बेसीशहर– लमजुङ जिल्ला सदरमुकाममा रहेको कालिका सहकारीको बहुचर्चित ठगी काण्डका पीडितहरूको आज फागुन ४ गते थप अर्थात यसअघि वयानका लागि अनुपस्थित भएकाहरूको बयान लिइने भएको छ । तर केही पीडितले आफूलाई त्यसबारेमा केही जानकारी नभएको बताएका छन् ।
कालिका सहकारीको लमजुङ जिल्ला अदालतमा चलेको बहुचर्चित ठगी काण्डका पीडक सञ्चालकहरूले चालेका तिक्डमबाट नतर्सेका ८७ जना पीडितहरूले उनीहरूका विरुद्ध उजुरी दिएका थिए । तीमध्ये यसअघि करिब २४ जनाको मात्र बयान भएको छ । त्यसो त पीडकहरूको बयान बाँकी रहेका पीडितहरूलाई अदालत जाने बाटो छेक्ने प्रयास जारी रहेको समेत स्रोत बताउँछ । पीडितमध्येकी एक नानुमाया पराजुली जो पहिलो पटक पनि छुट्नु भएको थियो भने उहाँलाई यो पटक ऐले बिहानसम्म पनि कुनै खबर नै नगरेको उहाँले बताउनु भएको छ । यस घट्नाबाट प्रहरी र जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई समेत पीडितले प्रभावमा पारिरहेको बुझ्न किठन हुँदैन भन्ने पीडितहरूको दावी छ ।
ठग्ने साढे छ करोड, एक करोड ८० लाख तिरेर उन्मुक्तिको हाँस्यास्पद प्रयास :
कालिका साकोसको बहुचर्चित ठगी काण्डमा साढे छ करोड रुपैयाँ ठगी(अपचलन)को मुद्दा जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट जिल्ला अदालत लमजुङमा दर्ता भई विचाराधिन रहेको छ । तर, त्यसमा उजुरकर्ता पीडितको रकम एक करोड ८० लाख रुपैया मात्र रहेको र सो रकम तिरेको मेलमिलाप गरी आफूहरू उम्कने पीडितहरूबाट डंका पटिएको धेरै भइसकेको छ । त्यो रकममध्ये पनि कति पीडितले आजका दिनमा पनि ‘थारो चेक’ सुम्सुम्याउँदै बस्न बाध्य भएका छन् भने पीडकहरू ठूलो लडाइँ जितेको ठान्दै आत्मरतिमा रम्ने काम गरेका छन् ।
चिजाकाशी घलेलाई गत जेठमा मंसिर ३ गतेको मिति राखेर भिडाइएको दुई लाख ४० हजारको चेक त्यो मितिमा साटिएन । त्यसपछि त्यो चेक फिर्ता लिएर गत माघ ३ गतेको मितिको चेक दिइएको थियो तर त्यो चेक पनि आजका मितिसम्म नसाटिएको पीडित घलेको गुनासो छ ।
त्यस्तै सो सहकारीमा सबैभन्दा ठूलो रकम फसाएर पीडित हुनु भएकी तैमाया गुरुङलाई गत माघ ३ गतेको मितिमा साट्ने गरी दिइएको चार लाख चालिस हजारको चेक पनि आजका दिनसम्म साटिन सकेको छैन । उता, गंगा घले, विष्णुप्रसाद अधिकारीको गत मंसिर २४ गतेको मितिका लागि साट्न दिइएको चेकको चौथाई जति रकम भुक्तानी दिए पनि बाँकी रकमका बारेमा कुनै चासो नदेखाएको उहाँहरूको गुनासो छ । तर पीडकहरूका पछिल्ला रबैयाले त्यस्तो भान गराउन थालेको हो ।
यस प्रकार निर्दोष मानिसलाई पनि फसाउन दुस्साहस गर्ने, अनि अब ‘मुद्दा मिलापत्र हुन्छ’ भन्दै डुक्रनु, ती विचरा(पछि पोलिएका २६ जना)बाट समेत अदालतले मागेको कथित अढाई लाख धरौटी समेत देखाएर मिलापत्र भएको हप्ता दिनमा त्यो धरौटी फिर्ता आउँछ र त्यो रकम पाएपछि तिर्छौं भन्दै मुद्दाको चापबाट उम्कन प्रयासमा पीडकहरू लागेको देखिएको छ । त्यो भन्दा नालायकीपन दोस्रो के हुन सक्छ ? भन्ने जानकारहरूले बताएका छन् ।
पीडितहरू आफै बोल्न नसक्ने र उनीहरूको पक्षमा बोली दिने दह्रो, न्यायप्रेमी व्यक्ति जिल्लामा नभएको र भएकालाई पनि अनेक जालझेल, षडयन्त्र गरी उनीहरूको मुखमा बुजो कोच्न गरिएको विविध षडयन्त्र(प्रयास)का कारणले थप पीडितहरूले चाहेर पनि उजुर दिन जागर नचलाएको स्थिति छ ।
तथापि जिल्ला अदालतले सबै पीडकहरूसँग धरौटी माग गरेर सो रकम लिई तारेखमा छाडेको र उनीहरू विरुद्धको मुद्दाको टुंगो लाग्न बाँकी नै छ । सो ठगी काण्डका महानायक भनेर चिनिने एकीकृत कालिका साकोसका तत्कालिन प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया, तत्कालीन कर्पुरेश्वर साकोसका अध्यक्ष तथा तीन सहकारी एकीकृत भएपछिका कोषाध्यक्ष र हालका सञ्चालक सदस्य मिलन दनाई जो जनही १२ लाख धरौटी राखेर तारेख धाइरहेका छन् लगायतको चलखेल तथा दौडधुुपले पीडितहरूका लागि न्याय दुरुह बन्दै गएको प्रतीत भएको स्रोतको दावी छ ।
कतिपय पीडित आजका दिनमा पनि थारो चेक सुम्सुम्याउँदै बस्न बाध्य :
कतिपय पीडित आजका दिनमा पनि थारो चेक सुम्सुम्याउँदै बस्न बाध्य छन् । त्यसो त कुनै दिन ‘थारो चेक’ भिडाएर पीडितहरूलाई थन्क्याउने र मुद्दाबाट उम्कने दाउमा जुटेका पीडकहरू यतिबेला भने आधाभन्दा बढी रकम दिएर भने पनि बाँकीको चेक दिदै बोल्न सक्ने जतिलाई थन्क्याउने धन्दामा जुटेको पाइन्छ । यद्यपि, ठूलो रकम बक्यौता रहेर सारा पीडितहरूको न्यायका लागि पहिलो उजुरकर्ता बनेर पीडितका पक्षमा पाइला चाल्ने तैमाया गुरुङ भने अझै पीडित भइरहेको बुझिएको छ ।
त्यसो त तैमायाको बचत र शेयर रकम फिर्ता नगर्दासम्म अदालतमा दर्ता भएको उक्त मुद्दा पीडकहरूले सोचेझैं सहजै मिलापत्रमा टुंगिन सक्ने नदेखिएको जानकारहरू बताउँछन् । तर पनि तैमायालाई गलाउनका लागि सुरुदेखि पीडकहरूले विछ्याएका षडयन्त्र रुपि जालहरू अझै च्यातिन सकेका छैनन् । उसो त त्यस्ता सबै खाले जालहरूलाई च्यात्न÷काट्न सफल हुँदै आउनु भएकी तैमायाले भोलिका दिनमा चाल्ने कदम के कस्ता हुने हुन् केही समय अर्झै पर्खनु गर्ने स्थिति छ ।
सो सहकारी एकीकरणको गर्दाका सञ्चालकहरूको नियत नै ठीक नदेखिएको हुँदा त्यसबारेमा अदालतको आदेश आउनै पर्छ भन्ने तत्कालीन पीडितहरूको भनाइ छ । उनीहरू भन्दछन्, ‘वर्तमानको मन्दि अवस्थामा कर्पुरेश्वर सहकारीका नाउँमा २६ लाख रुपैयाँमा किनिएको भनिएको घडेरी तीन सहकारी एकीकरण गर्दा कायम गरिएको त्यस घडेरीको ५४ लाख रुपैयाँको विगो कायम गर्नु नै ठगी खाने धन्दाको जड हो भन्ने कतिपयको मत छ । यस्ता कार्यमा कैफियतपूर्ण करामत गरी पीडकहरूको नियत खराब देखिन आएको हुँदा यस्ता विषयमा अदालतले निर्णय गर्नु पर्छ ।’
अर्कोतिर सो सहकारीका तत्कालीन सेयर सदस्यहरू नवराज पहाडी, नानुमाया पराजुलीले मुद्दा परेपछि पनि आफ्नो सेयर रकम सतप्रतिशत फिर्ता पाएको स्थिति छ भने अन्य सेयर सदस्यले पति त्यसरी आफ्नो सेयर रकम फिर्ता किन नपाउने ? भन्ने थप प्रश्न पनि उठीरहेको छ । सो सहकारीमा राखेको बचत रकम मात्र फिर्ता लिएर बसेका सेयर सदस्यहरूले आफ्नो सेयर रकम पनि फिर्ता माग्न पुरक उजुरी गरे भने आश्चर्य हुनेछैन । ती पीडितहरू भन्छन्, ‘उही कारोबारमा कसैको सेयर रकम फिर्र्ता गर्न माग गरेको उजुरी लिने र रकमसमेत फिर्ता पाउने, कसैले त्यस्तो बेहोरा उजुरीमा लेखेर लग्दा काट्न लगाई ‘बचतमात्र माग गर्नु’ भन्ने उजुरीको बेहोरा लेख्न लगाउने प्रहरीको बदनियतपूर्ण व्यवहारबाट पनि प्रहरीले पीडकको पक्ष पोषण गर्ने गरेको प्रष्टिन आएको छ ।’
प्रकाशित मिति २०८१ फाल्गुन ४, आईतवार १०:४० गते