बेसीशहर– लमजुङ जिल्लामा रहेका दुई ठूला क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियू(अखिल)को प्यानल विजयी भएको छ । जिल्ला सदरमुकाम स्थित मर्स्याङदी बहुमुखी क्याम्पसमा नेविसंघले नमिठो हार बेहोर गरेको छ भने अर्को सुन्दरबजार स्थित लमजुङ क्याम्पसमा भने सानदार जीत हासिल गरेको चैत ५ गते घोषणा गरिएको हो ।
मर्स्याङदी बहुमुखी क्याम्पसमा अखिलको बर्चश्व :
सदरमुकामको यहाँ स्थित मर्स्याङदी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा कडा प्रतिस्पर्धाका बीच अखिलले जीत हासिल गर्न सफल भएको छ । नेविसंघ, अखिल र अखिल(क्रान्तिकारी तीन प्यानल बीचको प्रतिस्पर्धामा अनेरास्ववियूलै नेविसंघ भित्रको अन्तरविरोधको फाइदा उठाउँदै केही झिनो मतान्तरले जीत हासिल गरेको हो । त्यसो त क्रान्तिकारीले प्यानल उठाउन सकेको थिएन भने मत पनि उस्तै दयनीय पाएको स्थिति छ ।
जिल्लामा एक मात्र त्तब्ब् मान्यता प्राप्त र सर्वाधिक धेरै विद्यार्थी रहेको सो क्याम्पसमा अखिल पक्षले एक सदस्य बाहेक सबैमा जीत हासिल गर्न सफल भएको छ ।
निर्वाचनको घोषित अन्तिम परिणाम अनुसार स्ववियू सभापतिमा अखिलका मदनकुमार वि.क.ले मात्र तीन मतले उछिन्दै जित हासिल गर्नु भएको हो । उहाँले १९९ मत पाउँदा उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेविसंघका पूर्णबहादुर गुरुङले १९६ मत पाए ।
सचिवमा अखिलका गणेश अधिकारी २३४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वण्द्वी नेविसंघका सन्तोष वि.कले १५१ मत पाए ।
कोषाध्यक्ष पदमा अखिलका मुना गुरुङ २०६ मतका साथ विजयी हुँदा नेविसंघका जमुना श्रेष्ठले १९१ मतमात्र पाएको जानकारीमा आएको छ ।
स्ववियूको सदस्यमा अखिल पक्षका ममता घिमिरे र बिशेष गुरुङ दुवैले २०४ मत पाएको स्थिति छ भने सुदर्शन पौडेल २०२ र हेमकुमारी वि.क १९७ मतका साथ विजयी भएको बताइएको छ ।
सदस्य पदमा नेविसंघ पक्षकी एकमात्र बर्षा रिमाल विजयी हुनु भएको छ । उहाँले १९५ मत पाउनु भएको छ ।
सो निर्वाचनमा सदस्य पदमा १९४ मत पाउने नेविसंघका तीन जना जहिरा मिया, रुक्मिणी बर्देवा र होमिना गुरुङ हुनुहुन्छ । त्यस्तै, १९२ मत पाउने दुई जनामा सगुन कँडेल र साजन थापा हुनुहुन्छ । त्यसैगरी बुद्धिजङ्ग गुरुङले १८८ मत र प्राश्ना धितालले १८७ मत पाएको बताइएको छ ।
स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी) पक्षका सभापति उमेदवार आयुष सुनारले १४ मत मात्र पाएको बताइएको छ । सो प्यानलका सचिव पदका प्रत्यासी पवित्रा तामाङले १८ मत पाउनु भएको छ भने सदस्यमा कमला विकले २३ मत, विजय तामाङले १८ मत र समुन्द्र गोतामेले १५ मत पाएको स्थिति घोषणा गरिएको छ ।
मर्स्याङदी बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ नेविसंघको स्थिति झनै दयनीय देखिएको छ । अखिलले १९७ मत पाउँदा नेविसंघले १८३ मत र अखिल (क्रान्तिकारी)ले २० मत पाएको स्थिति छ ।
लमजुङ क्याम्पसमा नेविसंघ १८ मत अन्तरले विजयी :
यसैगरी, लमजुङ क्याम्पसमा आजै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको प्यानलले विजय हासिल गरेको छ । नेविसंघका उम्मेदवारहरूले सभापति, सचिव, कोषाध्यक्षसहित अधिकांश महत्वपूर्ण पदमा विजयी भएका छन् । यो क्याम्पसमा अखिल र अखिल(क्रान्तिकारी)का बीचमा मिलिभगत भएको थियो र पनि नेविसंघले जित हासिल गर्नुलाई उपलब्धि मानिएको छ ।
घोषित निर्वाचन परिणाम अनुसार स्ववियूको सभापतिमा नेविसंघका असिम बस्तीले आफ्ना प्रतिद्वन्द्वीलाई १८ मत अन्तरले पछि पार्दै जीत हासिल गर्नु भएको हो । उहाँले २४५ मत पाउँदा प्रतिस्पर्धी संयुक्त प्यानलकी अनुसा परियार ले २२७ मत प्राप्त गर्नु भयो । सचिव पदमा नेविसंघका बिबेक सिंह २४१ मत ल्याउँदै निर्वाचित हुनु भयो भने प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)की कृष्टि सापकोटाले २३० मत पाउनु भयो । यसैगरी, कोषाध्यक्ष पदमा नेविसंघका हेमनारायण रसाइली २४४ मतसहित विजयी हुनु भयो भने प्रतिस्पर्धामा अखिलका नवीनकुमार यादवले २२५ मत प्राप्त गरे भने क्रान्तिकारीका बिबेक चाम्लिङले ३ मत पाएको बताइएको छ ।
घोषित निर्वाचन परिणामअनुसार सदस्य पदमा नेविसंघका आर्ची पाठक, अफजल अन्सारी, आयुष्का गौतम, र अवसर अधिकारी सबैले बराबर मत अर्थात २४१ मत पाई निर्वाचित हुनु भएको छ भने विविका थापा मगर २४० मतका साथ जीत हासिल गर्नुभयो । अखिलका केशव देवकोटा, प्रविना भण्डारी, जेनिस गुरुङ, र समीर देवकोटा २२९ मत प्राप्त गर्दै पराजित भएको घोषणा भएको छ । त्यस्तै, अखिलकी सरिता पोखरेल पनि २२८ मत पाई हारको मार खेपेको स्थिति छ । सदस्य पदमा अखिल (क्रान्तिकारी) का विशाल थापाले मात्र २ मत ल्याएको स्थिति छ ।
समानुपातिकतर्फको सदस्य पदमा पनि नेविसंघकै बर्चश्व रहेको छ । घोषित मत परिणाम अनुसार नेविसंघले २४५, अनेरास्ववियुले २२५ र अखिल (क्रान्तिकारी)ले ५ मत प्राप्त गरेका छन् ।
सो क्याम्पसका प्रमुख रामकुमार श्रेष्ठले स्ववियू निर्वाचनको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनु भएको छ । उहाँका अनुसार विद्यार्थीहरू बीच लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै चुनावी प्रतिस्पर्धा भएको छ । विगतमा हुने गरेको ससानो बहानाका झगडा तथा झडप यस पटक भएन यो पनि हाम्रो लागि खुशीको विषय बनेको छ क्याम्पसका प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो ।
उक्त निर्वाचनमा कुल २७३ मत खसेको थियो ।
प्रकाशित मिति २०८१ चैत्र ५, मंगलवार २३:४१ गते