भोर्लेटार(लमजुङ)– हत्तपत्त पत्याउन कठिन लाग्ने काम गरेका छन् लमजुङका १४ वर्षीय दुई परियार बन्धुहरूले ।लमजुङका १४ वर्षीय दुई भाइ परियारहरू पुर्ख्यौली विरासत धान्नका लागि परम्परागत बाजा सिक्दै, बजाउँदै, कमाउँदै र पढ्दै गरेर त्यस्तो प्रमाणित गरेका हुन् । उनीहरू लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारको रानीपानी गाउँ निवासी मनोज परियार र सन्तोष परियार हुन् ।
ती दुवै भाइ स्थानीय ईशानेश्वर माध्यामिक विद्यालयको क्रमशः कक्षा– ८ र कक्षा– ७ मा अध्ययन गर्दछन् । मनोज परियार सनाई बजाउने काम गर्दछन् भने सन्तोष परियारले टेम्को बजाउने काम गर्ने गरेका छन् । सनाई र टेम्को नौमती अर्थात गाउँघरमा पञ्चैबाजाका रुपमा चिनिने नौ थान बाजाहरूमध्ये दुई थानमा पर्दछन् ।
सनाई पञ्चैबाजाको मुल बाजामै गणना हुन्छ । एउटा पञ्चैबाजाको टोलीमा सनाइको एक जोडी हुन्छ । मनोजले आफ्नै काका नाताका मोतीबहादुर परियारसँग सनाई बजाउन सिकेको बताए । उनका अनुसार यसरी बाजा सिकेको आठ महिना भयो । उनले भने, ‘दुई महिना सिकेपछि समूहमा बाजा बजाउन हिड्न थालेको हुँ, एक पटक, एक दिनका लागि बाजा बजाउँदा कम्तिमा पाँच सय रुपैयाँ कमाउने गरेको छु ।’
घरायसी आर्थिक अवस्था पनि कमजोर भएर बाबु– आमाका लागि आफ्नो पढाई खर्च जुटाउन समेत मुस्किल परिरहेको बेलामा मनोज र सन्तोष दुवैले सनाई बजाउन सिकेर आफ्नो पढाई खर्च आफै जुटाउन थालेका हुन् । त्यसपछि मनोज र सन्तोष दुबैका बाबु– आमासमेत खुशी भएको उनका काका मोतीबहादुर परियारले बताउनु भयो । उहाँका अनुसार पछिल्ला छ महिना यता उनीहरूको पढाई खर्चका लागि तिनका आमा– बाबुले अब टेन्सन लिनु नपर्ने भएको छ ।
लोकसंस्कृतिको रक्षा हुने, बाबु– बाजेको विरासतलाई धान्न सकिने र पढाई खर्चको समेत जोगाड गर्न सक्ने लागे पछि आफूले सनाई बजाउन सिकेको मनोजले बताउँछन् ।
मनोजको बाजा टोली राष्ट्रिय स्वतन्त्र पार्टीको मध्यनेपाल नगरपालिका– ६ को वडाअधिवेशनका अवसरमा निकालिएको र्यालीमा बाजाबजाउन आएको बेलामा यो पंक्तिकारसँग भेट भएको हो ।
त्यसैगरी, सन्तोष परियारको पनि उमेर मनोजको जस्तै समान १४ वर्ष नै भएपनि उनी भने कक्षा– ७ मा अध्ययन गर्दछन् । मनोजभन्दा सन्तोष पढाईमा पनि केही कमजोर भएको हुँदा र एक वर्ष पढ्न ढिला स्कूलमा गएका कारणले पनि मनोजको भन्दा कक्षा एक कम भएको सन्तोषले सुनाए । उनका अनुसार बाबु– आमाले दिनभर ज्याला मज्दुरी गरेर ल्याएको पैसाले किनेर खाई पेट पाल्नु पर्ने हुँदा बाबुआमाले पढ्ने खर्च दिन सक्दैनन् कि ? भनेर आफू सुरुमा पढ्न गएको थिइन । उनले भने, ‘अब त आफ्नो खर्च आफै जुटाउन सक्ने भएको छु मनोजभन्दा एक पछि ढिला भएपनि, पढ्छु भन्ने लागेको छ ।’ मनोजले सिकेपछि आफूलाई पनि बजाउन सिक्न मन लाग्यो र सिकेको हुँ सन्तोषले भने ।
उनले टेम्को बजाएर एकपटकमा तीन सयदेखि चार सय रुपैयाँसम्म कमाई गर्ने गरेको सुनाए । उनका अनुसार शनिबार, विदा परेको दिन र विवाह, ब्रतबन्धको लगन परेको महिनामा प्रायः खाली हुँदैन कमाई पनि राम्रो हुन थालेको छ । उनले भने, ‘यो हाम्रा बाबुबाजेले गरिआएको पेशा पनि हो र लोकसंस्कृति पनि हो, यस कामबाट लोक संस्कृतिको संरक्षण हुने, कमाइ पनि हुने हुँदा यसलाई नै भोलिका दिनमा पेशाका रुपमा अपनाउने सोच बनाएको छु ।’
‘सिम्पानी नौमती बाजा समूह’को नाम दिइएको उक्त बाजा समूहको नाइके समेत हुनुहुन्छ– मोतीबहादुर परियार । उहाँले आफ्नो टोलीले सधैं काम पाओस् भनेर अन्यत्रको भन्दा आफूहरूले झण्डै ४०– ५० प्रतिशत कम ज्यालामा यो काम गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्यले ५०– देखि ७० हजार रुपैयाँसम्म लिने गरेको ठाउँमा आफ्नो टिमले ३५ हजारदेखि ५० हजार रुपैयाँसम्म मात्र लिने गरेको छौं ।’
सो बाजाको समूहमा नौवटा बाजा हुन्छन् र एकजना नायक समेत १० जनाको टोली हिड्ने गरेको बाजा समूहका नाइके मोतीबहादुरले जानकारी दिनु भयो । उहाँका अनुसार नाइके, नरसिंगा, सनाईको यौटा दररेट राखिएको र अन्यको एउटा दरले समूहमा पारिश्रमिक बाड्ने गरेका छौं । नरसिंगा र सनाई बजाउन अन्य बाजा बजाउन भन्दा कठिन हुने भएको हुँदा पनि ती बाजा बजाउनेहरूले स्वतः बढी रकम लिने चलन उहिल्यैदेखिको हो उहाँले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति २०८१ चैत्र २४, आईतवार ०८:२० गते