रानीकुवा(लमजुङ)– लमजुङमा विद्युतीय सुरक्षा दिवसमा सो सम्बन्धी विविध कार्यक्रमका साथ मनाइएको छ । सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण र सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जिनियर नेपाल (क्भ्भ्ल्)को संयुक्त आयोजनामा चैत्र २६ गते मनाइएको हो ।
प्रधिकरणले रहेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रभातफेरि, अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रले जनाएको छ ।
सोही अवसरमा अन्तरक्रिया र छलफल गर्नु अघि प्रभात फेरि गरिएको थियो । प्रभातफेरी (र्याली) कार्यक्रममा बेसीशहर नगरपालिका– ३ को रानीकुवा स्थित लमजुङ वितरण केन्द्रको कार्यालयबाट सुरु भएको थियो । सो र्यालीमा उक्त केन्द्रमा कार्यरत कर्मचारीहरू सुरक्षा सम्बन्धी प्ले कार्ड, ब्यानर सहित रानीकुवादेखि मजुवाखोला, दुलाल टोल, अर्थ्लीचोक, सेरा चोक हुदै पुनः रानीकुवा स्थित कार्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरि कार्यक्रममा सहभागीहरूले विद्युतीय सचेतनाका व्यानर तथा प्लेकार्ड समेत बोकेका थिए ।
ती व्यानर, प्लेकार्डमा ‘प्रलोभनमा नपरौँ, विद्युतको सुरक्षित उपयोग गरौँ ।’, ‘सुरक्षाप्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो ।’, ‘सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा ।’, ‘नगरौ है चोरीको धन्दा ! परिएला कानुनको फान्दा ।’, ‘विद्युतीय चोरी गर्नु कानूनी र सामाजिक अपराध हो ।’, ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, विकास र समृद्धीका लागि विद्युतकको उत्पादनशील प्रयोग ।’ जस्ता नारा लेखिएका व्यानर, प्लेकार्डहरू प्रस्तुत गरिएको थियो ।
प्रभातफेरीपछि विद्युतीय सुरक्षा सम्बन्धी अन्तरक्रिया र छलफल गरिएको हो । उक्त कार्यक्रम लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले सुरक्षा दिवसको उद्देश्यबारे प्रकाश पार्नु हुँदै सम्पूर्ण कर्मचारीहरूलाई विद्युतीय जोखिमहरू, त्यसको पहिचान र सुरक्षित रहने उपायहरूका बारेमा जानकारी दिनुभएको थियो । देशैभरी विद्युतिय दुर्घटनाका घटनाहरू बढिरहेको अवस्थामा प्रमुख भट्टाईले सुरक्षाका सामग्रीहरूको अधिक्तम प्रयोग गरी दुर्घटना न्यूनीकरण गर्न सकिने सुझाउँदै त्यसका लागि आह्वान समेत गर्नुभएको थियो । उहाँले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित गराउन सम्पूर्ण कर्मचारीहरूलाई पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो । 
उहाँले छलफलका क्रममा उठेका प्रश्नहरूको समेत जवाफ दिनु भएको थियो । कार्यक्रममा सहभागी भएका झण्डै दर्जन कर्मचारीले विद्युत सुरक्षा तथा जोखिम स्थितिका बारेमा जिज्ञासा सहितका प्रश्न गरेका थिए ।
लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन आयोजक कार्यलयका प्रशासन प्रमुख तेजनारायण आचार्यले गर्नभएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र २६, मंगलवार १४:०० गते