भक्तपुर– वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष माथवरसिंह बस्नेतको निधन भएको छ । उनको चैत ९ गते बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ निवासी बस्नेतलाई दुई दिन अघि रातको समयमा घरमै हृदयाघात भएपछि उपचारका लागि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको परिवारस्रोतको भनाइ छ ।
उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतले बताउनु भएको छ । उहाँका अनुसार गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । ।
गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहनु भएका उहाँ हाल गणेशमान सिंह स्मृति बाटिकाको पनि अध्यक्ष हुनुहु्न्थ्यो ।
पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिनु भएका थियो । उहाँलाई मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा आजीवन कारावासको सजाय दिइएको थियो ।
जनआन्दोलन जगाउने पत्रकार :
स्नातकोत्तरसम्म पढेर पनि कहिल्यै जागिर नखानेु भएका उहाँलाई जनआन्दोलन जगाउने पत्रकार समेत भनिन्थ्यो । जिन्दगीलाई डो¥याउने कुनै ‘कंक्रिट’ योजना बुन्नु भएन । योजना बिनै राजनीति तथा पत्रकारिता थाल्नु भयो । योजनाबिनै समाचार लेखेर जनआन्दोलनको उभार उठाउनु भयो । त्यो आन्दोलनले पञ्चायत ढाल्यो । सधैं ठान्नुभयो— ‘प्रजातन्त्र आउनुपर्छ, बस् !’
माथवरसिंह बस्नेतले समाचार लेखेकै कारण ०४६ सालको जनआन्दोलन शुरु भएको थियो । तर यो वस्तुगत तथ्य धेरैलाई थाहा छैन । त्यसको जस तत्कालीन कांग्रेस र कम्युनिस्टलाई जान्छ । तर, उनीहरूलाई आन्दोलनमा हिँडाउने सूत्रधार माथवरसिंह हुनुहुन्थ्यो भन्दा अतिशयोक्ति हुँदैन । समाचारको शक्ति कति हुन्छ भनेर उहाँले त्यतिबेलै थाहा पाउनु भएको हो ।
नेता जगन्नाथ आचार्य प्रवासबाट फर्किएपछि सार्वजनिक रूपमा राजनीतिक कार्यक्रममा हिँड्न थालेका थिए । विषयवस्तुप्रति उनको विश्लेषण गर्ने क्षमताबाट प्रभावित भएका माथवरसिहंले उनैबाट राजनीतिको गुह्य कुरा थाहा पाए । राजनीतिप्रति आकर्षण जाग्यो । राजनीतिमा लागेको उहाँले बताउनु हुन्थ्यो ।
विद्यमान राजनीति देखेर दिक्दार माथवर कहिलेकाहीँ भन्ने गर्नु हुन्थ्यो, ‘यस्तो हुन्छ भन्ने थाहा पाएको भए म चुपचाप पञ्चायत हेरेर बसिरहन्थें ।’
नेपाली पत्रकारिताको लामो कालखण्डमा अमिट भएर कुदिएका माथवरसिंहले जे गर्नुभयो, प्रजातन्त्रको सुदृढीकरणका लागि गर्नु भयो । अनुहारमा बुढ्यौलीका धर्सा मुसार्दै उहाँले हामीलाई आफ्नो योजनाविहीन जिन्दगीको ‘सर्टकट’ कथा पनि सुनाउनु हुन्थ्यो कहिले काँही—
उहाँका बुवा गणेशबहादुर बस्नेत जिल्ला पञ्चायतका सभापति हुनुहुन्थ्यो । बुवाले गर्ने भाषण उहाँले नै लेखिदिने गर्नु हुन्थ्यो । ०२६ सालमा नगरकोट गाउँ पञ्चायतको उद्घाटन गर्ने कार्यक्रमपछि उहाँको कामै बाबाका लागि भाषण लेखिदिने बन्न पुगेको थियो ।
बीपी कोइराला लन्डन पुगेपछि बीबीसीमा अन्तर्वार्ता दिए । त्यो अन्तर्वार्तामा उनले भनेका थिए, ‘राजाले प्रजातन्त्रको अपहरण गरेर जनताको अधिकार खोसे, त्यसैले जनताको अधिकार फिर्ता गर्नुपर्छ । तर, गरेनन् । यत्रो वर्षसम्म पञ्चायतको नाममा राजाले प्रयोग गरे । उनले केही गर्न सकेनन्, त्यसैले फिर्ता गर्नुपर्छ । स्वाभाविक रूपमा २००७ सालको क्रान्तिबाट प्राप्त जनताको अधिकार फिर्ता गर्नुपर्छ । एउटी महिलाले स्वाभाविक रूपमा सन्तान जन्माउन सकिनन् भने डक्टरले अप्रेशन गरेर निकाल्छन् । त्यस्तै नेपालमा पनि राजाले स्वाभाविक रूपमा जनताको अधिकार फिर्ता गर्न मानेनन् भने हतियार उठाएर क्रान्ति गर्नुपर्छ ।’ तिन ताका बीपीको विरोध नगर्ने पञ्च नै हुँदैन भन्ने जस्तो भइसकेको थियो ।
‘उहाँ (बीपी) काठमाडौंमा कांग्रेसले ठूलो हमला गर्दैछ भनेर हल्ला चलाउने तर हतियार नै चाहिँ नउठाउने भन्नुहुन्थ्यो । आक्रमण गर्ने तर प्रतीकात्मक मात्रै होस् भन्ने उहाँको भनाइ थियो । तर, हामी सहमत थिएनौं । हामीले प्लान गर्यौं तर त्यो पनि कार्यान्वयनमा जानुअघि नै सार्वजनिक भयो,’ माथवरसिंह सम्झन्छन्, ‘विष्फोट गराउने योजना बनाएको आरोपमा हामीलाई पक्राउ गरियो । त्यसको मुख्य योजनाकारका रूपमा म ०३१ मा पक्राउ पर्नु भएको हो । म र जानकीप्रसाद कुइँकेललाई जन्मकैद भयो । ०३७ वैशाख १ गतेसम्म जेल बस्नु भएका उहाँ त्यो बेलामा जनमत संग्रहको सन्दर्भ थियो । नयाँ वर्षको अवसरमा राजाको बक्सिस स्वरूप उहाँ छुट्नु भएको थियो ।
तिनताका नख्खु जेलमा किसुनजी, महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय, रामराजाप्रसाद सिंह, रामहरि जोशी, केपी ओली, आरके मैनाली, सीपी मैनाली, रामशरण महतलगायतका व्यक्तिहरू भएको बस्नेतले सुनाउनु हुन्थ्यो ।
बीपीको त्यो अन्तर्वार्तालाई लिएर नेपालमा चर्को विरोध भयो । तर, त्यही अन्तर्वार्ता सुनेपछि २००७ सालको क्रान्तिबारे पढेका मात्रै माथवरसिंहको युवा रगत उम्लियो । पञ्चायतविरोधी तत्कालीन कांग्रेसको अभियानमा सरिक हुने जोश झन् थपिएर आयो । बीपीको आह्वानलाई सहयोग कसरी गर्न सकिन्छ भनेर दिनदिनै छलफल शुरु भयो । बीपीलाई सघाउन बनारस को जाने, सशस्त्र क्रान्तिलाई कसरी सघाउने भनेर छलफल भइरन्थ्यो । त्यही छलफलमा सहभागीमध्येकै कसैले प्रशासनलाई सुराकी गरिदियो । माथवरसिंह ०२८ मंसिरमा भक्तपुरबाट पक्राउ परे । ०२९ को वैशाखमा छुट्नु भएको थियो ।
उहाँ २०३७ सालमा प्रजातन्त्र प्राप्तिपछि आममाफी पाएर उहाँ जेल मुक्त हुनु भएको हो । स्व. बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रकाशित मिति २०८१ चैत्र ९, शनिबार २२:०२ गते