
तान्द्राङ टक्सार (लमजुङ)– लमजुङमा भारतको असम प्रान्तमा नाचका साथ गाइने बिहु गीज गुञ्जायमान भएको छ । गोरखादेखि लमजुङसम्म सञ्चालन गरिएको चारदिने लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्राका क्रममा लमजुङको मध्यनेपाल नगरपालिका– २ को तान्द्राङटक्सारमा आयोजित औपचारिक कार्यक्रममा सो गीत फागुन १३ गते गुञ्जायमान भएको हो ।
विहु असममा प्रायः नयाँ वर्षलाई स्वागत गर्ने क्रममा बैशाख महिनमा नाचिन्छ । यो जातीय उत्सव पनि मानिन्छ । यो तीन प्रकारको बहाग बिहु, कार्तिक बिहु र माघ बिहु रहेको नेपाली संस्कृति सुरक्षा परिषदको भगिनी संस्था आमामञ्चका अध्यक्ष डा दैवकीेदेवी तिमसिनाले बताउनु भयो । उहाँका अनुसार बैशाखमा नाचिने बिहुमा नेपालीहरूको तिहार जस्तै गाई, गोरुको पुजा गरिन्छ बैशाखको अघिल्लो अर्थात चैतको अन्तिम दिन । उहाँले भन्नुभयो, ‘त्यस दिनलाई उरुका भनिन्छ, त्यस दिन गाईगोरुलाई नदीमा लगेर राम्रोसँग नुहाइन्छ र घरमा ल्याएर बुकुवा गरि नयाँ दाम्लोले बाधिन्छ र आर्शीवाद दिइन्छ ।’ गीतको बोल ः
लाउ खा, वेगेना खा बसरे बसरे बाडीजा, मा खरु बापेर खरु तैहवी बर गरु (नेपाली अर्थ लौका खाउ बैगुन (भेन्टा) खाउ, वर्षै बर्षै बढ्दै जाउ, आमा सानी, बा साना तिमी हुनु ठुलो, बलियो गोरु ।
बैशाखको पहिलो दिन परिवारका बडाले सानालाई बिहुवान, आर्शीवाद दिन्छन् । बिहुवानको अर्ग फुलबुट्टे गाम्चा हो । यस्तो गीतबाट घरघरमा गएको नाच्ने प्रचलन रहेको नेपाली संस्कृति सुरक्षा परिषदका अध्यक्ष एलवि प्रधानले बताउनु भयो । उहाँका अनुुसार यस प्रकार केटाकेटीले पनि बिहुवान गर्दछन्, विहु गीतको पहिलो अन्तरामा ईश्वरलाई स्तुति गरिन्छ ।
विहु नाच्दा छोरा मान्छेले ढोल, पेपा गगना बजाउछन् । छोरी मान्छेले कम्मरमा हात राखेर कम्मर मर्काई नाच्छन् परिषदका महासचिव वीरेन्द्र राणाले बताउनु भयो । उहाँका अनुसार यसमा दोहोरी गीत पनि चल्ने गर्छ । उहाँले भन्नुभयो, केटाकेटीले आपसमा सौन्दर्यको बर्णन, भगाएर लग्ने कुरा पनि भन्ने चलन छ ।’
यो नाच्ने क्रममा जेष्ठ महिलाले घरघरमा गएर आशीर्वाद दिने चलन रहेको आमा मञ्चकी महासचिव सरस्वती पौडेलले बताउनु भयो ।
सो विहु नाचमा असम कलाकारका साथमा गण्डकी प्रदेशका वन मन्त्री भेष बहादुर पौडेल, गण्डकी प्रदेशकै सांसद टिका बस्याल लगायत समेत नाचेका थिए ।
नेपाली लोक संस्कृति र लोक साहित्यको खोज, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा लमजुङमा प्रचलित चुड्का, सोरठी, कृष्ण चरित्र लयायतका नाच समेत प्रदर्शन गरिएको थियोे ।
ठाडोभाका लोककला प्रतिष्ठानको निमन्त्रणामा नेपाली संस्कृति सुरक्षा परिषद, असमबाट परिषदका अध्यक्ष एलवि प्रधानको नेतृत्वमा १३ सदस्यीय टोली नेपाल (लमजुङ) आएको हो ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पांडेलले सो कार्यक्रमको उद्घाटन गर्न्ु भएको थियो ।
उहाँले यो कार्यक्रमले नेपाली संस्कृतको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएको बताउनु भयो । उहाँले भने, संस्कृति हाम्रो पहिचान हो, भुल्न हुन्न । नेपालीहरु जहाँ रहे बसे पनि चिनारी दिने नै संस्कृति हो यसबाट यसको महत्व झल्किन्छ उहाँको कथन थियोे ।
गण्डकी प्रदेशकी सांसद वस्यालले असमबाट आएका दिदीबहिनी एकनासे साडीमा सजिएको देख्दा गर्व लागेको बताउनु भयो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम दुवै देशको राष्ट्रगानबाट सुरु गर्र्दै ठाडोभाका र कविताबाट पाहुनाको स्वागत गरिएको थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन १५, बिहीबार २१:१७ गते