गैंडाकोट(नवलपुर)– संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले कश्यप गोत्रीय अधिकारीहरूले बिर्सन नहुने नेपालका तीन ठाउँहरू सिञ्जा, जुम्ला (कालीकोट), प्यूठानको उदयपुर र कास्कीको अस्ताम हुन् भन्नुभएको छ । उहाँले कश्यप अधिकारी वंश प्रतिष्ठान नेपालको सातौं केन्द्रीय अधिवेशनको यहाँ उदघाटन गर्दै चैत ३० गते त्यस्तो बताउनु भएको हो ।
उहाँले पूर्खाको योगदान र महिमालाई बिर्सने कश्यप गोत्रको सन्तान हुन नसक्ने ठोकुवा गर्दै हाम्रो उदगम थलो सिञ्जा, प्यूठानको उदयपुर जहाँ कश्यप गोत्रका अधिकारीहरूले राजा भएर समेत काम गरेका थिए र तेस्रो बिर्सन नहुने थलो कास्कीको अस्ताम पनि हो भन्नुभयो ।
आफूले ती तीनै ठाउँ घुमेको स्मरण गर्दै मन्त्री अधिकारीले यहाँहरू पनि अनुकुल समय मिलाएर ती ठाउँमा जाने काम गर्नु होला भन्ने सहभागीहरूलाई आग्रह गर्नुभयो । ती ठाउँबाट मुलुकका विभिन्न ठाउँ र विदेशमा समेत कश्यप गोत्रका अधिकारीहरू बिस्तार भएका हुन्, त्यसरी विस्तार हुने क्रममा स्थानीय भूमि, संगत आदिले पनि हाम्रा संस्कार संस्कृतिमा केही फरक हुन गएको पाइन्छ तर त्यसलाई एकरुपतामा बदल्न जरुरी छ र हामी संस्कारित हुनु पर्छ उहाँले भन्नुभयो ।
मन्त्री अधिकारीले अधिकारी बन्धुहरू खासगरी प्रतिष्ठान यो समिति र चितवन, दाङको देवघाट स्थित कश्यप अधिकारी वंश समाजका बीचको एकीकरण नहुनु आश्चर्यको विषय हो भन्नुभयो । उहाँले आफूले बुटबलमा सम्पन्न छैंटौं अधिवेशनमा पनि सातौंमा एकीकरण भएन भने म आउन्न पनि भनेको थिए तर आएको छु किनकि हाम्रा पनि केही दायित्व छन्, त्यो सम्झेर आएको हुँ भन्नुभयो । उहाँले एकताको घोषणा भयो, भयो भन्ने हुन्छ अनि बिथोलिन्छ, किन यस्तो भएको छ ? बुझ्न सकेको छैन भन्ने आश्चर्य व्यक्त गर्नु भयो र अब यो काममा ढिला गर्न हुन्न, मेरो जिम्मेवारी र दायित्व केही भएमा पुरा गर्न तयार छु भन्नुभयो ।
अर्को एक प्रसङ्गमा उहिल्यैको सामन्ती चिन्तनले कोही उपाध्ये, कोही जैसी, कोही क्षेत्री भएको हो भन्दै हामी कसैले पनि अब ‘बहादुर’ लेख्न जरुरी छैन, अनि त कश्यप भनेपछि सबै एक भइहाल्छौं नि ! उहाँले भन्नुभयो । राणा शासन विरुद्ध तथा पञ्चायतका विरुद्ध लागेर अवसरको खोजी गरिएको हो भन्दै उहाँले २०६२÷६३ को १९ दिने आन्दोलनले राजा फ्याँक्ने कामको श्रीगणेश गरेको हो, त्यसैले त्यस्ता अनुदार विचारतर्फ चिन्तन गरेर समय खेर फ्याँक्नु हुन्न भन्नुभयो ।
सो कार्यक्रमका विशेष अतिथि विश्व हिन्दू महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले इशाईकरणले देश बाच्दैन भन्ने ठोकुवा गर्दै सनातन संस्कार संस्कृतिको संरक्षण गर्नु नेपाली मात्रको कर्तव्य हो भन्नुभयो । उहाँले राष्ट्रिय झण्डाको महत्वमा प्रकाश पार्दै त्यो मौलिक भएको र सनातन संस्कृतिको प्रतिनिधित्व समेत यो झण्डाले गर्ने भएका कारणले कुनै दिन यसलाई पनि ‘फेर्नु पर्छ’ भन्ने स्वरसमेत उठेका थिए भन्ने स्मरण गर्दै त्यस्तो दुष्कार्य हुन दिन हुँदैन भन्नुभयो । उहाँले राष्ट्रिय झण्डा विश्वमै उत्कृष्ठ ठहर भई विश्वका राष्ट्रिय झण्डाको सूचिमा निकट भविष्यमै एक नंबरमा अंकित हुने वाला छ भन्नुभयो । उहाँले नेपालको अस्तित्व, पहिचान एवम् स्वाभिमान बचाउने भनेकै हिन्दू धर्मले हो भन्ने ठोकुवा गर्नुभयो ।
अर्को एक प्रसंगमा उहाँले ऐले मुलुकका कुनै पनि दलका नेताहरू साझा नेताहुन नसकेको कारणले समस्या सिर्जिएको हो, ऐले त पार्टी भित्र पनि गुटका नेता बन्ने, बनाउने होड चलेको स्थिति मौलाई रहेको छ भन्ने उल्लेख गर्दै यही कारणले देशमा शंकट निम्त्याएको छ तर त्यसको समाधान खोज्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
लुम्विनी प्रदेशका मुख्यसचिव बाबुराम अधिकारीले थर, गोत्र र भूगोलले मानिसलाई जोड्ने रहेछ भन्नुहुँदै पदीय जिम्मेवारीबाट भाग्न मिल्दैन तर पनि केही फुर्सद निकालेर अबका दिनमा आफूले वंश उत्थानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले मेचीको अधिकारीलाई ठेस लाग्दा महाकालीको अधिकारीलाई दुख्नु पर्छ, अधिकारीहरूले विश्वमै नेतृत्व गर्न सक्ने क्षमता राख्छन्, त्यसका लागि पहिले कश्यप गोत्रका अधिकारीहरूलाई जोड्ने, दोस्रो चरणमा कश्यप गोत्रभएका सबैलाई जोड्ने त्यसपछि अन्य नेपालीलाई जोड्ने र अन्त्यमा विश्वलाई जोड्ने काम यो प्रतिष्ठान(अधिकारीहरू)ले गर्न सक्छ, गर्नुपर्छ भन्नुभयो ।
चितवन कश्यप अधिकारी समाजका अध्यक्ष देवीरमण अधिकारीले दुई संस्थाबीच एकीकरण हुनु पर्छ, यो कार्यक्रम पनि सोही स्थानमा गरौं भनेर गरेको आग्रह स्विकार नहुँदा आशंका पैदा भएको बताउनु भयो । त्यहाँ यो कार्यक्रम भएको भए थप उर्जा प्राप्त हुन्थ्यो भन्नुभयो । उहाँले आफ्नो पनि केन्द्रीय समिति रहेको र विभिन्न जिल्लामा संस्था विस्तार गरिएको छ तर एकीकरण हुने भन्ने भएपछि पछिल्लो दुई वर्षदेखि संगठन विस्तार नगरेको बताउनु भयो ।
सो अवसरमा विभिन्न स्थान तथा क्षेत्रका प्रतिनिधिहरूले समेत शुभकामना व्यक्त गर्नु भएको थियो । केन्द्रीय अध्यक्ष नरेन्द्रकुमारले तयार गर्नु भएको प्रगति प्रतिवेदन केन्द्रीय सदस्य सीताराम अधिकारले वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै कोषाध्यक्षको प्रतिवेदन केन्द्रीय कोषाध्यक्ष निमेष अधिकारीले सुनाउँदै १४ लाख २५ हजार २४९ रुपैयाँको आयव्यय विवरण प्रस्तुत गर्नु हुँदै त्यसमध्ये दुई लाख ११ हजार १११ रुपैयाँ षडानन्द अधिकारी स्मृति पुरस्कारको अक्षयकोष भएको जानकारी दिनु भयो ।
सो कार्यक्रममा बुढा निलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, लुम्बिनी प्रदेशका उपाध्यक्ष नारायणी अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
विभिन्न व्यक्तित्वहरू सम्मानित :
उक्त अवसरमा प्रवास शाखाका अध्यक्षहरू मणिपुर, भुटान, बर्मा, सिक्किम, बंगलादेशलाई सम्मान गरिएको थियो । त्यस्तै, सम्मानित हुनुहुनेमा १०६ बर्षीया (मिथिला नगरपालिका– १०, धनुषा, निवासी) मदनकुमारी अधिकारी, सम्पर्क शाखाहरूका अध्यक्ष लगायतका व्यक्तित्वलाई सम्मान गरिने भएको आयोजक समितिका सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सम्मान गरिएका व्यक्तित्वहरूको संख्या ५० बढी रहेको छ । यसैगरी, सम्मानित हुनेमा बर्माका ७७ वर्षीय जेष्ठ नागरिक भीमलाल अधिकारी दम्पती(उहाँकी सहधर्मिणी ७३ बर्षीया हुनुहुन्छ)समेत हुनुहुन्छ ।
प्लस टुमा उत्कृष्ठ अंक ल्याउने आकृति अधिकारी तथा नवप्रतीभाबाट डा. बन्न सफल आयुष अधिकारीलाई षडानन्द अधिकारी स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो । सो पुरस्कार कैलाली निवासी जयनारायणका पारिवारिक बन्धुहरूद्वारा स्थापना गर्नु भएको हो । त्यसको व्याज रकमबाट उनीहरूलाई सम्मान गरिएको हो । त्यस्तै, सम्मानित हुनेमा जेष्ठ नागरिकहरू तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्थ्यो ।
नन्दलाल अधिकारीको अलपत्र शवको दाहसंस्कारको प्रवन्ध गर्न माग :
उक्त अधिवेशनको उदघाटन सत्रमा विगतका १२ वर्षदेखि काठमाडौंको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा वेवारिसे जस्तो अवस्थामा रहिरहेको स्वर्गीय नन्दलाल अधिकारी(गोरखा)को शवको दाहसंस्कारको तत्काल प्रवन्ध गरिनु पर्ने माग गरिएको थियो ।
एकीकरणमा समस्या :
कश्यप अधिकारी समाज चितवन र यो प्रतिष्ठानका बीचमा एकीकरण हुन नसक्नुका कारणमा सम्पत्तीको स्वामित्व हस्तान्तरण हुन कानुनी अडचन, देवघाट देव भूमि हुनुका साथै मुलुकको मध्यभागमा हुँदा हुँदै पनि अधिकारी वंशको पुख्र्यौली र भावनात्मक हिसावले सिञ्जा, प्यूठान, अस्तामको जस्तो कश्यप गोत्रीय अधिकारीका वंशजका सन्ततिका लागि आकर्षण नहुनु, प्रतिष्ठानको आजीवन सदस्य एक हजार रुपैया छदा पनि सबै बन्धुहरू समेटिन नसकेको अवस्थामा चितवन समाजको आजीवन सदस्य शुल्क १० हजार रुपैयाँ हुनु, सो समाजले आफ्नो नाउँमा भवन छ भनेता पनि भवन बनेको स्थलको लालपूर्जा समाजका नाउँमा नहुनु जस्ता कारणहरू बाधक बनेको जानकारहरू बताउँछन् ।
साथै एकीकरणका नाउँमा एकीकरण नहुँदै प्रतिष्ठानको केन्द्रीय कार्यालय झापाबाट चितवन सार्ने निर्णय पनि हतारमा गरिएको भन्दै आलोचना समेत हुने गरेको स्थिति छ । सो अवसरमा केन्द्रीय कार्यालय अब काठमाडौं सानु पर्ने समेत माग भएको थियो ।
प्रतिष्ठानको अध्यक्षमा नरेन्द्रकुमारको ह्याट्रिक :
सो अधिवेशनले निर्विरोध रुपमा अध्यक्षमा पुनः नरेन्द्रकुमार अधिकारीलाई चयन गरेको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको अध्यक्षमा नरेन्द्रकुमार अधिकारी (झापा) यो पटक ह्याट्रिक अर्थात तेस्रो पटक हो । नवनिर्वाचित समितिमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।
सो समितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अधिकारी(रामेछाप), उपाध्यक्ष महिला जानुका अधिकारी (गोरखा), उपाध्यक्ष प्रदेशस्तरमा क्रमशः चन्द्रमणि अधिकारी कोशी झापा, गोविन्दप्रसाद अधिकारी मधेश सर्लाही, शंकरनाथ शर्मा अधिकारी बागमती सिन्धुली, सीताराम अधिकारी गण्डकी स्याङ्जा, विनोद अधिकारी लुम्बिनी बाँके, हेमराज अधिकारी सुर्खेत कर्णाली र जयनारायण अधिकारी कैलाली सुदूरपश्चिम हुुनुहुन्छ ।
महासचिवमा चिरञ्जीवी अधिकारी शंखुवासभा, सचिवद्वय डिल्लीप्रसाद अधिकारी सुनसरी, सीताराम अधिकारी धादिङ, सहसचिव– डिवि अधिकारी नवलपरासी, शिवप्रसाद अधिकारी चितवन, कोषाध्यक्ष निमेष अधिकारी भोजपुर चयन हुनुहुनु भएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरूमा नवराज पहाडी अधिकारी लमजुङ, देवीराम अधिकारी अछाम, प्रकाश अधिकारी नवलपुर, सूर्य अधिकारी काठमाडौं, गोविन्द अधिकारी पर्वत, प्रदिप अधिकारी सुनसरी, देवीप्रसाद अधिकारी पाँचथर, उद्धव अधिकारी काठमाडौं, कविराज अधिकारी बाग्लुङ, दीपक अधिकारी सर्लाही, बद्री अधिकारी महोत्तरी, कल्पना अधिकारी धादिङ, देवीकृष्ण अधिकारी जुम्ला (सिञ्जा), स्मृति अधिकारी काठमाडौं, नरेश्वर अधिकारी दैलेख, खुमानन्द अधिकारी सल्यान, नारायणप्रसाद अधिकारी तनहुँ, मथुराराज पण्डित अधिकारी बाजुरा र लक्ष्मीप्रसाद अधिकारी रूपन्देही चयन हुनुभएको छ ।
उक्त अधिवेशनमा मुलुकभरका देश भित्रका विभिन्न ६८ जिल्ला तथा प्रवास(विदेश)का सम्पर्क शाखाबाट प्रतिनिधि मुलक रुपमा तीन सय बढीले भाग लिएका थिए ।
प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार ०८:५४ गते