काठमाडौं– राजाबादीहरूले आज सुरू गरेको प्रदर्शन अराजक बनेको छ । सो क्रममा भएको आगजनीमा यभि न्युज टेलिभिजनका एक पत्रकार सुरेश रजकका साथै दुई जनाको निधन भएको चैत १५ गते प्रहरीले पुष्ठि गरेको छ । मृतक पत्रकार रजक यभि न्युज टेलिभिजनमा कार्यरत रहेको उपत्यका प्रहरी कार्यलयले पुष्ठि गरेको छ ।
यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । उनी कीर्तिपुर नगरपालिका– ४ बस्ने २९ वर्षीय सविन महर्जनको भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताउनु भयो । उहाँका अनुसार पत्रकार रजकसँगै तीनकुनेको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा पुग्नु भएको थियो । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो । प्रदर्शनको क्रममा राजावादीहरू उग्र बन्दै गएका थिए ।
सो आन्दोलनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्नु भएको थियो । काठमाडौंमा शुक्रबार गणतन्त्रवादी र राजावादी दुवै समूहले छुट्टाछुट्टै प्रदर्शन आयोजना गरेका थिए । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा गठित ’संयुक्त जनआन्दोलन समिति’का सदस्य रहनु भएका प्रसाईंलाई सुवेदी नेतृत्वको समितिले ’जनकमान्डर’ घोषणा गरेको छ ।
राप्रपा र राप्रपा नेपालले प्रसाईंको कार्यक्रममा जान आग्रह गर्दै विज्ञप्ति त निकाले, दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापा तीनकुने पुगेनन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य–सचिव रवीन्द्र मिश्र लगायत नेता तीनकुने पुगेका थिए ।
प्रहरीले राजावादी प्रदर्शनकारीहरूलाई नयाँबानेश्वरको निषेधित क्षेत्रतर्फ बढ्न नदिन तीनकुने पुलनिर प्रहरीहरूले लस्करै उभिएर बाटो छेकेका थिए ।
मध्याह्नतिर तीनकुने चउरमा भेला भएका राजावादी प्रदर्शनकारीहरू प्रहरी घेरा तोडेर नयाँबानेश्वरतिर बढ्न खोजे। उनीहरूलाई रोक्न खोज्दा प्रहरी र राजावादी प्रदर्शनकारीहरूबीच धकेलाधकेल भयो ।
यहि बिचमा, जब राजावादीहरूले आफ्नो आन्दोलनको ’कमान्डर’ बनाएका दुर्गा प्रसाईं सेतो पिकअप गाडी हाँक्दै तीनकुने आइपुगे तर कार्यक्रम स्थलतर्फ गएनन् । बरू तीनकुनेबाट सिधै शान्तिनगर हुँदै नयाँबानेश्वरतर्फ नै बढ्न खोजे । त्यो ठाउँ निषेधित क्षेत्र हो र त्यहाँ जान नदिन प्रहरीहरू बाटो छेकेर बसेका छन् भन्ने प्रसाईंलाई राम्ररी थाहा थियो । त्यति थाहा हुँदाहुँदै प्रसाईं तीनकुनेको घुम्तीबाट गाडी हुइँक्याउँदै पुलसम्म पुग्नु भयो ।
जहाँ प्रहरीहरूले बाटो छेकेका थिए । उहाँले त्यहाँ एकछिन गाडी रोक्नु भयो । त्यसपछि सडकमा उभिएका प्रहरीहरूलाई नै पेलेर गाडी अगाडि बढाउन खोज्नु भयो । प्रहरीले गाडी रोक्न खोज्दा खोज्दै पनि नयाँबानेश्वरतर्फ हुइँक्याउनु भयो ।
प्रहरी बललाई जितेर निषेधित क्षेत्र तोड्ने दुर्गा प्रसाईंको यो अराजनीतिक हरकतले राजावादीहरूको समूहलाई उग्र मात्र बनाएन, अराजक नै बनाउन पुग्यो ।
भिडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, लाठीचार्ज र पानीको फोहोरा प्रहार गर्न थाल्यो । यसै बिच तीनकुनेमा रहेका निजी घर तोडफोड गर्न उद्दत भए । उनीहरूले प्रहरीमाथि ढुंगामुढा मात्र गरेनन्, तीनकुनेको एउटा निजी घरमा ढुंगा हानेर भएभरको सिसा क्षतविक्षत पारे । यतिले नपुगेर आगो नै झोसे । उक्त आगो निभाउन गएको दमकलको बाटो छेक्न त्यसमाथि ढुंगा बर्साए ।
त्यसपछि प्रदर्शनकारीहरू थप अराजक बने । तर अश्रुग्यास र लाठीचार्जले पनि भिडको अराजकता साम्य भएन ।
हिमालय टेलिभिजनको बा १९ च ८९६३ नम्बरको गाडीमाथि पनि प्रदर्शनकारीहरूले तोडफोड गरे ।
त्यसैबीच प्रदर्शनकारीहरूले ढुंगा हानेर तीनकुनेमा प्रहरीको टाउको फुटाइयो । त्यसको केही बेरमा तीनकुनेमै महिला सशस्त्र प्रहरीमाथि पनि कुटपिट गरियो ।
त्यसपछि राजावादी प्रदर्शनकारीहरू जति जति अगाडि बढ्दै गए, उनीहरूले काठमाडौंका विभिन्न ठाउँमा आगजनी र तोडफोडका घटना गराउन उद्वत रहे ।
त्यसपछि अराजक राजावादीहरूले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन कार्यालयमा आगजनी गरेका थिए । सोही कारणले त्रिभुवन विमानस्थलमा हवाई आगमन रोकिएको थियो । यसैगरी, कोटेश्वरतर्फ बढेको अर्को भिडले त्यहाँको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पनि आगजनी गर्न पुगे । सोहि क्रममा उनीहरूले राजनीतिक दलका कार्यालयमाथि पनि धावा बोले । उनीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए र कागजात झिकेर सडकमा ल्याएर आगो लगाएका थिए । एकीकृत समाजवादी नेता मोहन गौतमले कार्यालय सचिवको कार्यकक्षमा राजावादीहरूले आगो लगाइदिएको बताउनु भएको छ । उहाँका अनुसार पार्टीका महत्वपूर्ण कागजातहरू सडकमा लगेर जलाइ दिएका छन् ।
प्रदर्शनकारीले कोटेश्वरको जडिबुटी कारखानामा पनि आगो लगाइदिएका छन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सरकारी वकिल लगायतका आधा दर्जन बढी गाडी राजावादीको अराजक प्रदर्शनकारीहरूलृ जलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी राजावादीहरूले जलाइदिएका छन् । संसदको काम सकेर भक्तपुरस्थित घर फर्किँदै गर्नु भएका परियारलाई राजावादीको अराजक समूहले बालकुमारीको सिसिआरसी कलेज अगाडि उहाँलाई उतारेर आगजनी गरेको परियारले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रदर्शनकारीहरूले आँफुले चडी अएको १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।
प्रकाशित मिति २०८१ चैत्र १५, शुक्रबार २२:२६ गते