एमाले मोरङ अधिवेशन : सहमति प्रयासले मतदान फेरि एक दिन सर्यो

एमाले मोरङ अधिवेशन : सहमति प्रयासले मतदान फेरि एक दिन सर्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २० गते मङ्गलबार ०८:०८

उम्मेदवार धेरै भएका कारण एकजना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्नेछ । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुने प्रवन्ध गरिएको छ ।

निर्वाचन समितिका अनुसार ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् भने चुनावी मैदानमा १९१ जना छन् ।

विराटनगर– नेकपा (एमाले)मोरङको विराटनगरमा जारी १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि हुने निर्वाचन फेरि एक दिन धकेलिएको छ । निर्वाचन समितिले निर्वाचन गराउन समय पुग्ने भन्दै फागुन २१ गते बिहानका लागि मतदानको समय सारेको हो ।
जिल्ला अधिवेशनको पूर्वनिर्धारित निर्वाचन गर्ने कार्यसूची फागुन १९ गतेका लागि तय भएको थियो । तर बन्दसत्रमा विवाद सिर्जिएपछि मतदान समय १९ गते बिहानका लागि सारिएको थियो । सहमतिको प्रयास गर्ने भन्दै त्यो समय बिहानबाट दिउँसोका लागि समय निर्धारण गरिएको थियो ।
भोलि बिहान ७ बजेदेखि मतदान गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार १६५ सदस्यीय जिल्ला कमिटीका लागि ३२५ जनाले उम्मेदवारी दर्ता गरेका थिए । उहाँले भन्नुभयो, ‘तीमध्ये आज गरिएको सहमतिको प्रयासबाट ६३ जनाले मनोनयन फिर्ता लिएका छन् ।’ निर्वाचन समितिका अनुसार ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् भने चुनावी मैदानमा १९१ जना छन् ।
भोलि मतदानमा एकै पटकमा २० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गर्नु भएको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएको स्रोतको भनाइ छ ।
ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिएको छ । जिल्लामा आफूलाई संस्थापन बताउने समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गर्नु भएको छ । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् ।
उम्मेदवार धेरै भएका कारण एकजना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्नेछ । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुने प्रवन्ध गरिएको छ ।मोरङमा जिल्लाधिवेशनमा पदाधिकार प्राप्त ९१४ जना प्रतिनिधिमध्ये १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जन वर्गीय सङ्गठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनीत ४६ जना छनौट भएको हुन् ।

प्रकाशित मिति २०८१ फाल्गुन २०, मंगलवार २०:०८ गते
हजुरको प्रतिक्रिया