रेडियो मर्स्याङदीद्वारा स्थापना दिवसमा कार्वन उत्सर्जन र जैविक विविधताबारे अन्तक्रिया

रेडियो मर्स्याङदीद्वारा स्थापना दिवसमा कार्वन उत्सर्जन र जैविक विविधताबारे अन्तक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २७ गते बिहिबार १२:१२

रेडियो मर्स्याङदीले जिल्लास्थित डिभिजन वन कार्यालय लमजुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि)को सहयोगमा सो अन्तक्रिया कार्यक्रम गरेको हो ।

वन क्षेत्रको संरक्षणमा प्रमुख चुनौती वन डढेलो रहेको र लगभग ८४ प्रतिशत वन डढेलो मानवीय क्रियाकलापका कारण हुने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा कार्वन उत्सर्जन, जैविक विविधतामा डढेलोको प्रभाव र न्युनिकरणका लागि सरोकारवालाको भुमिका विषयक अन्तक्रिया गरिएको छ । स्थापनाकालदेखिनै आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको सामुदायिक रेडियो मर्स्याङदीले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा सो कार्यक्रम चैत २७ गते सञ्चालन गरेको हो ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषवहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले पछिल्लो समय कार्वन उत्सर्जन र यसको प्रभाव स्थानीयरुपमा मात्र नभई विश्वव्यापी समस्याका रुपमा खडा भएको बताउनु भयो । उहाँले खासगरी हिउँदको समयमा वनजंगलमा डढेलो लाग्ने क्रम बृद्धि हुँदा त्यसको असर वातावरणमा पर्ने गरेको हुँदा यसको रोकथाम तथा न्यूनीकरणप्रति सचेत हुन आवश्यक छ भन्नुभयो ।
मन्त्री पौडेलले न्युन श्रोत साधन र भौगोलिक विकटताको कारण लमजुङ जस्ता पहाडी जिल्लाहरूमा डढेलो नियन्त्रण चूनौतिपूर्ण भएकोले नीतिगत रुपमै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वातावरण प्रदुषण नियन्त्रण तथा न्युनीकरणका लागि प्राथमिकताको क्षेत्र निर्धारण गर्नुपर्ने, आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने, बढी जोखिम क्षेत्रको पहिचान गर्नुपर्ने र सचेतनाका कार्यक्रमलाई बृहत बनाउनु पर्ने लगायतका विषयलाई प्राथमिकतामा राखी प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यलय लमजुङका प्रमुख दिपकप्रसाद पण्डितले कार्वन उत्सर्जन र जैविक विविधतामा वन डढेलोको प्रभाव र यसको न्युनीकरणका उपायहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले वन क्षेत्रको संरक्षणमा प्रमुख चुनौती वन डढेलो रहेको र लगभग ८४ प्रतिशत वन डढेलो मानवीय क्रियाकलापका कारण हुने गरेको बताउनु भयो । पण्डितले समस्या समाधानका लागि कुनै एक निकायले मात्रै सम्भव नभएको भन्दै सवै सरोकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, एक्याप इलाका कार्यलय भुजुङका प्रमुख प्रमोदराज रेग्मी र ग्रामीण सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले वन डढेलो नियन्त्रण र वातावरण क्षेत्रमा आफ्नो संस्थाले गरेका कामहरूका बारेमा जानकारी गराउनु भएको थियो ।
अन्तक्रिया कार्यक्रमका सहभागीहरूले वन डढेलो नियन्त्रणका लागि भएका गतिविधी अनुसारको परिणाम नआएको, शिक्षित व्यक्तिहरूबाट नै गलत कार्य भइरहेको, कारवाहीको दायरामा नआएको, सामुदायिक वनहरूमा सहभागिता र सहकार्यको सक्रियाता कम भएको लगायतका विषयहरू उठाएका थिए । उनीहरूले समस्या समाधानका लागि कुनै एक निकायमात्र जिम्मेबार नभई समुदायस्तरमा लक्षित कार्यक्रम आयोजना गर्नुपर्ने, समुदायसम्म डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री पुर्याउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिँह गौतमसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान लगायतको सुरक्षा समिति, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता थियो ।
सामुदायिक रेडियो मर्स्याङदीकी निर्देशक मिना गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडियो स्टेशन म्यानेजर सन्देश पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यममा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन रेडियोका समाचार प्रमुख वसन्ता भट्टले गर्नुभएको थियो ।
रेडियो मर्स्याङदीले जिल्लास्थित डिभिजन वन कार्यालय लमजुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि)को सहयोगमा सो अन्तक्रिया कार्यक्रम गरेको हो ।
यसअघि सो रेडियो मर्स्याङदीले आफ्नो स्थापना दिवसको अवसरमा चैत २१ गते राइनास नगरपालिका– ९ कुँडुले गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
रेडियोले यसै स्थापना दिवसकै अवसरमा चैत ३१ गते शुभकामना आदानप्रदान एवम् महिला समूह सम्मान कार्यक्रम गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति २०८१ चैत्र २८, बिहीबार १२:१२ गते
हजुरको प्रतिक्रिया