नेपाल : विश्वको व्यापक भ्रष्टाचार हुने देशको सूचीमा कायमै

नेपाल : विश्वको व्यापक भ्रष्टाचार हुने देशको सूचीमा कायमै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ३० गते बुधबार ०५:४१

नेपालको संविधान २०७२ सालदेखि लागू भई तीन तहको सरकार सञ्चालन भएको पनि करिब आठ वर्ष भैसक्दासमेत नेपालमा भ्रष्टाचार कम गर्नेतर्फ सफलता हासिल हुन नसकेको अध्यक्ष शर्मा बताउनु हुन्छ ।

मापदण्डका अनुसार ० अंक पाउने मुलुकहरूमा अत्याधिक मात्रामा भ्रष्टाचार हुने गर्छ । भने १०० अंक पाउने मुलुक भ्रष्टाचार रहित हुन्छ ।

काठमाडौ– विश्वभरि नै व्यापक भ्रष्टाचार हुने सूचकांक (सीपीआई) मा पर्दै आएको नेपाल यस वर्ष पनि सो सूचिमा कायमै रहेको छ । विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) मा नेपालको अवस्था गत वर्षभन्दा पनि खस्किएको ट्रान्सपरेन्सी इन्टरनेसनलको माघ २९ गते सार्वजनिक प्रतिवेदनले पुष्टि गरेको हो ।
१८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार मापन सम्बन्धि मापदण्डका अनुसार ० अंक पाउने मुलुकहरूमा अत्याधिक मात्रामा भ्रष्टाचार हुने गर्छ । भने १०० अंक पाउने मुलुक भ्रष्टाचार रहित हुन्छ ।
सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । गत वर्ष नेपाल ३५ अंकसहित १०८ औं स्थानमा थियो । यस वर्ष ३४ अंकसहित १०७ आंै स्थानमा परेको सो प्रतिवेदनमा उल्लेख छ । सो सूचि सार्वजनिक भएसँगै सरकार लाज छोप्ने कहिले ? भन्ने प्रश्न समेत फेरि उठेको दुर्भाग्यपूर्ण ! स्थिति उजागर भएको छ । विगतदेखि भ्रष्टाचार व्यापक हुने सूचीमा रहेको नेपालले त्यसलाई सुधार गर्नुको साटो झन्झन् तल झर्दै जानुले अत्यधिक चिन्ताजनक रहेको सो प्रतिवेदनले देखाएको छ । नेपालको अवस्था सुधारोन्मुख नभएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताउनु भयो । उहाँका अनुसार २÷३ अंक सुधार हुनुलाई पनि सामान्य मानिन्छ । उहाँले भन्नुभयो, ‘यसले भ्रष्टाचार नियन्त्रणका लागि नेपाल व्यापक सुधार गर्नुपर्ने खाँचो देखाएको छ ।’
भ्रष्टाचार नियन्त्रणसम्बन्धी संस्थाहरू पर्याप्त क्रियाशील नभएको र सुधारका लागि संघर्ष गर्नुपर्ने देखिएको अध्यक्ष शर्माको उल्लेख गनुृ भयो । उहाँका अनुसार स्वार्थको द्वन्द्व, सुराकी संरक्षण अन्तर्राष्ट्रिय संगठित अपराध, कसुरजन्य सम्पत्ति, पीडित, साक्षी तथा विशेषज्ञको संरक्षण आदिका कानुनहरू बन्न नसक्नुले भ्रष्टाचारले प्रश्रय पाइरहेको छ । उहाँले भन्नुभयो, ‘मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका भ्रष्टाचारविरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता देखाएको छैन ।’ भ्रष्टाचारसम्बन्धी सूचकांकमा नेपालको स्थान झन्झन् कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपालका अध्यक्ष शर्माले भ्रष्टाचार, अवैध सम्पत्तिको व्यापक चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगेकोमा बारम्बार ध्यानाकर्षण ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
राजनीतिक क्षेत्रको सदाचारप्रतिको प्रतिबद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यावसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न जरुरी देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष शर्माको सुझाव छ ।
नेपालको संविधान २०७२ सालदेखि लागू भई तीन तहको सरकार सञ्चालन भएको पनि करिब आठ वर्ष भैसक्दासमेत नेपालमा भ्रष्टाचार कम गर्नेतर्फ सफलता हासिल हुन नसकेको अध्यक्ष शर्मा बताउनु हुन्छ । उहाँले भन्नु भयो, ‘यस स्थितिमा सुधार ल्याउन अत्यावश्यक भैसकेको छ, जसका लागि राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यावसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न जरुरी देखिन्छ ।’
५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरूलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रूपमा चित्रण गर्ने गरेको ट्रान्सपरेन्सील जनाएको छ । सो संस्थाका अनुसार ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरू गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । विश्वका दुई तिहाइ देशहरूले एक सयमा ५० भन्दा कम अंक प्राप्त गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सो प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) समेत गरी ६ वटा संस्थाको सर्वेक्षणका आधारमा तयार गरिएको हो । बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले आफैं सर्वेक्षण नगरी विभिन्न संस्थाको अध्ययनलाई आधार मान्ने गर्छ । भ्रष्टाचार, सुशासन र घुसखोरीसम्बन्धी सर्वेक्षण तथा प्रश्नावलीको विश्लेषण गरेर भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक हुने ट्रान्सपरेन्सी इन्टरनेसनलले जानकारी दिएको छ । भ्रष्टाचारको अवस्था मापन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालका विभिन्न ६ वटा क्षेत्रमा अन्य विभिन्न संस्थाले गरेको सर्वेक्षणलाई आधार मानेको थियो ।
नेपालमा पनि भ्रष्टाचार हुने दर बढ्दै गएको अध्ययनले देखाएको छ । यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार सार्क मुलुकमध्ये नेपाल पाँचौं स्थानमा छ । भारत, माल्दिभ्स र भुटानमा भन्दा नेपालमा बढी भ्रष्टाचार हुने गरेको पाइएको छ ।
सार्कमा भुटान अब्बल :
दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा कम भ्रष्टाचार हुनेमा भुटान छ । भुटानले भ्रष्टाचार नियन्त्रणमा युगान्तकारी सुधार गरेको छ । विश्वकै १८औं स्थानमा छ । उसले ७२ अंक प्राप्त गरेको छ । अघिल्लो वर्षभन्दा पनि धेरै सुधार गरेको छ । सीपीआई २०२३ मा भुटान ६८ अंकसहित २६औं स्थानमा थियो। भुटानले छोटो समयमा नै यो क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । सुशासन, गरिबी नियन्त्रण, विकेन्द्रीकरण, भ्रष्टाचार नियन्त्रणका संरचना बनाएर भुटानले आफूलाई सुधार गरेको देखिएको छ ।
दक्षिण एसियामा भारत र माल्दिभ्स कम भ्रष्टाचार हुने दोस्रो स्थानमा छन्। दुवै मुलुक ३८ अंक प्राप्त गरी ९६औं स्थानमा छन् । तर, पनि दुवै मुलुक भ्रष्टाचार व्याप्त हुने सूचीमै छन् । भारत र माल्दिभ्सको पनि गत वर्षको भन्दा १ अंक र ३ स्थान घटेको छ । अघिल्लो वर्ष भारत र माल्दिभ्स ३९ अंकसहित (९३औं) स्थानमा थिए। नेपाल ३४ अंकसहित १०७ औं, श्रीलंका ३२ अंकसहित १२१ औं, पाकिस्तान २ अंकसहित १३५ औं, बंगलादेश २३ अंकसहित १५१, अफगानिस्तान १७ अंकसहित १७५ स्थानमा छन् । छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१२ मा नेपालको कुल अंक २७ थियो । त्यतिबेला नेपाल १३९औं स्थानमा थियो । २०१३ मा ३१ अंक प्राप्त गरी ११६औं स्थानमा रहेको थियो । त्यस्तै, सन् २०१४ मा २९ अंक प्राप्त गरी १२६औं र २०१५ मा २७ अंक प्राप्त गरी १३०औं स्थानमा रहेको थियो ।
त्यस्तै, सन् २०१६ मा २९ अंकसहित १३१औं, २०१७ मा ३१ अंकसहित १२२औं स्थान, २०१८ मा ३१ अंकसहित १२४औं स्थानमा परेको थियो । त्यस्तै, २०१९ मा ३४ अंकसहित ११३औं, सन् २०२० मा ३३ अंकसहित ११७औं, २०२१ मा ३३ अंकसहित ११७औं, २०२२ मा ३४ अंकसहित ११०औं, २०२३ मा ३५ अंकसहित १०८औं स्थान र २०२४ मा ३४ अंकसहित १०७ औं स्थानमा रहेको उल्लेख छ ।
सर्वेक्षण गरिएका १ सय ८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ । विगत पाँच वर्षमा १ सय ८० देशमध्ये ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेको पनि सो प्रतिवेदनले देखाएको छ ।
सबैभन्दा कम भ्रष्टाचार हुनेमा डेनमार्क :
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुनेमा युरोपियन मुलुक डेनमार्क छ। जसले ९० अंक प्राप्त गरेको छ। १८० देश सम्मिलित सूचकांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ। कानुनी शासनको उदाहरणीय मानिने फिनल्यान्ड ८८ अंक साथ कम भ्रष्टाचार हुने दोस्रो मुलुकमा परेको छ। यो पनि युरोपियन मुलुक हो ।
एसियाको सिंगापुरले भ्रष्टाचार नियन्त्रण र सुशासनमा ठूलो सुधार गरेको छ। सिंगापुरले ८४ अंक प्राप्त गरी तेस्रो कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । सन २०२३ मा सिंगापुर ५औं स्थानमा थियो। न्युजिल्यान्ड ८३ अंकसहित चौथो र युरोपकै लम्जेम्बर्ग, नर्वे, स्विट्जरल्यान्ड ८१ अंकसहित पाँचौं स्थानमा छन् । स्विडेन ८० अंकसहित आठौं, नेदरल्यान्ड नवौं र अस्ट्रेलिया १० औं स्थानमा छन्। कानुनी शासन भएको मुलुकमा कम भ्रष्टाचार भएको देखिएको छ ।
सबैभन्दा बढी भ्रष्टाचार हुनेमा दक्षिण सुडान :
विश्वमा सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ। उसले १०० मा ८ अंक मात्रै पाएको छ। यस्तै, सोमालिया दोस्रो धेरै भ्रष्टाचार हुने मुलुकमा पर्छ। उसले ९ अंकसहित १ सय ७९ स्थान प्राप्त गरेको छ। यी दुवै अफ्रिकन मुलुक हुन्। दक्षिण अमेरिकाको भेनेज्युएला सबैभन्दा धेरै भ्रष्टाचार हुने तेस्रो मुलुकमा परेको छ। जसले १० अंकसहित १७८ औं मुलुक भएको छ । मध्यपूर्वका सिरिया, यमन, लिबिया पनि अति भ्रष्टाचार हुने मुलुकमा परेका छन् ।

प्रकाशित मिति २०८१ माघ ३०, बुधबार १७:४१ गते
हजुरको प्रतिक्रिया