नयाँ बर्षको अवसरमा बन्दीपुर जाने हो ?

नयाँ बर्षको अवसरमा बन्दीपुर जाने हो ?

के.बि.मसाल

@antaranganews

२०८१ चैत ३० गते आईतबार ११:०९

पदयात्रामा रमाउने पर्यटकहरूले बन्दीपुर पुगेपछि बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हँुदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ । नजिकैको गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक पुग्ने गर्दछन् । सिद्धगुफाः बजारबाट डेढ घण्टा तल पर्दछ ।

विसं २००७ को जनक्रान्तिका बेला तनहुँका सात जना शहीद भएका थिए । पुलिम¥याङका धर्मध्वज थापा, तनहुँसुरका उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ र सन्तबहादुर रानामगर, सिम्पानीका चन्द्रबहादुर सार्की तथा वसन्तपुरका खडगबहादुर गोदार ।

नयाँ बर्षको बेला धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । नयाँ बर्षले सबैलाई नयाँ उत्साह र उमंग थपेको हुन्छ । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ । नयाँ बर्षमा पारिवारिक सदस्य तथा साथीभाईसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ । घुमफिरलाई खुला विश्व विद्यालय पनि भनिन्छ । घुमफिरले मानिसहरूलाई धेरै ज्ञान प्राप्त हुन्छ । घुमफिरको लागि कहा जाने ? सबैलाई नयाँ ठाउको खोजी हुन्छ । नेपालमा घुमफिर गर्ने धेरै स्थान छन् । प्राकृतिक सम्पदासंग रमाउने कि ? तीर्थाटन गर्ने कि ? ऐतिहासिक सम्पदाको अवलोकन गर्ने ? त्यसको निर्णय घुमफिरमा निस्कन भन्दा पहिलानै गर्दा राम्रो हुन्छ । घुमफिरमा निस्कनु भन्दा पहिले आफु पुग्ने स्थानको बारेमा जानकारी लिदा यात्रामा सजिलो हुन्छ ।
पर्यटकहरूले रुचि, समय र घुमफिरको लागि हुने खर्चको लेखाजोखा गरी यात्राको प्याकेज बनाउदा एउटै यात्रामा धेरै ठाउँ पुग्न सकिन्छ । घुमफिरमा समूहमा जाँदा खर्च पनि कम लाग्ने र यात्रामा रमाइलो पनि हुन्छ । तपाईं बन्दीपुर पुग्नु भएको छ ? अथवा धेरै पटक पुग्नु भएको होला । तनहुँ जिल्ला हिमाली जिल्ला त होइन तर बन्दीपुर बजार छेवैको टुँडिखेल हिमाल हेर्ने राम्रो भ्यू प्वाइन्ट हो । टुँडिखेलबाट हिमालको लामो लर्कन देखिन्छ । बन्दीपुरको टुडीखेल अथवा अन्य कुनै स्थानबाट बिहानपख सुनजस्तै टल्किरहेको हिम श्रृखला अवश्य देख्नु भएको होला ? अथवा नयाँ पर्यटकहरूले देख्नु हुनेछ । यसरी देखिने हिम श्रृखलाको नाम हो मनास्लु । संसारकै आठौं अग्लो हिमाल मनास्लु ८ हजार १६३ मिटर सँगै काँधमा काँध मिलाएर लहरै उभिएको देखिन्छ न्यादी चुली, हिमालचुली र बौद्ध हिमाल । हेर्दा जति सुन्दर छ । आरोहणका लागि कठिन मानिन्छ मनास्लु हिमाल । आरोहणका क्रममा थुप्रै आरोहीले जीवन गुमाएकाले मनास्लु हिमाललाई किलर माउन्टेन पनि भन्ने गरिन्छ । जतिसुकै कठिन भए पनि मनास्लु हिमाल पनि मानव पाइतालाको स्पर्श पाउनबाट चुकेको छैन । सन् १९५६ मा जापानी आरोही तोसी ईमानासी र उनका शेर्पा सहयोगी ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।
मनास्लु हिम श्रृखलालाई बुढीगण्डकी र मस्र्याङदी नदीले छुटयाएको छ । यो हिम श्रृखला पारि पनि नेपाल छ भन्दा तपाईं छक्क पर्नुहोला । हो त, मनास्लु हिमाल भन्दा पल्लोपट्टी दुई हिमाली उपत्यका छन् जहाँ झण्डै दुई दर्जन गाउँ पर्दछन् । ती गाउँ सबै गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । तिब्बती मुलका भोटे समुदायको बसोबास रहेका ती गाउँ ताप्ले, लाजुङ, लार्के लगायतका हिमाली भञ्ज्याङमार्फत् तिब्बतसँग जोडिन्छन् । वर्षमा ६ महिना मात्रै खुल्ला रहने यी नाकाहरु जाडो मौसममा भने हिउँ जमेर ठप्प हुन्छन् । यी गाउँका मानिस दक्षिणतिर जानप¥यो भने बुढीगण्डकीको तिरैतिर अर्थात खोचैखोच आरुघाट झर्नेे गर्छन् । मनास्लु हिमालको ठयाक्कै पछाडि समागाउँ, साम्दो लगायत एक दर्जन गाउँहरू पर्दछन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । तपाईंले नेपालको नक्सा हेर्दा गोर्खा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नु हुन्छ नि ? हो त्यहीँ पर्दछ त्यो उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको त्यो ठाउँ रहस्यले भरिएको हिमाली उपत्यका हो । तर बन्दीपुरबाट देखिने सबै हिमालको नाम र त्यहाको भूगोलको बारेमा जान्नको लागि भने पर्यटन गाइड भयो भने राम्रो हुन्छ ।
बन्दीपुरमा चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल अर्थात पदमार्गले पर्यटकहरूलाई आकर्षण गराएको छ । बन्दीपुर बजारबाट सुरु भई ग्रेटवाल पदमार्गले थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोडने योजना रहेको छ । थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग निर्माण पछि आन्तरिक पर्यटक वृद्धि हुँदै गएको छ । पदमार्गमा अन्य दिनको तुलनामा शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गर्दछ । बन्दीपुरमा पर्यटकहरूका लागि बास बस्न होटलहरू धेरै छन् । पर्यटकहरुलाई बास बस्न बन्दीपुरमा पाँच सयदेखि चार हजार रुपैयाँसम्मका होटलमा कोठा पाइन्छ । बन्दीपुर माउन्टेन रिसोर्ट, गाउँघर, वल्ड इन, बन्दीपुर भिलेज रिसोर्ट, श्रेष्ठ होटल, होटल बन्दीपुर अग्र्यानिक होमलगायत तीन दर्जन होटल तथा रिसोर्ट छन । यो बाहेक बन्दीपुरमा पर्यटकहरूका लागि होमस्टे पनि सन्चालनमा छन् । बजार आसपासका क्षेत्रमा नेवार, क्षत्री, सुनार, मगर र कपालीका घरमा होमस्टेको सेवा छ ।
बन्दीपुरमा मुख्य बजार क्षेत्र ६ सय मिटर लम्बाइमा फैलिएको छ । मुख्य बजारको क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । सडक बीचमा ढुँगा छापिएको दायाँ– बायाँ इँटा, माटो, काठ र टायलले बनेका मौलिक सस्कृतिका घरहरु छन । घरहरु कलात्मक झयाल– ढोकाबाट निर्माण भएका छन् । बन्दीपुर बजारका प्रायः घरमा होटल÷रेस्टुरेन्ट रहेका छन । तिनका आँगनमा बसेर पर्यटकहरूले खान पिन गर्न सक्दछन् । बन्दीपुरमा नेवार समुदायको बसोबास हुनुअघि बजारमा मगर जातीको बस्ती थियो । अहिले बन्दीपुरमा जातीय विविधता पाइन्छ । गुरुङ, मगर, नेवार, क्षत्री, बाहुन मिलेर बसेको रंगिन फूलबारीजस्तै भएको छ बन्दीपुर । बन्दीपुरबाट तल मर्स्याङदी भ्याली आकर्षक देखिन्छ । बिहान सेतो कुहिरोले ढपक्कै ढाक्दा सेतो तलाउझैँ पर्यटकहरुले अनुभव गर्न सक्दछन् । दिउँसो मौसम खुलेपछि तल–तलका बस्ती, खेतबारी र नागवेली आकारमा बग्ने मर्स्याङदीको सौन्दर्यले पर्यटकहरू रमाउछन् ।
बन्दीपुर बजारमाथि डाँडामा एउटा गुम्बा छ । गुम्बाभित्र शाक्यमुनी बुद्धका मूर्ति रहेको छ । डाँडामा एउटा शहीद स्मारक छ । विसं २००७ को जनक्रान्तिका बेला तनहुँका सात जना शहीद भएका थिए । पुलिमर्याङका धर्मध्वज थापा, तनहुँसुरका उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ र सन्तबहादुर रानामगर, सिम्पानीका चन्द्रबहादुर सार्की तथा वसन्तपुरका खडगबहादुर गोदार । पर्यटकहरूले त्यहाँ पुगेर उनीहरूप्रति श्रद्धाको मनफूल चढाउन सक्दछन् । अर्कोतर्फ पदयात्रामा रमाउने पर्यटकहरूले बन्दीपुर पुगेपछि बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हँुदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ । नजिकैको गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक पुग्ने गर्दछन् । सिद्धगुफाः बजारबाट डेढ घण्टा तल पर्दछ । सिद्धगुफा भित्र कतै साँघुरो गल्छी छ भने कतै फुटबल खेल्न मिल्ने फराकिलो चौर । साथै, विभिन्न देवदेवीका आकृति झल्काउने चित्राकृति पनि पर्यटकले देख्न सक्दछन् । गुफा पूरै घुम्न तीन घण्टा लाग्दछ । गुफामा गाइडबिना घुम्न सकिँदैन । टिकट काउन्टरमा गाइड सुविधा पाइन्छ ।
पर्यटनको लोकप्रिय गन्तव्यका रुपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त पहाडकी रानी उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीहरू धेरै पुग्दछन् । बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । नेवार जातिको रहनसहन, संस्कृति र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो । बजारबाट दश मिनेटको दुरीमा रहेको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहूँ, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन् । हिमाल र मर्स्याङदी नदीले बनाएका उपत्यका हेर्दा बन्दीपुर पुग्ने जो कोही पर्यटक आनन्द महसुस गर्दछ । बन्दीपुरलाई मौलिकताको नमुना सहर भनिन्छ । बन्दीपुरमा रहेका परम्परागत घरका कारण बन्दीपुरको पर्यटनमा टेवा मिलेको छ । काठका बुट्टा कँुदिएका झयाल तथा ढोकाहरू, प्यागोडाशैलीका घर पर्यटनका लागि बन्दीपुरको मुख्य आकर्षण हुन । कतिपय पर्यटकहरू तिनै घरहरुको फोटो लिने गर्दछन् ।
बन्दीपुर डुम्रे बजारबाट दक्षिणमा झण्डै चार हजार पाचँसय फिटको उचाईमा पर्दछ । बन्दीपुर प्रकृति र संस्कृति दुवै रुपमा जीवन्त धरोहर बनेर उभिएको छ । बन्दीपुरको इतिहास लामो छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि ब्यापारको नयाँ संभावना खोज्ने क्रममा भक्तपुरका नेवारहरूले वन्दीपुरलाई उत्तरी पहाड र दक्षिणी मदेश जोडने ब्यापारी नाकाको रुपमा विकास गरेका हुन । आफ्नो शिप र उद्यमशिलताको ब्यापारको शिलशिलामा भक्तपुरबाट नेवारहरू बन्दीपुरमा बसाई सरेका हुन । भक्तपुरे नेवारहरुले उपत्यकाको परिस्कृत संस्कृतिको नमुना झल्काउने वन्दीपुरमा विकास गरे । बन्दीपुरमा भक्तपुरबाट नेवार सम्प्रदाय मात्र आएनन् । उनीहरूले आफ्नो कला, सस्कृति, व्यापारी सीप, भवन शैली, कालीगढ पनि साथै ल्याएर वन्दीपुरलाई आकर्षक स्थल बनाएका हुन । बन्दीपुरमा नेवारले बनाएका भक्तपुरे शैलीमा निर्माण भएका घरहरुले पर्यटकहरूलाई लोभ्याउछ । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।
पर्यटकहरूका लागि बन्दीपुरले सुन्दर गन्तव्य बोकेको छ । प्राकृतिक सौन्दर्यको ताज सिउरेर बन्दीपुर बसेको छ । प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरको जिउँदो सभ्यताको रुपमा बन्दीपुरको आकर्षण आज पनि उत्तिकै ताजा छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरमा सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । जेठदेखि असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभा फूलले स्वागत गर्दछ । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सरेपछि बन्दीपुरको चहल पहल बिस्तारै हराउदै गयो । धेरै घर परिवारले विस्तारै बन्दीपुरलाई छाडदै गए । तर पनि बन्दीपुरलाई प्रकृतिले भने कहिल्यै साथ छाडेन । बन्दीपुर छाडेर अन्यत्र बसाइँसराइ गरेकाहरुले बन्दीपुरलाई पर्यटन मार्फत उकास्ने अठोट लिए । विस्तापित बन्दीपुरे क्रमशः आफ्नो थलो फर्किए । बन्दीपुरमा विस्तारै होटल खुल्ने क्रम तीव्र भयो ।
अहिले बन्दीपुर पर्यटकका लागि स्वर्ग जस्तै ठाउँ बनेको छ । बन्दीपुरले अहिले काँचुली फेरेको छ । कोलाहल, धूँवा–धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएका पर्यटकहरूलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्य भएको छ । बन्दीपुर पुग्ने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर आकर्षित हुने गर्दछन । एक दिन मात्रै बस्ने सोचमा पुगेका पर्यटक पनि बन्दीपुर पुगे पछि थप केही दिन नबसी फर्किंदैनन् । बन्दीपुरको आकर्षक बस्ती देखेर बन्दीपुर जानेहरू रमाउने गरेका छन । परम्परागत नेवारी संस्कृतिमा आधारित घरहरुले पर्यटकको आकर्षण बढेको छ । बन्दिपुरमा पिकनिकका लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थी जाने गर्दछन । पृथ्वी राजमार्ग बनेपछि सदर मुकाम दमौलीमा सर्नु र ब्यापारिक केन्द्र पनि दमौली, डुम्रे, विमल नगर, खैरेनी, भन्सार आदि स्थानमा विकास हुदै जाँदा बन्दीपुरे विस्तारै ब्यापारको खोजिमा विस्थापीत हुन पुगे । तर आज भोली वन्दिपुरको रनकै अर्कै छ । विस्थापीत बन्दीपुरे क्रमस पुन बन्दीपुरमा फकर्ने क्रम बढन थालेको छ ।
वन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरु आकर्षण केन्द्र बनेको छ । वन्दीपुरमा १८ औं शताब्दीमा स्थापित खडक देवीको मन्दीर विन्दवासिनी, थानीदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मिकस्थल मानिन्छन । अर्को तर्फ नेवारी संस्कृतिका गाईजात्रा, विस्केत जात्रा, वाघजात्रा, लाखे र पाउदुरी जात्राले पनि बन्दीपुर पुग्ने पर्यटकहरुलाई छुट्टै आनन्द दिलाउछ । बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तीनधारामा आजभोलि पिकनिक स्पोट भएको छ । वन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुदै सदरमुकाम दमौली पुग्ने मोटर मार्ग पनि छ । बन्दीपुर नामका बारेमा अनेकौ किम्वदन्दी छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन । गण्डकी क्षेत्रका अधिकास ठाउँका नाम ‘डी’बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी, माडी, मस्र्याङदी, चुदीँ, दरौदीँ आदि … । मगर भाषामा ‘डी’को अर्थ हुन्छ पानी । बन्दीपुर वरपर मगर जातिको वस्ती भएको र परापूर्व कालमा वनको पानी खानपर्ने भएकोले ठाउँको नाम वन ‘डी’ अर्थात वनको पानीबाट बन्दीपुर भएको भन्ने भनाइ छ ।
काठमाडौबाट १४३ कि.मि. र पोखराबाट ७३ कि.मि दूरीमा रहेको डूम्रे बजारबाट ८ किलोमिटर उकालो यात्रामा बन्दीपुर पुग्न सकिन्छ । डूम्रेबाट तनहुँको सदरमुकाम दमौली १८ किलोमिटर पर्दछ । बन्दीपुर महाभारत श्रृखंलाको १ हजार ३० मिटरको उचाईमा पर्दछ । वेसी र टार भूभागको बाहुल्य रहेको तनहुँको बीच भागमा रहेको वन्दीपुर सलक्क उठेको पहाडी भुभागको दम्सीलो थाप्लोको पहाडमा छ । बन्दीपुरमा पाँच तारे होटल सहितको केबलकार निर्माण भएको छ । बन्दीपुरको पर्यटनलाई थप प्रवद्र्धन गर्ने माध्यम केबलकार भएको छ । पाँचतारे होटलसहित निर्माण भएको केबलकारले बन्दीपुरमा थप पर्यटकहरू बढाएको छ ।
कसरी पुग्ने ?
डूम्रेबाट बन्दीपुरसम्म पक्की सडक छ । तर काठमाडौँ, पोखरा र अन्य शहरी क्षेत्रबाट सिधै बन्दीपुरसम्म सार्वजनिक बस चल्दैन । त्यसैले पृथ्वीराजमार्गको डुम्रे बजारसम्म बसमा जानुपर्छ । डुम्रे बजारबाट बन्दीपुर जादा सडक यात्रामा मनोरम हिमश्रृखला, पहाड र टाकुरा हेर्न सकिन्छ । डुम्रे बजारबाट बन्दीपुर जाने बस र जिपहरु पाइन्छ । अर्कोतर्फ केवुलकारबाट यात्रा गर्नेहरुका लागि डूम्रे नजिकैबाट केवुलकारमा बन्दीपुर पुग्न सकिन्छ ।

प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार ११:०९ गते
हजुरको प्रतिक्रिया