
विराटनगर– नेपालको राजनीतिमा अहम् भूमिका निभाउँदै आएको विराटनगरमा नेकपा (एमाले) मोरङको नेतृत्व चयन गर्ने कार्य आज फागुन २० हुँदैछ । एमालेको १०औँ जिल्ला अधिवेशन विराटनगरमा जारी छ । तर तोकिएको मतदानको समय तीन घण्टा पर धकेलिएको छ ।
घोषित निर्वाचन कार्यतालिकाअनुसार, आज बिहान ९ बजेदेखि मतदान थाल्नुपर्ने थियो । तर, ‘अझै सहमतिको प्रयास जारी रहेको’ भन्दै केन्द्रीय तहबाट दबाब आएपछि निर्वाचन समितिले मतदानको समय तालिका सारेको हो ।
अब मध्याह्न १२ बजेदेखि मात्र मतदानको तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला नेतृत्वका निम्ति पदाधिकारीसहित १६५ जना निर्वाचित हुनेछन् । ती पदका निम्ति ३२५ जनाले उमेदवारी दिएका छन् । बन्द सत्रमा गर्नु पर्ने अन्य कार्य सकेर निर्वाचनमा केन्द्रीय भएको छ ।
संस्थापन (केपी ओली पक्ष) र पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी समूह) प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मोरङमा भण्डारी समूहको नेतृत्व पूर्वजिल्ला अध्यक्ष विनोद ढकालले गर्दै हुनुहुन्छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उमेदवारी दर्ता भएको छ । यस्तै, भण्डारी समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उमेदवारी दिनु भएको स्रोतले बताएको छ ।
अधिवेशनबाट १ सय ६५ सदस्यीय कमिटी चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ सहित पाँच जना पदाधिकारी निर्वाचित हुँदैछन् । अधिवेशनका लागि ९११ जना प्रतिनिधि मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार आज ९ बजे सुरु गर्ने भनिएको मतदान १२ बजेसम्मका लागि सारिएको छ । त्यो समय थप हुन पनि सक्छ उहाँले भन्नुभयो ।
मोरङमा जिल्लाधिवेशनमा पदाधिकार प्राप्त ९१४ जना प्रतिनिधिमध्ये १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जन वर्गीय सङ्गठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनीत ४६ जना छनौट भएको हुन् ।
संस्थापन पक्ष र इतर पक्षले पनि आफूसँग ६० प्रतिशत नै रहेको दाबी गरिरहेका छन् ।
मतदानपछि मतगणना सुरु गर्ने तयारी छ । फागुन १७ गते शनिबारदेखि सुरु भएको १०औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनीत प्रतिनिधिको विषयमा विवाद बढेपछि समय लम्बिएको छ । यो टिमले प्रदेशका पूर्वसांसद राजकुमार ओझालाई अध्यक्षका रूपमा अघि सार्ने तयारी गरिरहेको छ । ओझाको नाममा सहमति गर्न यो समूहले गरेको प्रयास नेता विनोद ढकालले स्वीकार गर्नु भएको छैन ।
पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्वकर्ता विनोद ढकाल लामो समय अध्यक्ष ओली निकट भएर चिनिनु भएको थियो । तर गत वर्ष प्रदेश अध्यक्ष पदमा पराजित भएपछि उनी खुलेर फरक गुटको नेतृत्व गर्दै हुनुहुन्छ । गत माघ १४ गतेदेखि सात दिनसम्म चलेको पूर्वराष्ट्रपति भण्डारीको विराटनगर यात्राका क्रममा भेटघाटको व्यवस्थापन ढकालले नै मिलाउनु भएको थियो । त्यसो त संस्थापन पक्षको तुलनामा इतर पक्षका नेता ढकाल मोरङमा प्रभाव जमाएका नेता हुन् । भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले ४६ जना आफू निकटलाई अधिवेशन प्रतिनिधि मनोनित गरेको थियो ।
मनोनित प्रतिनिधिको विषयमा १८ गतेको बन्दसत्रमा नाराबाजी भएको थियो । इतर पक्षको नाराबाजीका कारण निर्वाचन कार्यक्रम नै प्रभावित भएको थियो । नाराबाजीकै कारण सो दिन सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया हिजो दिउँसोबाट मात्रै सुरु भएको हो ।
नेताहरूका अनुसार जिल्ला सदस्यमा प्रतिस्पर्धा हुने सम्भावना कम छ । पदाधिकारीमा भने प्रतिस्पर्धा हुनेछ । ‘पदाधिकारीलाई प्रतिस्पर्धा हुन्छ, भूगोलबाट आउने सदस्यको हकमा सवर्तसम्मत हुनसक्छ,’ इतर पक्षबाट उपाध्यक्षमा लड्ने तयारी गरेका नेता सागर थापाले भने,‘ निर्वाचन हुन्छ ।’
‘आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले आन्तरिक तथा बाह्य प्रतिस्पर्धा र त्यसमार्फत श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता राख्छ,’ ढकाल पक्षमा प्रतिनिधि देशबन्धु ढकालले भने ‘हामी सोही मान्यतामा अडिग रहेर निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ भन्नेमा छौं ।’
यसअघि ‘सहमतिमै नेतृत्व चयन गर्ने’ भन्दै कोशी प्रदेशका झापासहितका जिल्लाहरूमा एक हप्तासम्म अधिवेशनको बन्द सत्र लम्ब्याइएको थियो ।
स्मरणीय छ, झापामा अध्यक्ष केपी शर्मा ओलीले भनेकै मान्छेलाई अध्यक्ष र सचिव बनाउन एक हप्तासम्म बन्द सत्र स्थगित गरिएको थियो । उता उदयपुर, तेह्रथुम सहितका जिल्लामा चुनाव हुँदा संस्थापन पक्षका धेरैले हारको मार खेप्नु परेको थियो ।
एमालेको मोरङ अधिवेशन गएको फागुन १७ पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले उद्घाटन गर्नु भएको हो ।
प्रकाशित मिति २०८१ फाल्गुन २०, मंगलवार १२:२६ गते