
काठमाडौं– आज गए रातीदेखि देशका विभिन्न स्थानमा पानी परेको छ । यसले काठमाडौं उपत्यकामा विग्रिएको वावतरणमा राहत मिल्ने आंकलन गरिएको छ । काठमाडौं आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम भोलि पनि जारी रहने मौसमविद्ले चैत २८ गते बताएका छन् ।
आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम आज राति पनि जारी रहनेछ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने र प्रदुषित वातावरणमा राहत मिल्ने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको हो । पानी केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ मौसमविद गोविन्द झाले बताउनु भयोे ।
लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरूलाई यो वर्षाले केही राहत दिएको छ । तर कतै कतै असिना पानी, चट्याङ तथा पहिरोले दुःख दिएको पनि छ । काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । मोरङको केराबारीमा पछिल्लो २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
पर्सीदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद झाले जानकारी दिनुभयो । आजको तुलनामा भोलि र भोलिको तुलनामा पर्सी पानी कम पर्ने उहाँले उल्लेख गर्नुभयो ।
कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी र मधेसमा मध्यम वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा वर्षा सुरु भइसकेको अर्का मौसमविद् डेबिड ढकाल बताउनु भयो । उहाँका अनुसार बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैबीच, इलामको कन्काईमा एक घन्टाकै अवधीमा ५२.८ मिलिमिटर, झापाको शनिश्चरेमा २५ मिलिमिटर, अनारमनी र बर्फल्याङमा १० मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंको कीर्तिपुरमा पछिल्लो एक घन्टामा २१ मिलिमिटर वर्षा भएको छ ।
रौतहटको गौरमा एक घन्टाको अवधीमा ४६ मिलिमिटर वर्षा मापन भएको छ । सिरहामा २० मिलिमिटर वर्षा भएको छ ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०–५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी प¥यो भने अति भारी वर्षा भन्ने गरिन्छ ।
प्रकाशित मिति २०८१ चैत्र २८, बिहीबार ०८:०५ गते