पर्यटनको क्षेत्रमा अन्नपूर्ण पदमार्ग भन्ना साथ सबैको ध्यान मनाङ र मुस्ताङ तिर पुग्दछ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रवेशद्वार लमजुङ बेसीशहरदेखि सुरु हुन्छ । अन्नपूर्ण पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । पर्यटकहरू हिमाल र पहाडका दृश्य, उच्च पहाड पदमार्गमा पर्ने गाउँहरुको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङपास गरी मुस्ताङ हुदै पोखरा जानका लागि अन्नपुर्ण पदमार्गमा पर्यटकहरू पुग्ने गर्छन । तर ऐले नयाँ गन्तव्यको हव बनिरहेको छ, खानीगाउँको रक गार्डेन । रक गार्डेन मर्स्याङ्दी गाउँपालिका– ५ को खानीगाउँमा पर्दछ ।
अन्नपूर्ण पदमार्गमा आजभोलि बेसीशहर– चामे ६५ कि.मि. र चामे– खाङसार २४ कि.मि सडक मार्ग निर्माण भएको छ । मनाङबाट थोराङपास गरेपछि पर्यटकहरूले मुस्ताङको मुक्तिनाथबाट पुनः सवारी साधन प्रयोग गर्न सक्दछन । तर पदमार्गमा रुचाउने पर्यटक भने पैदल यात्रा गर्दछन । बेसीशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रामा मर्स्याङदी नदीको किनारै किनार मनाङको यात्रा सुरु हुन्छ । यात्रामा खुदी, भुलभुले, ङादी, बाउनडाँडा, स्याँगे, जगत, च्याम्चे गाउँ हुँदै लमजुङ र मनाङको सिमाना पर्ने मार्दी खोला भएर पर्यटकहरू मनाङ प्रवेश गर्दछन । पदमार्गमा पर्यटकहरूले बीचमा मर्स्याङदी नदी, दाँया बाँया हरियाली डाँडाकाँडा र सुन्दर गाउँघर अवलोकन गर्दै खुदी बजारमा पुग्दछन । खुदीबाट अगाडि पुगेपछि पर्यटकहरूले अपर मर्स्याङदी ए जलविद्युत आयोजनाको विद्युत गृह अवलोकन गर्न सक्दछन ।
चीनको सिनोहाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीको लगानीमा सम्पन्न भएको ५० मेगावाट क्षमता भएको विद्युत गृहले पर्यटकलाई आकर्षण गर्दछ । त्यसपछि पुग्दछन भुलभुले क्षेत्रमा पुग्ने मर्स्याङदी नदीमा निर्माण भएको बेलिब्रिज पुल । बेलिब्रिज तर्नासाथ पर्यटकहरूले सुरुङ मार्ग यात्रा गर्न पर्ने हुन्छ । मस्र्याङदी–ए जलविद्युत आयोजनाले निर्माण गरिदिएको सुरुङ मार्ग ३ सय ४० मिटर लामो छ । सुरुङ मार्गले स्थानीयलाई आवतजावत गर्न मात्र हैन, पर्यटन प्रबद्र्धनमा समेत टेवा पुगेको छ । नेपालमा विद्युत आयोजनाले निर्माण गरेका सुरुङ धेरै छन । तर मानिस र मोटर मार्गको लागि निर्माण भएको सुरुङ मार्ग भने हेटौंडाको चुरियामाईको सुरुङ मार्ग पछिको यो दोस्रो सुरुङ मार्ग हो ।
सुरुङ मार्ग देखि पर्यटकहरू ङादीमा रहेको मर्स्याङदी– ए जलविद्युतको जलाशय अवलोकन गर्दै नागवेली उकालो यात्रामा बाहुनडाँडा पुग्दछन । बाहुनडाँडा पर्यटनका लागि भ्युटावर हो । खानी गाउँको रक गार्डेनसम्म पुग्ने पर्यटकहरूले बाहुनडाँडाबाट मर्स्याङदी नदी दायाँ बायाँका दर्जनौं गाउँहरू एउटै थलोबाट अवलोकन गर्न सक्दछन । बाहुनडाँडादेखि पदमार्गमा पर्ने लिली भिर पनि पर्यटकहरूका लागि अनौठो मानिन्छ । अहिले यो भिरको बाटोमा मोटर मार्ग बन्न लागेको छ । मर्स्याङदी गाउँपालिका– ५ मा खानी गाउँ पर्दछ । खानी गाउँमा प्राकृतिक रुपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेको छ । समुद्र सतहबाट करिब १ हजार १ सय मिटर उचाइमा रहेको खानी गाउँ बेसीशहर– मनाङ मोटरमार्ग नबन्दैको अन्नपूर्ण चक्रीय पदमार्गको मुल बाटो थियो । पछिल्लो समय बेसीशहर–चामे मोटरमार्ग खुलैसँगै ताघ्रिङको रामबजारसम्म जिपमा यात्रा गरी मर्स्याङदी नदीमा रहेको झोलुङेपुल तरेर १५ मिनेटको पैदल यात्रामा पनि रक गार्डेन पुग्न सकिन्छ ।
पर्यटन भनेको नयाँ ठाउँमा पुग्ने नयाँ कुराको अध्यन अवलोकन गर्ने हो । पर्यटकहरू पदयात्रामा प्राकृतिक सौन्दर्य, जैविक विविधता, ग्रामीण जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै रमाउन खोज्दछन । अहिले पर्यटकहरूलाई लोभ्याउने अन्नपूर्ण पदमार्ग क्षेत्र केही वर्षयता सडक निर्माण गर्ने क्रम तीव्र बनेको छ । बेसीशहर–मनाङ सडकमा सवारीको ओहोरदोहोर बढ्दो छ । तर पनि पर्यटकहरू पदयात्रामा रमाउने हुन्छन । रक गार्डेन अर्थात ढुंगाको बगैंचा भन्ने वित्तिकै थाहा नपाएका र नदेखेका पर्यटकहरूलाई अचम्म लाग्दछ । के होला भनेर धैरैलाई खुल्दुली लाग्छ । पर्यटनको क्षेत्रमा ‘रक गार्डेन’को अवधारणा पछिल्लो समय आएको छ । खानी गाउँको रक गार्डेन नेपालको पहिलो हो । प्राकृतिक रुपमा बनेको अनौठो ढुंगै ढुंगाले बनेको बगैंचामा पुग्दा पर्यटकहरू दंग पर्दै रमाउँछन । ढुंगै ढुंगाले सजिएको बगैंचा मात्र नभएर खानी गाउँको शिर अर्थात सञ्जापु गाउँ धार्मिक एवम् पौराणिक महत्वसमेत रहेको छ । प्राचिन कालमा सञ्जापु गाउँबाट पहिरो जादा बाँकी रहेको बाघको आकारको ढुंगालाई अहिले पनि मनाङको घेराङ गाउँका गुरुङहरूले पुज्ने गर्दछन ।
खानी गाउँको रक गार्डेन प्रकृतिमा रमाउने पर्यटकलाई आकर्षण गर्ने गन्तव्य भएको छ । पुरानो पदमार्गमा यात्रा गर्ने होस अथवा मोटर मार्गबाट मनाङ जान लागेको पर्यटकहरू पनि रामबजारबाट झोलुङेपुल तरी रक गार्डेन पुग्ने गर्दछन । खानी गाउँसँगै जोडिएको रक गार्डेन पहरै पहरा ठूला ढुंगाले बनेको छ । कतै गुफा छन कतै ओढार । रक गार्डेनमा कतै ठूला ठूला सुरुङ भेटिन्छन् । निकै लोभ लाग्दो रक गार्डेन पूरै घुम्न एक घन्टा भन्दा बढी समय लाग्छ । रक गार्डेन मानव सभ्यता अर्थात ढुंगे युगको बारेमा रुचि राख्ने पर्यटकहरूका लागि महत्वपूर्ण मानिन्छ । रक गार्डेन अहिले पदयात्राका लागि खानी गाउँ पुग्ने पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ । प्रकृतिले कलात्मक तरिकाले सिर्जना गरेको रक गार्डेन घुम्दा पर्यटक अनौठो मान्छन् । रक गार्डेन भित्र सुरुङ हुँदै अर्कै ठाउँ जाने बाटो छ । गार्डेनको बिचमा बस्ने ठाउँ पनि बनाइएको छ । कतिपय पर्यटकहरू रक गार्डेन चट्टानमै बास बस्न खोज्दछन ।
पर्यटनका लागि रक गार्डेनमा ढुंगेधारा, शौचालय, बाथरुम, २ वटा वरपीपलका चौतारा, स्थानीय क्षेत्रमा रहेका तर हाल लोप भइसक्ने स्थितिमा पुगेका ढिकी, जाँतो, उखु र तोरी पेल्ने कोल, पानी घट्ट आदि समेत रक गार्डेनमा जाने पर्यटकहरूले देख्न सक्दछन । रक गार्डेनभित्र विभिन्न प्रजातिका करिब ४० वटा वनस्पति पाइन्छ । ती सबै वनस्पतीको नेपाली, गुरुङ र अंग्रेजी भाषामा वैज्ञानिक नामसमेत राख्ने योजनामा रहेको छ । रक गार्डेनभित्र ऐतिहासिक चमेरे गुफा र घेर्मुका आदिम घले राजाको घोडा बाध्ने तबेला अर्थात गुफा रहेको छ । रक गार्डेनको ओडार भित्र–भित्रै पसेर अर्कोतर्फ निस्कन सकिने ओडारमार्ग, ढुंगादेखि ढुंगासम्म पुग्न ढुंगामाथि ढुंगाकै पुल रहेका छ । रक गार्डेनका ओढारमा रात विताउने, ढुङ्गामाथि पोलेर खाने, सिजन अनुसारको जंगली फलफूलहरू काफल, ऐसेलु, अम्बा, अमिली आदि टिपेर खाने वा शिकार गर्ने सुबिधा पर्यटकहरूलाई दिने सोच समेत रहेको छ । रक गार्डेनका प्रत्येक ओढारको नामाकरण पनि गरिएको छ । रक गार्डेनमा अब ७७ बटै जिल्लाबाट चट्टानहरू ल्याएर सबै जिल्लाको अपनत्व गराउन नामाकरण गरेर राख्ने योजना समेत रहेको छ । अर्कोतर्फ रक गार्डेनमा भएका बनस्पतिहरूलाई गुरुङ, नेपाली र अंग्रेजीमा नाम लेखेर रुखमा टाँस्ने योजना पनि छ ।
रक गार्डेन भएको खानी गाउँ नजिकैको घेर्मु ऐतिहासिक स्थल हो । घले राजाको शासन कालको लिखित दस्ताबेज त भेटिदैन । तर पनि आदिम कालमा मनाङको ङावल गाउँमा घलेराजा ख्योम्योर घले थिए । ङावलको घले राजाको ११ पुस्ता ताछातोर्खे घले घेर्मु गाउँमा राजा भएका थिए । दरवार भएको घेर्मु फाँटमा अहिले खेती योग्य खेत रहेको छ । किसानहरूले खेती गर्दा खनजोत गर्ने क्रममा दरवारको भग्नावशेष जग, घोडालाई दाना खुवाउने ढुङगाको ओखल, इटाको टुक्रा भेटिने गरेको छ । ताछातोर्खे घले राजा अत्यन्त अत्याचारी र यौन पिपाषु थिए । यौन पिपाषु राजा ताछातोर्खेलाई घेर्मुबासीले मनाङको थोराङलेक कटायर मुस्ताङतिर धपायका थिए । इतिहासमा रुचि राख्ने पर्यटक रक गार्डेन जादा ताछातोर्खे घले राजाको बारेमा पनि सोधखोज गर्दछन । खानी गाउँको रक गार्डेन जादा पर्यटकहरूले मर्स्याङदी किनारमा रहेको बाहुनडाँडाको तातोपानी कुण्ड र जगतको तातोपानी कुण्डमा नुहाउन खोज्दछन । कुण्डमा नुहाउँदा विभिन्न किसिमका छालाका रोग निको हुने विश्वास छ ।
अर्कोतर्फ पर्यटकहरूलाई रक गार्डेन जाँदा मनाङ जाने मोटर मार्गमा पर्ने स्याङ्गे झरना र अक्टोपस झरना पनि पुग्न खोज्दछन । स्याँगेमा साहसिक पर्यटकहरूले जिपलाइन खेलको मज्जा पनि लिन सक्दछन । पर्यटकहरूले खानी गाउँ भन्दा तल मर्स्याङदी नदीको किनारमा रहेको नुन खानी समेत हेर्न खोज्दछन । नुन खानी अहिले भने पर्यटकहरूले देख्न सक्दैनन । आज भन्दा ७५ बर्ष पहिले आएको पहिरोले नुनखानी पुरी दिएको छ । इतिहास अनुसार राणा प्रधानमन्त्री वीर शमशेरले वि.स. १९५२ मा घनपोखराका मणिलाल गुरुङलाई सुब्बा पदवी दिएका थिए । त्यो बेला तिब्बतबाट नून खरिद गरी तिल्चे गाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्कीलगायतका ठाउँका मानिस गएर चामलसँग नुन साटेर ल्याउने व्यापारिक केन्द्र तिल्चे गाउँ थियो । नुनको कर लिने ठाउँ भने जगतमा थियो । यो कर घनपोखराका सुब्बा गुरुङ परिवारले उठाउने गर्दथिए । त्यहि बेला सुब्बा गुरुङहरूले खानी गाउँ तल मर्स्याङदी नदी किनारमा नुन खानी समेत सन्चालनमा ल्याएका थिए ।
खानी गाउँमा प्राकृतिक रुपमा चट्टानै चट्टानले विभिन्न आकृतिको रक गार्डेनमा घुम्दा पर्यटकहरूले छुट्टै अनुभूति गर्दछन । खानी गाउँमा पर्यटकहरूका लागि रक गार्डेन सामुदायिक होमस्टे सञ्चालन छ । अहिले गाउँमा १० घरमा होमस्टेमा पर्यटकहरूले स्थानीय अग्र्यानिक खाना र आमा समूह, स्थानीय बाल क्लबको एकल तथा समुहगत नृत्यले पर्यटकहरूलाई मनोरञ्जन हुने गरेको छ । खानी गाउँमा खोजे जस्तो स्तरीय वा सुविधायुक्त होटल, रेस्टुराँ, लज नहोलान । तर, खानी गाउँमा हार्दिकता पूर्वक स्वागत गर्ने घर पर्यटकहरूले भेटछन । ती घरमा तपाईं परिवारजस्तै भएर बस्न सक्नुहुनेछ । रैथाने बासिन्दासँग घुलमिल गरेर फरक स्वाद लिन सक्नुहुनेछ । खानी गाउँमा भेटिने हरेक मानिसले तपाईंसँग परिचित मुस्कान दिनेछन । गाउँमा नौलो अनुहार देख्ने बित्तिकै सोधी हाल्छन– ‘हजुर ! कहाँसम्म ? कहाँबाट आउनु भयो ? हाम्रो गाउँमा यहाँलाई स्वागत छ ।’ त्यतिमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउने छन । चियापानी टक्राउने छन । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन । बारीमा फलेका फलपूmल, मकै पाकेको छ अथवा सिजन अनुसार फलफूल काँक्रा, केरा, अम्बा जे छ तपाईंलाई चखाउँन खोज्दछन ।
पर्यटकहरू गाउँमा पुग्दैमा पर्यटनको विकास हुने होइन । अब खानी गाउँमा पर्यटनको विकास गर्न वस्तुको उत्पादन बढाउनु पर्दछ । अहिले पर्यटनबाट केवल गाउँघर र रक गार्डेनको अवलोकन मात्र भएको छ । पर्यटक हुनको लागि उनीहरूमा खर्च गर्ने बानीको विकास हुनुपर्दछ । पर्यटकहरू खर्च गर्न तयार छन तर खर्च गर्ने वस्तु र ठाउँ भेटाएका छैनन । पर्यटकहरू पुग्ने गाउँघर वरपर वस्तुको उत्पादन भएन भने आर्थिक विकास हुँदैन । आर्थिक विकासको लागि उत्पादननै गर्नुपर्दछ । पर्यटकहरूले मौलिक खाना, हस्तकला, मौलिक पेय पदार्थ खाउन भन्ने मात्रै होइन, किनेर पनि लैजाउन र यस्ता स्थलको अवलोकन गरुन भन्ने उद्देश्य लिनु पर्दछ । जसले गर्दा पर्यटकहरूको गाउँमा बसाइ लम्बिन जान्छ र । पर्यटकहरूको बसाइँ लम्बिनु भनेको गाउँमा पैसा पुग्नु हो ।
कितावमा पढेको र अरुले सुनाएको तर आफू नपुगेको ठाउँ सबैलाई कौतुहलको बिषय बन्दछ र ति ठाउँहरूमा पुग्न खोज्दछन् । घुम्ने अनकुल मिलेपछि साथी भाइहरूसँग योजना बनाएर घुम्न निस्कन्छन । पर्यटकहरूले जहिले पनि नयाँ, आफूले नदेखेको नौलो अनुभूति दिने, देख्दै आचश्र्य लाग्ने जस्ता ठाउँहरूमा आफ्नो गन्तब्य बनाउन चाहन्छन । पर्यटनमा यस्तो भनाइ पनि छ ! हिमाल नदेखेकालाई हिमाल र समुन्द्र नदेखेकालाई समुन्द्र देख्न मनमा कौतुहल हुन्छ । खानी गाउँ पुगेपछि पर्यटकहरूलाई छुट्टै अनुभव हुन्छ । खानीगाउँमा अब पर्यटनको विकास गर्न प्राकृतिकरुपमा रहेका विभिन्न आकृतिका ढुंगाहरूलाई विभिन्न कलात्मकरुपमा स्वरुप निकालेर तथा प्राकृतिक आकर्षक वनस्पति(काफल, गुराँस आदि)को विकास पर्यटकहरूलाई थप आकर्षण दिलाउने हो भने पर्यटकहरूको सख्या पढछ । ढुंगालाई कुँदेर विभिन्न आकृति निकाल्ने कलाकारहरू अहिले नेपालमै धेरै भेटिन्छन । त्यसको लागि स्थानीय तहको सोच हुन जरुरी छ ।
प्रकाशित मिति २०८१ चैत्र २०, बुधबार ०७:१७ गते