्रिशूल र डमरु बोकेर साधुहरूको भिडले कुम्भको मेलामा छुट्टै आकर्षण हुन्छ । बिशेष गरी कुम्भमेलाको शाही स्नानमा नागाबाबा अखडाको अग्राधिकार हुन्छ । कुम्भ स्नानमा रोलक्रम पाएका १३ अखडामध्ये ७ नागाबाबा, ३ वैष्णवी र ३ उदासिन अखडा हुन्छन । नागाबाबाको शाही स्नान पछि मात्र वैष्णव र उदासिन अखडाले स्नान गर्ने पालो आउछ । नागाबाबा शैव, शिवभक्त हुन । वैष्णवी अखडाले विष्णुको आराधना गर्दछन । उदासिन मत भने वेदान्त दर्शन र ज्ञानमा विश्वास गर्ने अखडा हुन । भारत वर्षमा मुसलमानहरूको आगमन र अतिक्रमण बढ्दै जाँदा कुम्भको रक्षा नागाबाबाहरूले गरेका थिए । तसर्थ, त्यो समयमा नागाबाबाहरूले हिन्दू महाराजाबाट यस्तो अग्राधिकार पाएका थिए । नागाबाबाले धार्मिक सेनाका अतिरिक्त राज्यलाई अप्ठ्यारो पर्दा युद्धमा समेत भाग लिन्थे । सन् १८५८ को कुम्भ मेलामा अंग्रेज फौजसँगको लडाइँमा ७४५ जना नागाबाबा मारिएका थिए । तर पनि नागाबाबाहरूले अंग्रेज फौजलाई कुम्भबाट भगाएका थिए ।
भारतमा साधुहरूका सयौं अखडाहरू छन । साधुहरूको सन्यासी, बैरागी र उदाशी जस्ता अखडा हुन्छन । ती अखडामा छुट्टाछुट्टै सम्प्रदायका छुट्टै संस्कार हुन्छ । साधुहरू नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि हुन्छन । शैव सन्तहरूमा नागाबाबाहरू र दसनामी सम्प्रदायका साधुहरूको छुट्टै संकार हुन्छ । शैव सन्यासी अखडा अन्तर्गतको जुना अखडालाई सन्यासीहरूको महत्वपूर्ण अखडाको रुपमा लिने गरिन्छ । शंकराचार्यले मुसलमानको आक्रमणबाट बच्न स्थापना गरेको नागाबाबा हिन्दु संस्कार भित्रको रजोगुणी फौज मानिन्छ । खरानीलाई सौन्दर्य प्रशाधन मान्ने नागाबाबाहरू वास्तवमै नागा हुन्छन । नागाबाबाले देखाउने चर्तिकला पनि तीर्थाटनका पर्यटकहरूका लागि कौतुहलको विषय बन्दछ । नागाबाबा बन्नको लागि कठोर तपस्या गर्नु पर्दछ । नागा उपासना गर्नु भनेको सांसारिक जीवनबाट पूर्णतया अलग रहनु, इन्द्रियलाई नियन्त्रण गर्नु र सबै प्रकारका कामबासनाको अन्त्य गर्नु हो । त्यसपछि तपस्या, ब्रह्मचर्य, शान्तता, ध्यान, त्याग, धार्मिक अनुशासन र निष्ठा आदिलाई प्रमुख रुपमा ६ बर्ष परीक्षण गरिन्छ । नागा उपासनाको १२ बर्ष पुरा भए पछी श्रीदिगम्बर सचिव पद प्राप्त हुन्छ ।
नागाबाबा कुम्भमा १७ श्रृंगारमा सजिएका हुन्छन । नागाहरूले लंगोटी, भवभूत, चन्दन, खुट्टामा फलाम वा चाँदीको चुरा, औंठी, पञ्चकेश, कम्मरमा फूलको माला, निधारमा रोली टाँसी, कुण्डली, हातमा चिमटा बोकेका हुन्छन । नागाको भेष र श्रृगार देख्दा कुम्भमा तीर्थयात्रीहरू छक्क पर्दछन । शरिरमा विभूति घसेका, कपालको जटा, हातमा डमरु वा कमण्डलु, काडा र तिलक, काजलको श्रृगार भएका नागा पाखुरामा रुद्राक्षको मालाले सजिएका हुन्छन । दिगम्बर नागाहरूले लंगौटी लगाउ छन तर श्रीदिगम्बरले कपडा बिना नै जीवन बाँच्नु पर्छ । श्रीदिगम्बर नागको इन्द्रीय नियन्त्रण गरिएको हुन्छ । नागा साधुहरूको धेरै विशेष संस्कारहरूमा तिनीहरूको कामेन्द्रियहरू भंग हुन्छन । पुरुष मात्रै होइन महिलाहरूले पनि यस्तै कठिन १२ बर्ष त्याग र तपस्या गर्नु पर्दछ । तर महिलाहरूले सामान्य एकसरो कपडा लगाउन पाउने अनुमति हुन्छ । प्रयागराजको जुना अखाडाले महिला नागा साध्वीहरूको सबै व्यवस्थापन गर्ने गरेको छ । त्यसैले नागा साध्वी तथा साधुहरू अत्यन्तै पुजनीय हुन्छन । नागा र अघोरी साधुमा पनि फरक छ । नागाबाबा र अघोरीमा भिन्न साधुको रुप हो । यिनीहरूको भेषभुषा देख्नको लागि उस्तै देखिन्छ । तर, उनीहरूको साधु बन्ने प्रक्रिया र रहनसहन तथा तप साधनामा धेरै अन्तर हुन्छ । नागाबाबा कुम्भमा डुबुल्की गरेर मात्र नागाबाबाको भेष धारण गर्छन भने अघोरीहरू कुम्भमा जाँदैनन ।
पर्यटकहरू प्रयागराजमा गंगा र यमुना नदीको पानीको बहाव देख्दा अचम्म हुन्छ । नदीको उदगमस्थल कहाँ होला ? यति ठूलो नदी कहाँ गएर मिसिन्छ होला ? भन्नेमा पर्यटकहरूमा कौतुहल हुन्छ । गंगा नदी भारतको उत्तराखण्ड राज्यबाट उदगम भएर दक्षिण पूर्वतिर बग्दै बंगालको खाडीमा गएर समुद्रमा मिसिन्छ । गंगा र यमुना दुई नदी किनारमा ठूला शहर बजार र धार्मिक सम्पदाहरू पर्दछन । गगा नदीसँग धेरै पौराणिक कथाहरू जोडिएका छन । गंगा नदीको मुख्य सहायक नदी भागीरथी हो । भागीरथी गोमुख नामको गगोत्री हिमतालबाट उदगम हुन्छ । यो हिमतालमा नन्दा देवी, कामत पर्वत र त्रिशुल पर्वतको जलाधार मिसिन्छ । भागीरथी र अलकनन्दा देव प्रयागमा मिसिएपछि नदीको परिवर्तन भै गंगा नदी बन्दछ । त्यसपछि गगा नदी ऋषिकेश हुँदै हरिद्वारमा पुग्दछ । हरिद्वारबाट गढमुक्तेश्वर, सोरोन फरुखाबाद, कन्नौज, बिठूर, कानपुर हुँदै प्रयागराजमा गंगा र यमुना मिसिन्छ । यमुना नदी गंगा नदीको सबैभन्दा ठूलो र लामो सहायक नदी हो । यमनोत्री हिमनदीबाट यमुना नदीको उदगम हुन्छ । यमुना नदीले हरियाणा, दिल्ली र आघरा हँुदै प्रयागराजमा गंगा नदीमा मिसिन्छ । हिन्दु मिथक अनुसार यमुना सुर्य देवकी पुत्री र यमराजका बहिनी भन्ने गरिन्छ । ताज महल यमुना नदीको किनारामा रहेको छ । केदारनाथ र बद्रीनाथ मन्दिर पनि गंगा र यमुना नदी बिच उत्तराखण्डको पहाडमा पर्दछ । पश्चिम नेपालको भेरी, कर्णाली र महाकाली सबै नदीहरू भारतको घागरामा मिसिन्छ र अयोध्यामा सरयु समेत गंगा नदीमा मिल्दछ । अयोध्यादेखि गंगा नदी प्रायागराज हुँदै बनारसमा पुग्दछ । त्यसपछि नारायणी नदी भारतको सोनापुर नजिक हाजीपुरमा र कोशी नदी भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिसिन्छ ।
कुम्भमेला तीर्थाटन पर्यटकहरूका लागि महान स्नान पर्वको रुपमा लिने गरिन्छ । प्रयागराज बाहेक हरिद्वार, उज्जैन, र नासिकमा पनि प्रत्येक १२ वर्षमा कुम्भमेला लाग्ने गर्दछ । महाकुम्भ मेलाको सांस्कृतिक महत्व गहिरो छ । कुम्भमेलामा लाखौं साधु सन्तहरू, तपस्वीहरू, धार्मिक गुरुहरू र तीर्थाटनका पर्यटकहरू पुग्दछन । नेपाल र भारत बीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको कारण महाकुम्भमा नेपालका विभिन्न धार्मिक संघ÷संस्थाहरूबाट पनि महाकुम्भमा अमृत स्नानमा सहभागी भएका छन । हिन्दू धर्ममा धार्मिक यात्राको विशेष महत्व छ । भारतीय पर्यटकहरू पनि नेपालमा पशुपती, लुम्विनी र स्वर्गद्वारी लगायत विभिन्न स्थानमा तीर्थाटनको लागि प्रत्यक बर्ष लाखौंको सख्यामा आउने गर्दछन ।
पर्यटकहरुलाई कुम्भमेलामा नयाँ अनुभव र अनुभूति हुन्छ । कुम्भमेलामा जाँदा पर्यटकहरूले इलाहाबाद किला, स्वराज भवन, आनन्द भवन, इलाहाबाद उच्च न्यायालय, रानीमहल आल सेण्टस कैथैड्रिल पुग्न समेत खोज्दछन । अर्कोतर्फ तीर्थाटनका लागि हनुमान मन्दिर, शंकर विमान मण्डप, हनुमत निकेतन, सरस्वती कूप, समुद्र कूप, मनकामेश्वर मन्दिर, शिवकुटी र भारद्वाज आश्रम जान सके राम्रो हुन्छ । महाकुम्भमा पुग्नका लागि सडकमार्ग, रेल मार्ग र हवाई मार्ग सबै प्रयोग गर्न सकिन्छ ।
प्रकाशित मिति २०८१ माघ २२, मंगलवार ०६:०७ गते