
तान्द्राङ टक्सार(लमजुङ)– नेपाली मौलिक संस्कृतिकोरूपमा रहेको पछिल्ला बर्षहरूमा सुन्न छाडिएको मीत/मीतिनि लगाउने कार्यले निरन्तरता पाएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रममा १३ जोडीले एक साथ मीत।मीतिनी लगाउने कार्य फागुन १३ गते गरे सँगै यस्तो पुष्ठि भएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका– २ को तान्द्राङटक्सारमा आयोजना गरिएको पात बजाउने दास्रो खुला प्रतियोगिता, सम्मान एवम् कवि गोष्ठीका अवसरमा मीत लगाउने काम असम, भारतबाट सो कार्यक्रममा भाग लिन आएका नेपाली संस्कृति सुरक्षा परिषद्मा आवद्ध पदाधिकारी एवं संस्कृतिकर्मी र आयोजक ठाडोभाका लोककला प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूका बीच गरिएको हो । नेपाली संस्कृति सुरक्षा परिषद असमका अध्यक्ष एलवि प्रधानको नेतृत्वमा १३ सदस्यीय टोली चार दिवसीय लोक संस्कृती एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रामा आयोजक प्रतिष्ठानको निमन्त्रणामा नेपाल आएको हो । पदयात्राको तेस्रो दिन आयोजित विषेश कार्यक्रममा मीत लगाउने काम गरिएको हो ।
नेपालको मौलिक संस्कृतिको रुपमा रहेको मीत लगाउने परम्परा भुलिदै गएकोमा दुई मित्र राष्ट्रका नेपाली संस्कृतिका अभियन्ताहरुका बीचमा मीत तथा मितिनी लगाउने काम भएको हो । हितको मीत भनिन्छ, वैदिक सनातन संस्कृतिमा मीत लगाउने कार्य परापूर्वकालदेखि चलिआएको थियोे भन्ने स्वस्थानी व्रत कथामा समेत त्यो पूजामा तयार गरेको नैवेद्य आफ्नो छोरा नभए मीत छोरालाई दिनु भन्ने कथनले समेत पुष्टि गरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा हराउदै गएको यो संस्कृतिलाई बचाउन औपचारिक कार्यक्रममा मीत मितिनी लगाउने कार्य गरिएको हो ।
दोहोरो संस्कृति आदानप्रदान गर्ने र थप उन्नयन गर्ने उद्देश्यले मितेरी पदयात्रा गरिएको हो नेपाली संस्कृति सुरक्षा परिषद, असमका अध्यक्ष एलवि प्रधानले बताउनु भयो । उहाँका अनुसार यो कार्यले हामी दुई देश बिच संस्कृति बुझ्न र थप प्रगाड बनाउन मद्दत मिल्ने आशा जागृत भएको छ ।
नयाँ पंढीलाई यो प्रथा सिकाउनका लागि यो कार्य पनि संस्कृति संरक्षण र प्रवद्र्धनको एक कडीका रुपमा हामीले लिएका छौं । हितको मित भनिन्छ यसको अर्थ उ भन्दा नजिकको अर्को कुनै साथी छैन भन्ने हो आयोजक प्रतिष्ठानका ८४ वर्षीय वरिष्ठ सदस्य अमरध्वज गुरुङले बताउनु भयो । उहाँले असम टोलीको नेतृत्वकर्ता एलवि प्रधानसंग मीत लगाउनु भएको छ । मितको तीन पुस्तासम्म बिहेवारीसमेत चल्दैन भन्ने प्रतिष्ठानका वरिष्ठ आजिवन सदस्य मिन बहादुर तामाङले बताउनु भयो । नेपाली संस्कृति सुरक्षा परिषद असमका महासचिव विरेन्द्र राणाले यो अभियानलाई आँफुहरूले सार्क राष्ट्र स्तरको बनाउने तयारी गरिरहेको जानकारी दिनु भयो ।
सो अवसरमा परिषदका का. अध्यक्ष मोतिकुमार नेवारले आयोजक संस्थाका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुसंग, परिषदका महासचिव वीरेन्द्र राणाले प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीसँग मीत लगाउनु भयो ।
त्यस्तै परिषदको भगिनी संस्था आमा मञ्चका अध्यक्ष डा दैवकीदेवी तिमसिनाले प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य तैमाया गुरुङसँग, मध्यनेपाल नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर थापाले पुरोहित सम्मेलन, असमका महासचिव फडिन्द्र गौतमसँग मितेरी लगाउनु भएको थिए । आमा मञ्चका महासचिव द्वय दिपा कट्टेल र सरस्वती पौडेलले क्रमशः प्रतिष्ठानका कार्यकारी सदस्यद्वय देउकुमारी गुरुङ र सुधा ढकालसंग मितिनी लगाएको प्रतिष्ठानका उपमहासचिव आशबहादुर विकले बताउनुभयो । उहाँका अनुसार वरिष्ठ लोकगाियका एवम् प्रतिष्ठानका सल्लाहकार हरिदेवी कोइरालाले आमामञ्चका शोणितपुर जिल्ला अध्यक्ष मीना खनालका साथमा मितिनी लगाउनु भयो भने असमको युवा नेपाली संस्कृति सुरक्षा परिषद असम सम्मेलनका उपसभापति सचिन मगरसँग वालविकास मावि टक्सारका शिक्षक शिव खनालले, त्यस्तै जिन्यूज २४ का प्रतिनिधि राजन अधिकारीका साथ कवि विजयरञ्जन पौडेल (भोर्लेटार)ले मीत लगाउनु भएको छ । यसैगरी, का अध्यक्ष तुलसा प्रधानले सहकोषाध्यक्ष छलीमाया दुरा (ठाडोभाकाका सर्जक देउबहादुर दुराकी बुहारी)सँग, प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरासँग आमामञ्चका अर्का का. अध्यक्ष रेणु गौतमले मितिनी लगाउने काम गर्नुभएको थियो । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री एवम् प्रतिष्ठानका सल्लाहकार भेषबहादुर पौडेलले उद्घाटन गर्नु भएको कार्यक्रममा उहाँले संस्कार संस्कृति पहिचानका अभिन्न अङ्ग हुन्, यसको संरक्षण र प्रवद्र्धनका कार्य गर्नु जरूरी छ भन्नुभयो, उहाँले ठाडोभाका लोककला प्रतिष्ठानले यो कार्य गरेकोमा प्रतिष्ठानसँग आवद्ध सबै बधाइका पात्र हुनुहुन्छ । दुई देशका बिचमा भएको यो कार्यक्रमले थप प्रभावकारिता पाउने उल्लेख गर्नुभयो । सो अवसरमा गण्डकी प्रदेशका सांसद टिका वस्यालले असमका दिदिबहिनीहरू साडीमा सजिएर कार्यक्रममा सहभागि हुनुभएको देखेर गर्व लागेको बताउनु भयो । मितेरी लगाउने हराउँदै गएको प्रचलन यो कार्यक्रममा देख्दा आँफु उत्साहित भएको बताउँदै आँफुले व्यक्तिगत रूपमा मित लगाउने अवसर नपाए पनि कार्यक्रममा सहभागि सबै मेरो मीत।मीतिनी हुनुहुन्छ भन्नुहुँदा दर्शकदिर्घाबाट तालिको गडगडाहटले हल गुञ्जायमान भएको थियो ।
सो अवसरमा अमन्त्रित परिषद्का अध्यक्ष एलवि प्रधानले सारगर्भित संक्षिप्त मन्त्व्यमा सन् २०२२ को बडादशैंका अवसरमा असममा आयोजित एक कार्यक्रम ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष पहाडीजीको प्रमुख आतिथ्यतामा गरेको स्मरण गर्दै त्यो बेला भएको चिनजन र त्यसपछिका निरन्तर संवादले यो अवसर जुटेको हो भन्नुभयो । अब यसरी यहाँहरूलाई असममा बोलाउने छौं, कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेल र सांसद वस्याललाई अहिलेनै निमन्त्रणा गर्न चाहन्छौं भन्नुभयो । उहाँले यो पदयात्राबाट हामी नेपालीहरू संस्कुतिका क्षेत्रमा कति धनी रहेछौं भन्ने जान्ने अवसर समेत उपलब्ध भएको उल्लेख गर्नुभयो । सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको थियोे । उहाँले सुदामाको घरमा भगवाण कृष्ण पदार्पण गरेजस्तै अनुभुति भएको बताउदैँ यो यात्रालाई सफल बनाउन सहयोग गर्ने पाहुँना टोली लगायत विभिन्न संघ संस्था प्रति आफ्नो प्रतिष्ठान र आँफु कृतज्ञ रहेको बताउनु भयो । उहाँले लोकसंस्कृति र लोकसाहित्यको उत्थानमा भारत सरकारले जसरी त्यहा रहेका संस्थाहरूलाई सहयोग गरेको छ, नेपालमा त्यस्तो कार्यको अभाव रहेको उल्लेख गर्नु भयो । उहाँले यस क्षेत्रमा रहेको दिव्य शक्तिरूपा भाता जल्पादेवीको प्रचार प्रसार गर्न र मन्दिरको पुनःनिर्माण कार्यका लागि वातावरण बनाउन संस्थागत र पेशागतरूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानिय बालविकास माविको कक्षा ३,४ र ५ मा पढ्ने मध्ये एक जनालाई सो विद्यालय पढ्दा सम्म विद्यालयमा लाग्ने खाजा खर्च बाहेक सबै व्यहोर्ने गरि आउँदो शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गरिने बताउनु भयो । सो अवसरमा प्रा.डा कुसुमाकर न्यौपानेलाई ठाडोभाका– दुर्गा स्मृति पुरस्कारबाट र प्रतिष्ठानका अग्रज जेयष्ठ सदस्य अमरध्वज गुरूङलाई ठाडोभाका जगतमाया अधिकारी स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
यसैगरी, प्रा.डा न्यौपाने, डा. दैवकीदेवी तिमसिनाले नेपाली संस्कृति सुरक्षा परिषद असमको छोटो इतिवृष्टि साथमा संस्कृति विश्ववारा विषयमा तथा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोक संस्कृति, लोक साहित्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अन्त्यमा सात बुँदे लोकसंस्कृति एवं लोकसाहित्य पर्यटन मितेरी पदयात्राको घोषणपत्र समेत जारी गरिएको प्रतिष्ठानका उपाध्यक्ष सितादेवी दुराले बताउनु भयो ।
दुवै देशका राष्ट्र गानबाट सुरु गरिएको सो कार्यक्रमका अवसरमा उपाध्यक्ष सितादेवी दुरा र उपमहासचिव आश विकको टोलीले ठाडोभाकाबाट र बरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कविताबाट अतिथिहरुलाई स्वागत गर्ने काम गरिएको थियोे ।
प्रकाशित मिति २०८१ फाल्गुन १४, बुधबार २०:४२ गते