
भोर्लेटार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहप्रवक्ता रमेश प्रसाइँले यो व्यवस्था ल्याउनका लागि हाम्रो पार्टीले त्याग गर्न नपाए पनि हामी व्यवस्था टिकाउनका लागि योगदान गर्छौं भन्नुभएको छ । उहाँले सो भनाइ मध्यनेपाल नगरपालिका– ६ को यहाँ आयोजित सोही दलको पहिलो वडाधिवेशनको उदघाटन गर्र्दै चैत ९ गते बताउनु भएको हो ।
उहाँले रास्वपाले के त्याग गरेको छ ? यी पनि अन्य अरू पार्टी जस्तै चोर हुन् ? त्यसमा पनि यसको त सिद्धान्तै छैन ? भन्नेहरूलाई जवाफ दिदै भन्नुभयो, ‘३५ वर्षको मान्छेसँग साढे दुई वर्षका बालबालिकाको तुलना नै गर्न नमिल्ने बताउँदै ३५ बर्षको कुनै प्रसाइँले गरेको गल्तीको सजाय तीन वर्षकी छोरी प्रश्नालाई दिन मिल्छ ? भन्ने प्रश्न गर्नु भयो । नेता प्रसाइँले ३५ वर्षसम्म देश डुवाउने दलहरूसँग आफ्नो तीन वर्षको उमेर पनि नपुगेको पार्टीको तुलना गर्न मिल्दैन भन्ने जिकिर गर्नु भएको थियो । उहाँले एक पटक ०८४ मा मत बदल्नुुस् र पाँच वर्ष हेर्नुुस् यदि यो पार्टीले राम्रो गरेन भने अर्को पटक भोट माग्न आउँदा लौरो लिएर लखेट्नुुस्, त्यो अधिकार तपाईलाई छ भन्नुभयो ।
हाम्रो सिद्धान्त संविधानवाद हो, संवैधानिक समाजवाद हो भन्नु हुँदै वर्तमान संविधानले सुनिश्चित गरेका नागरिकका सबै खाले हक अधिकारको निर्वाध रुपमा उपयोग गर्न पाउने र गर्न सक्ने वातावरण सिर्जना आफूहरू लागि परेका हौं उहाँले भन्नुभयो । उहाँले वर्तमान व्यवस्था ल्याउन हाम्रो पार्टी पछि जन्मेको हुँदा योगदान गर्न पाएन, सकिएन तर अब यो व्यवस्था टिकाउनका लागि योगदान गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तीन पुस्ता काँग्रेस विताएकोले छाड्न मिल्दैन वा रगत नै एमाले हो के पार्टी छाड्नु ! भन्नेहरूलाई समेत जवाफ दिदै भन्नुभयो, ‘आज मेरो उमेरका दौतरी साथीहरू गाउँमा भेटिदैनन्, अधिकांश विदेश गएका छन्, देशमा गरिखान पाउने अवस्था छैन ।’ त्यो पुस्यौनी काँग्रेस र रगत मै एमाले भएर देशमा आफ्नो परिवारको साथमा बसेर गरिखान सक्ने वातावरण किन हुन सकेन ? गाउँघरमै राम्रो उपचार गर्ने अस्पताल किन बन्न भन्ने प्रश्न गर्र्र्दै अब मत बदल्ने बेला आएको छ । एक पटक मौका दिएर हेर्नुहोस् मन परेन भने पुस्तौनी, रगतमै घण्टी भर्नु पर्छ हामी भन्दैनौं भन्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले रास्वपाका कार्यकर्तालाई संयमित एवम् अनुशासित हुनुपर्छ भन्नेमा जोड दिनु हुँदै अनुशासन हीन र भ्रष्टाचार गर्ने आफ्नै पार्टीले सांसदलाई ७२ घण्टामा घोक्रेठ्याक लगाएको स्मरण गर्नु भयो । उहाँले जनतासँग जोडीन, स्थानीय क्षेत्रमा मल, खानेपानी, कलकत्रा, गिट्टी, बालुवा खोनहरूसँग सावधान रहँदै खबरदारी गर्न आह्वान गर्नु भयो । उहाँले अन्य दलमा रहेर अवसर नपाएका प्रतीभावान् व्यक्तिलाई पार्टीमा भित्र्याउन समेत आग्रह गर्नु भयो । उहाँले दुई जना अल्छी व्यक्तिको कथात्मक उदाहरण दिदै नाकमा बसेको झिंगा एकले अर्कोको धपाई दिएन भन्दै रुँदा रहेछन् भन्दै चितवनमा रवि, तनहुँमा स्वर्णिमले जित्दा खुशी भएझै त्यसरी नै मत बदल्न सक्नु पर्छ किनकि, यो ठाउँ तपाई आफैले बताउने हो त्यसैले हामी यहाँ रवि लामिछाने खाज्न आएका हौं भन्नुभयो । उहाँले अन्य दलमा जस्तो बा, भाउजुको आशीर्वादवालाले टिकट पाउदैन, त्यो टिकट विक्री गर्ने अधिकार तपाईसँग छ भन्नुभयो ।
सो कार्यक्रममा रास्वपाको संगठन विभागका केन्द्रीय सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले पार्टी स्थापनाको औचित्यमा प्रकाश पार्नु हुँदै निलो क्रान्तिको अर्थ र महत्व दर्शाउनु भएको थियो । उहाँले बिना रक्तपात मतपत्रका माध्यमले गरिने परिवर्तन निलो क्रान्ति हो भन्नुभयो । उहाँले रास्वपाका नेता स्वर्णिम वाग्लेका शब्दहरू सापटी लिदै भन्नुभयो, ‘चुनावका बेलामा ठिटा, विटा र इटाको प्रयोग गर्नेहरूले देश बरबाद पारेका छन् ।’ देशमा थुप्रिएको फोहोरको डंगुर सफा गर्नका लागि कसै न कसैले आँट गर्र्नै पथ्र्यो, त्यो हामीले गरेका छौं र पार्टीको स्थापना गरिएको हो उहाँले उल्लेख गर्नु भयो ।
पार्टीको संख्या थप गर्नका लागि मात्र पार्टी जन्माएको नभई आम नेपालीको समस्या बुझेर समाधान गर्ने र सर्वसाधारणको सारथी बन्नका लागि पार्टी स्थापना भएको हो, त्यो कार्य हामी गरी छाड्छौं, किनकि हामीलाई सानोभन्दा सानो गल्ती गर्ने छुट छैन उहाँले भन्नुभयो । उहाँले गत निर्वाचनका बेलामा ५ सय मत ल्याउँदैनस् भन्दै बाजी राख्नेहरूलाई मध्यनेपाल– ६ को यो वडाबाट जवाफ मिलेको छ भन्नुभयो । उहाँले यस वडाबाट मात्र आफूले १४ सय मत आएको स्मरण गर्दै उहाँहरू सबैको सम्मानका लागि आफूहरू कार्यक्षेत्रमा खटेको उल्लेख गर्नुभयो । आफ्नो मन्तव्यका क्रममा नेता केसीले भोर्लेटारको विकासका किन पछि परिरहेको छ ? भन्ने समेत औंल्याउनु भएको थियो । 
उक्त कार्यक्रममा ८४ वर्षीय लिलामणि घिमिरेले धेरै पटक अन्य पार्टीलाई भोट दिएर हेरियो, खासै केही भएन अब एक पटक आउँदो निर्वाचनमा घण्टीमा मत दिएर हेरौं भन्ने अह्वान गर्नु भएको थियो ।
सोही वडाका रास्वपाका सभापति विष्णुनारायण शाहको अध्यक्षतामा भएको सो अधिवेशनको उदघाटन सो स्थानीयवासी समेत रहनु भएका सो दलका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले अधिवेशनको आवश्यकता र औचित्यमा प्रकाश पार्नु भएको थियो भने उदघाटन सत्रमा रास्वपाको निर्वाचन क्षेत्र समितिका सदस्य चन्द्रकला घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
अधिवेशन अघि रानीपानी गाउँदेखि नौमती वाजासहित र्याली प्रदर्शन गरिएको थियो । सो र्याली रानीपानी चोक हुँदै भोर्लेटार इलाका प्रहरी कार्यालय चोक, पाखुरी चोक हुँदै सिद्ध सामुदायिक भवनको हातामा प्रवेश गरेको थियो । सो अवसरमा भोर्लेटार क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने दिवंगत अभियन्ताहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो भने राष्ट्रगानबाट कार्यक्रम प्रारम्भ गरिएको थियो ।
सो अधिवेशनले विष्णुनारायण शाहको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपसभापतिमा गोपाल भण्डारी तथा सचिवमा लोकबहादुर गुरुङलाई निविरोध चयन गरेको छ । अन्य सदस्यमा जितबहादुर विक, कृष्णबहादुर परियार, कुलबहादुर कार्की र मनबहादुर दवाडी चयन हुनुभएको जिल्ला उपसभापति एवम् निर्वाचन समितिका संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना महिला सदस्य पछि मनोनित गरिने छ ।
त्यस्तै, सो अधिवेशनबाट नगर समितिका लागि मोतीबहादुर परियार, झक्कहबहादुर परियार, धनसुब्बा गुरुङ, धनप्रसाद न्यौपाने र बु्द्धिबहादुर गुरुङ चयन हुनु भएको निर्वाचन समितिका सदस्य एवम् रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले जनाकारी दिनु भएको छ ।
प्रस्तुत छ. र्यालीको फोटो फिचर :




प्रकाशित मिति २०८१ चैत्र १०, आईतवार १०:१३ गते