तीनपिप्ले(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय उपसभापति एवम् संघीय सांसद डा. स्वर्णिम वाग्लेले सुसंस्कृत राजनीति एवम् सुशासनको प्रत्याभूति रास्वपाको अभियान हो भन्नुभएको छ । उहाँले लमजुङको राइनास नगरपालिकाको नगर भेलाको उदघाटन मन्तव्यका क्रममा चैत २३ गते त्यस्तो बताउनु भएको हो ।
विकृत राजनीतिलाई सङ्लो बनाउन रास्वपाको स्थापना :
उहाँले रास्वपाका सभापति रवि लामिछानेले टेलिभिजनका माध्यमले गर्नु भएको सेवाले मात्र पुगेन भन्ने छाडेर राज्यको मूल नीति, विकृत राजनीतिलाई सङ्लो बनाउन रास्वपाको स्थापना गर्नु भएको हो भन्दै आज उहाँले थालेको त्यही अभियानबाट तर्सेकाहरूले कार्यालय समय बिते पछि पनि राजनीतिक प्रतिशोध साध्न र उहाँलाई गलाउन सकिन्छ कि ! भन्ने धेयले हिजो साँझ बिना पूर्जी, बेडरुममै पुगेर गिरफ्तार गरिएको छ, यो प्रतिशोधपूर्ण राजनीतिको पराकाष्टा हो भन्नुभयो । उहाँले उच्च अदालतले गरेको आदेश जिल्ला अदालतमार्फत कार्यन्वयन गर्ने परम्परासमेत मिच्दै सुनियोजित तवरबाट सभापतिलाई गिरफ्तार गरिएको छ, सरकारको यस्तो हरकतको जस्तोसुकै शब्दमा निन्दा एवम् भर्त्सना गर्दा पनि थोरै हुन्छ भन्नुभयो ।
सहकारीको मुद्दा लगाउनु हाँस्यास्पद :
वरिष्ठ अर्थविद् तथा संघीय सांसद समेत रहनु भएका डा. वाग्लेले सरकार सहकारीको समस्या समाधान गर्न र सहकारी पीडितको रकम फिर्ता गर्ने र उहाँहरूलाई न्याय दिने सोचमा छैन केवल रविप्रति राजनीतिक प्रतिशोध साध्नमात्र तल्लिन छ भन्ने पार्टी सभापति रविको ८४ दिनको हिरासतको बसाईबाट र त्यसपछिका सरकारी गतिविधिले समेत पुष्टि गरेको उल्लेख गर्नु भयो । उहाँले कुनै पनि सहकारीको रकम सभापतिको व्यक्तिगत खातामा गएको छैन, कम्पनी(टेलिभिजन)मा गएको पैसा उहाँले झिक्ने क्रममा सही गर्यो रे ! भनेको भरमा, त्यो पनि सत्य भए पनि कम्पनी ऐन अन्तरगत मुद्दा चलाइनु पर्नेमा सहकारीको मुद्दा लगाउनु हाँस्यास्पद हो भन्नु भयो । उहाँले प्रश्न गर्र्दै भन्नुभयो, ‘सहकारीका पीडितलाई न्याय दिन मन भए, हिजोआज सरकारका मान्छे जिवि राईको नाम किन लिदैनन् ?’
एक्लो रविले पार्टी खोलेको करिव पाँच महिनाको अवधिमा झण्डै १२ लाख मत पाएको छ भने पुराना र सबैभन्दा ठूला भन्ने दल काँग्रेस, एमालेले २७, २८ लाख मत पाएका छन् । आउँदो चुनावमा रास्वपाको मत कम्तिमा तीन गुणाले बढेर ३६ लाख पुग्ने तर काँग्रेस, एमालेको मत झरेर १२, १३ लाखमा सीमित हुनेछ भन्ने ठोकुवा गर्नु भयो ।
उहाँले पार्टीको सिद्धान्त एवम् लक्ष्य परिस्कृत संविधानवाद र सुसंस्कृत राजनीति हो भन्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियो ।
त्यसैगरी, उहाँले मुलुकको पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार चलाउने र तेस्रो, चौथो दललाई न्याँक्ने काम विश्वका लोकतान्त्रिक मुलुकमा आजसम्म नभएको रकेर्ड हो भन्नुहुँदै कुशासनले देश गाँजिरहेको बताउनु भयो । उहाँले कुशासनका कारणले देशको राजनीतिमात्र प्रदुषित भएको छैन, अर्थतन्त्र समेत ठप्प भएको छ र वातावरण समेत दुषित हुन पुगेको छ उहाँले भन्नुभयो । त्यसैले रास्वपालाई देशको निराश स्थितिलाई बदल्दै सुशासन कायम गर्ने अवसर आएको छ र यो मौका हामीले चुकाउनु हुँदैन डा. वाग्लेले भन्नुभयो ।
उहाँले ऐलेको नेपालका सत्ताधारीहरूको मरण पनि ४० वर्ष शासन गर्ने कर्णेल गद्दाफीको नालीमा सुत्न पनि नपाउनेजस्तो हुनेछ भन्ने ठोकुवा गर्नु भयो ।
तनहुँको इतिहासमा सबैभन्दा बढी ३५ हजार मत ल्याएर विजयी भएको स्मरण :
डा. वाग्लेले तनहुँको इतिहासमा सबैभन्दा बढी ३५ हजार मत ल्याएर विजयी भएको स्मरण गर्दै रविले दोस्रो पटक ल्याएको मत देखेर भ्रष्टाचारमा रमाएका दलहरू बढी तर्सेका छन् भन्ने उल्लेख गर्नु भयो । यो अवसरलाई हामीले उपायोग गर्नु पर्छ भन्दै हामी कोही पनि दुई कार्यकालभन्दा बढी समय एउटै पदमा बस्ने छैनौं र सुसंस्कृत राजनीति कस्तो हुन्छ ! हामी देखाउँछौं डा. वाग्लेले थप उल्लेख गर्नुभयो ।
क्रुर तानाशाही प्रवृत्ती :
सो अवसरमा केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले देशका सम्मानित चार शहीदलाई तथा मृत्युदण्ड दिने देशहरूमा त्यस्तो सजाय पाएका व्यक्तिहरूलाई फाँसी दिनु अघि सोधिने ‘अन्तिम इच्छा के छ ?’ भन्ने प्रश्न त्यो पनि सादा पोशाकमा गएको प्रहरी(डिएसपि)ले पार्टी सभापति रविलाई सोध्नुको अर्थ के हो ? कानुनी राज्यमा बिना पूर्जी रातको ८ बजे कुनै पनि मानिसलाई उसको सुत्ने कोठामा गएर गिरफ्तार गर्ने अधिकार देशको संविधानको कुन धारा वा कुन कानुनले दिएको छ ? यस्तो रबैया र व्यवहार क्रुर तानाशाही प्र्रवृत्ती भन्दा केमा भिन्न छ ? भन्ने प्रश्न गर्नु भयो ।
यो सरकार ठूला दलको गठबन्धन नभई ठगबन्धन हो :
यो सरकार ठूला दलको गठबन्धन नभई ठगबन्धन हो भन्ने सरकारका गतिविधिले पुष्टि गरेको छ भन्ने उल्लेख गर्नुभयो । उहाँले अग्लो रुखमा हावा लाग्छ भन्दै रास्वपा अग्लो रुखमा परिणत भएको हुँदा हावा लागेको हो तर हामी विचलित हुने र मनोबल गिराउने काम गर्नु हुन्न आफ्नो कार्यक्षेत्र र कर्ममा जुटिरहनु पर्छ भन्नुभयो ।
उहाँले अर्कोएक प्रसङ्गमा दुर्गा प्रसाईको दोष नभई आज सत्तामा भएका दलले गरेको कुकर्मको उपज दुर्गा प्रसाई हुन् भन्दै आफूलाई गणतन्त्रवादी हुँ भन्नेहरूले गणतन्त्रलाई बाँदरको गाँड जस्तो तन्त्र बनाएका छन् भन्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा विदेश विभागका सचिव पदमराज पन्थीले स्थानीय तहको निर्वाचनका बेलामा आफूले भोग्नु परेको पीडा र अनुभव सुनाउँदै ठूला भनिने दलहरूको हैकमवादी प्रबृत्तीको चिरफार गर्न आफूहरू लागि परेको बताउनु भयो । उहाँले रास्वपाको नयाँ जागरणको अभियानले मात्र देशमा व्याप्त सबैप्रकारका विकृतिको अन्त्य गर्न सक्छौं भन्ने उल्लेख गर्नुभयो ।
जनप्रतिनिधि हुँ भन्नेहरू पार्टीको दलगत घेराभन्दा माथि उठ्न सकेका छैनन् :
यसैगरी, रास्वपाको जिल्ला सल्लाहकार परिषद लमजुङका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले रास्वपा पार्टीमात्र नभई अभियान हो जस्ले सुशासन, स्वाभिमान, राष्ट्रिय स्वाधिनताका पक्षमा काम गरिआएको छ भन्नुभयो । उहाँले सिंहदरबार गाउँघरमा आयो भनिन्छ तर स्थानीय तहमा निर्वाचित भएको जनप्रतिनिधि हुँ भन्ने वा बनेकाहरू पार्टीको दलगत घेराभन्दा माथि उठ्न सकेका छैनन् । उनीहरूले पालिकाको बजेट पनि पैतृक सम्पत्ती झैं बाड्ने गरेको छन्, त्यसैले उनीहरूलाई उचित पाठ पढाउनु पर्ने बेला आइसकेको छ भन्नुभयो । उहाँले जिल्लामा भएका भ्रष्टचारका उदाहरण दिदै भन्नुभयो डुम्रे– बेसीशहर सडक डुम्रे– चाँपबाससम्म पनि कस्तो थियो आज १०– १२ मिनेटमै पार गर्न सकिने भएको छ तर त्योभन्दा माथिको भागको सडक विस्तारको काम किन ? कस्को स्वार्थ सिद्ध गर्नका लागि रोकिएको हो ? सत्ताधारीहरूले जवाफ दिन सक्नु पर्छ भन्नुभयो ।
उहाँले जिल्लामा पत्रकारिताको दयनीय अवस्था छ, जिल्लाकै नेता सञ्चार मन्त्री भएर पनि यो क्षेत्रमा सुको पैसा लगानी गरिएको छैन तर जिल्लामा खेलकुद र सांस्कृतिक महोत्सवका लागि २० लाख रुपैयाँ सञ्चार मन्त्रालयबाट दिइएको छ, के यस्तो गर्न मिल्छ ? यो कस्तो सुशासन हो ? भन्ने प्रश्न वरिष्ठ पत्रकार पहाडीले उल्लेख गर्नु भयो ।
फोनका लोभ र दबाबमा पर्न हुँदैन :
सो अवसरमा पार्टीका नवप्रवेशी लक्ष्मण चिलुवालले काँग्रेस सामन्तको पार्टी भएको हुँदा सर्वसाधारणको हितका लागि वामपन्थी हुनुपर्छ भनेर एमाले भएको, आफूले एमालेको साधारण सदस्यदेखि जिल्ला सदस्य समेत भएर काम गरेको तर त्यहाँ इमान्दार व्यक्तिको खैरियत हुने रहेनछ भन्ने देखियो, त्यहाँ गर्ने गरिएको काखा र पाखाको नीतिभन्दा रास्वपाले लिएको नीति ठीक लागेर त्यो पार्टी त्याग गरी हिजो(चैत २२ गतेका) दिनदेखि यो पार्टीमा प्रवेश गरेको हुँ भन्नुभयो ।
उहाँले सुरुका दिनमा यो जिल्लामा पो कति थिए र एमाले ? भन्ने प्रश्न गर्दै हामी थोरै छौं भनेर चिन्ता गर्नु पर्दैन राम्रो काम गर्न सक्नु पर्छ, त्यसो भयो भने पार्टीको पछि लाग्नेहरूको कमी हुने छैन भन्नुभयो । उहाँले आफू रास्वपामा प्रवेश गरेको थाहा हुनासाथ हिजोका दिनमा आएका फोन र दबाबले गएको रातभर निदाउनसमेत नपाएको जानकारी दिँदै त्यस्ता फोनका लोभ र दबाबमा पर्न हुँदैन भन्नुभयो ।
यसैगरी, पूर्वबैंकर्स समेत रहनु भएका सुभनाथ चिलुवालले आफूले पनि एमाले सम्बद्ध संगठनमा जिल्लादेखि केन्द्रीय तहको पदमा समेत बसेर काम गरेको तर चित्त बुझ्दो व्यवहार नदेखेपछि रास्वपामा प्रवेश गरेको हुँ भन्नुभयो । उहाँले हामीले निःस्वार्थ ढंगले जनसेवाका काम गरेमा कसैले उछिन्न सक्ने छैनन् भन्नुभयो ।
रास्वपाका जिल्ला अध्यक्ष अशोक सापकोटाको अध्यक्षतामा भएको उक्त भेलामा सो दलका जिल्ला उपसभापति प्रकाश थापाले स्वागत गर्दै निर्वाचन अधिकृतको भूमिका निभाउनु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मीना खड्काले गर्नु भएको सो दलका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले जानकारी दिनुभयो ।
सो भेलाले राइनास नगरको सभापतिमा वडानं– ९ निवासी धनबहादुर गुरुङलाई चयन गरेको छ ।
त्यस्तै, वडानं– १० का लिलबहादुर गुरुङ उपसभापति, वडानं– ७ का सुभनाथ चिलुवाल सचिव, वडानं– ३ की हरिकला पन्थी कोषाध्यक्ष तथा खुला सदस्यमा विश्वलाल श्रेष्ठ, रामबहादुर थापा, जगतलाल श्रेष्ठ, दलित सदस्यमा पृथ्वीलाल विक तथा महिला सदस्यमा मोतिलाल श्रेष्ठ चयन हुनु भएको सो दलका जिल्ला सहसचिव बाबुराम अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो अवसरमा गठित वडानं– ९ को वडा समितिमा सभापति राजु गुरुङ, उपसभापति अर्जुन गुरुङ, सचिव रोजन गुरुङ चयन हुनुभएको छ भने सदस्यहरूमा थमनबहादुर थापा, ओमप्रसाद गुरुङ, रमी विक, काशी विक, बिना गुरुङ र टकबहादुर गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै, वडानं– ३ को तदर्थ समितिमा सभापति रामजी बास्कोटा, उपसभापति कृष्णप्रसाद पन्थी, सचिव तिलक मगर तथा सदस्यमा शिवप्रसाद पन्थी र सृजना शाही चयन हुनुभएको सो नगरका निवर्तमान कावा सभापति एकनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
सो निर्वाचन समितिमा सदस्यको भूमिकामा जिल्ला सदस्य मीना खड्का र सविता अधिकारी बरालले निभाउनु भएको सो दलका जिल्ला सचिव रमा खड्काले जानकारी दिनुभयो ।
उक्त अवसरमा निर्भिक एवम् खुला व्यक्तित्वका धनी नवीनप्रसाद पाण्डेले आयोजक तथा अतिथिहरूलाई चिसोको प्रवन्ध गर्नु भएको थियो भने महेश चिलुवालमार्फत स्थानीय आमा समूहले कार्यक्रमका लागि ४२ वटा कुर्सीको निःशुल्क प्रवन्ध गर्नु भएको थियो ।
कार्यक्रममा एमालेका सोही नगरको वडा उपसभापति जसबहादुर गुरुङ सहित ५५ जनाले रास्वपाको नयाँ सदस्यता लिनु भएको थियो । नवप्रवेशीहरूलाई रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी, जिल्ला अध्यक्ष अशोक सापकोटाले पार्टीको लोगो पहिराउँदै पार्टीमा स्वागत गर्नु भएको थियो ।
त्यस्तै, भेलाको समापनमा नवनिर्वाचित नगरका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले र वडाका नवनिर्वाचितहरूलाई नवनिर्वाचित नगर सभापति धनबहादुर गुरुङले शपथ खुवाउनु भएको थियो ।
नवीनप्रसाद पाण्डे जिल्ला सल्लाहकार समितिको सदस्य मनोनित :
यसैबीच, सस्वपाको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी तथा जिल्ला समितिको सहमतिमा नवीनप्रसाद पाण्डेलाई जिल्ला सल्लाहकार समितिको सदस्यमा मनोनित गरिएको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८१ चैत्र २३, शनिबार २१:३१ गते