प्रधानमन्त्री र सांसद बीचको प्रश्नोत्तर औचित्यहीन बन्ने संकेत

प्रधानमन्त्री र सांसद बीचको प्रश्नोत्तर औचित्यहीन बन्ने संकेत

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ४ गते आईतबार ०७:४६

सांसद साहलाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो, ‘म म्यानपावर कम्पनीको मान्छे हो ?’

प्रधानमन्त्रीबाट सांसद प्रभु साहले पाउनु भएका आठ प्रश्न जवाफ

काठमाडौं– प्रधानमन्त्री र सांसद बीचको प्रश्नोत्तर औचित्यहीन बन्ने संकेत देखिएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तरको कार्यसूची अनुसार सांसद प्रभु साहले सोध्नु भएका प्रश्नको सिधा जवाफ नदिई प्रधानमन्त्रीबाट प्रतिप्रश्न गर्ने र खिल्ली उडाउने काम भएबाट सो कार्यक्रमको औचित्यहीन बन्ने संकेत फागुन ४ गते देखिएको हो ।
आज नियमित कार्यसूची थियो । कार्यक्रम अनुसार वर्णानुक्रममा नाम परेका सांसदहरूले अगाडि नै प्रश्न पठाउने र प्रधानमन्त्रीले उत्तरको तयारी गरेर आउने प्रचलन छ ।
प्रधानमन्त्री ओलीले १० जना सांसदहरूको प्रश्नको जबाफ दिने कार्यसूची तय भएको थियो । नौ जनासँग सांसदको पालासम्म राम्रै प्रश्नोत्तर चल्यो । प्रधानमन्त्री ओलीले आफ्नो स्वाभाविक लय समात्दै उत्तर दिए । भलै त्यसमा केही छेडखानी, व्यंग्य पनि मिसिएकै थिए ।
सांसद साहका प्रश्न सुनेर प्रधानमन्त्री एकाएक झोक्किनु भयो । रिसाएर प्रधानमन्त्री ओलीले प्रश्नको जबाफ दिन जरुरी ठान्नृु भएन भने केही प्रश्नको ‘ओठे जबाफ’ फर्काउनु भएको थियो ।
तर केही बेर मौन रहनु भएका प्रधानमन्त्री ओलीले अन्तिममा ‘धन्यवाद छ उहाँलाई’ भन्दै प्रश्नोत्तर नै बिट मार्दै सबैलाई चकित पार्नुभयो ।
आजको बैठकमा अन्तिम प्रश्न गर्ने पालो थियो, आम जनता पार्टीका अध्यक्षसमेत रहनु भएका सांसद प्रभु साहको । २०७९ को प्रतिनिधि सभा निर्वाचनअगाडि मात्रै नेकपा (एमाले) परित्याग गरेर भिन्न पार्टी साहले स्थापना गर्नु भएको हो ।
सांसद साहले प्रधानमन्त्रीलाई सोध्नु भएका प्रश्नहरू ः
पहिलो ः नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अवैध सम्पत्तिहरूलाई राज्यको स्वामित्वमा ल्याउन तपाईंले के–के गर्नुभयो ? खुलेआम हुण्डीबाट ती अवैध सम्पत्तिहरू विदेश लैजाँदा रोक्न नसकने तपाईंलाई हामी सक्षम भन्ने कि असक्षम ? प्रधानमन्त्रीज्यू ! ती अवैध सम्पत्तिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ?
दोस्रो ः झण्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम–सम्झौताअनुसार प्रत्येक वर्ष झण्डै ४० खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३– १४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ, हाम्रा नेपाली युवाले विदेशमा खुन– पसिना बगाएर कमाएको पैसा हुण्डीमार्फत् खुलेआम कालो धनसँग मिलान भइराख्दा तपाईं किन मौन बस्नु भयो ? नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साट्नलाई विदेशमा मरिरहेका छन् ? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन ?
तेस्रो ः वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफनो ट्रेड युनियनको हक पाएका छैनन् । किन ट्रेड युनियनको हक न पाउने गरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१ औं शताब्दीमा नेपाली मजदुरलाई दासताको नारकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनु भएको हो ?
चौथो प्रश्न थियो ः नेपालमा जिडिपी र राजस्वको अनुपात हेर्दा सरकारले जिडिपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ । ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जिडिपी ३० प्रतिशत हुन आउँछ । यसलाई कर आतंक नभन्ने त के भन्ने प्रधानमन्त्रीज्यू ? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ ?
पाचौं ः तपाईंले सार्वजनिक रूपमा भारत भ्रमण जाँदैछु भन्नुभएको थियो । त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआई किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ?
छैटौं ः यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो । तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन? सत्ता सहयात्रामा रहेका दलले नै अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नुहुन्छ ?
सातौं ः संघीय राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त छन् । तर प्रधानमन्त्रीजीले चारैतिर विकासको चकाचौध मात्र देख्नु हुन्छ। यदी त्यसो हो भने, ती राजमार्गहरुमा तपाई आफै किन यात्रा गर्नुहुन्न ? त्यहाँ, लगातार भइरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?
आठौं ः आवासविहीनहरूलाई घर बनाउन ’सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ? प्रधानमन्त्री जी यसको जवाफ दिनूस् । धन्यवाद ! .
साहका यी प्रश्नहरू धैर्यपूर्वक सुन्नु भएका प्रधानमन्त्री ओलीले अनुहारको भावभंगिमा खासै परिवर्तन देखिएन । तर उत्तर दिने बेलामा भने पूरै बदलिएर उहाँ पुरै झोक्किने काम गर्नु भयो ।
प्रधानमन्त्रीले ‘उहाँका प्रश्नहरू … उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन् ।’ प्रधानमन्त्रीको भनाई खस्न नपाउँदै सांसदको लहरबाट गडगडाहट ताली छुट्यो । ताली बजाउने सत्ता पक्षका त्यसमा पनि एमालका सांसद बढी थिए ।
उहाँले संसद्जस्तो गरिमामय ठाउँमा यति, यस्तोवाला भाषा, कि तपाईंलाई के लाभ भयो ? विदेश युवा पठाएर जस्ता भाषा भन्दै पुनः आक्रोश पोख्दै थप क्षुब्ध देखिनु भयो । प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो, ‘म म्यानपावर कम्पनीको मान्छे हो ?’
‘उहाँले … माननीयजीले गर्नुभएको प्रश्नमा जबाफ दिइरहनु पर्ने छैन । ती सबैको उत्तर आफैले बोकेर आउनुभएको छ । त्यसकारण मैले धेरै उत्तर दिइरहन परेन । उहाँलाई धन्यवाद छ,’ यति भनेर प्रधानमन्त्रीले आफ्नो भनाइ बिट मार्नु भएको थियो ।
यसैगरी, पूर्वमन्त्री एवम् माओवादी सांसद वर्षमान पुनको जवाफमा प्रधानमन्त्रीले आफ्नै पार्टी फुटाउन २० वा २० प्रतिशतको व्यवस्था गरी अध्यादेश ल्याइएको होइन र ? भन्दै प्रश्न गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन आग्रह गर्दै भन्नुभयो, ‘मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश ल्याएको होइन ?’
प्रधानमन्त्री ओलीलाई आजको बैठकमा सांसदहरू प्रकाश ज्वाला, डा. प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतीक्षा तिवारी, प्रभु हजारा, प्रेमबहादुर आले, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वर्षमान पुन र प्रभु साहले प्रश्न सोध्नु भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन ४, आईतवार १९:४६ गते
हजुरको प्रतिक्रिया