सुक्खा पहिरो खस्दा बेसीशहर– चामे सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा बेसीशहर– चामे सडक अवरुद्ध

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १० गते सोमबार ०४:१८

‘हामी पनि घट्नास्थलतर्फ जादैछौं, केही बेरमा पुग्छौं, थप जानकारी त्यहाँ पुगेपछि मात्र थाहा होला, ऐले दुवैतर्फ यातायात रोकिएको अवस्था छ ।’ प्रजिअ गुरुङले भन्नुभयो ।

मनाङ जानका लागि बेसीशहर– चामे सडक एकमात्र नाका हो ।

बेसीशहर– लमजुङमा सुक्खा पहिरो खस्दा बेसीशहर– चामे सडक अवरुद्ध भएको छ । लमजुङको उत्तरी क्षेत्रको मस्र्याङदी गाउँपालिका– ४ स्थित च्याम्चे बजार नजिक रहेको अक्टोपस झरनासँगै सुक्खा पहिरो खस्दा बेसीशहर चामे सडक चैत ११ गते अवरुद्ध भएको हो ।
आज दिउँसो १२ बजेतिर माथिबाट सडक नै ध्वस्त हुने गरी पहिरो खसेको स्थानीयबासीहरूले बताएका छन् । उनीहरूका अनुसार दिउँसोको समयमा सो घट्ना भएको हुँदा बक्स कटिङबाट उत्तरतर्फको भागमा पहिरो खसेको हो ।
पहिरो खसेसँगै सवारीसाधन र मानिसको समेत आवागमन हुन नसकेको जानकारी आएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार सडक खुलाउनका लागि तत्कालै के गर्न सकिन्छ भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निर्देशन दिइएको छ ।
उहाँले भन्नु भयो, ‘पहिरो खसेको जानकारी आएसँगै प्रहरी खटाइ मेसिनको प्रयोग गरी सडक खुलाउने काम थालिएको छ ।’ सडक खुलाउन दुवैतर्फ एक्साभेटरको प्रयोग गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी पनि घट्नास्थलतर्फ जादैछौं, केही बेरमा पुग्छौं, थप जानकारी त्यहाँ पुगेपछि मात्र थाहा होला, ऐले दुवैतर्फ यातायात रोकिएको अवस्था छ ।’
सुक्खा पहिरो खसेसँगै हिमाल पारीको जिल्ला मनाङबाट लमजुङतर्फ आउँदै गरेका सवारीसाधनहरू तथा लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेका सवारीसाधन वारीको वारी र पारीका पारी नै रोकिएको अवस्था रहेको स्थानीयले जानकारी दिएका छन् ।
स्मरणीय छ, मनाङ जानका लागि बेसीशहर– चामे सडक एकमात्र नाका हो ।

प्रकाशित मिति २०८१ चैत्र ११, सोमबार १६:१८ गते
हजुरको प्रतिक्रिया