
झापा– अमेरिकाले देश निकाला गरेका र भुटानले पनि देश निकाला गरेका पूर्व भुटानी शरणार्थीहरूको संख्या नेपालमा बढ्न थालेको छ । पछिल्लो समय अमेरिकाबाट निस्कासनमा परेका ५ जना पूर्व शरणार्थीलाई भारतको सिलिगुडीसम्म ल्याएर छाडेको बैशाख १ गते भुटानले शरणार्थी अगुवाहरूले बताएका छन् ।
हिजो मात्र फेरि एकजना महिलालाई अमेरिकाबाट डिपोर्टको लागि तयारी भइरहेको बताइएको छ । यसरी चैत दोस्रो सातायता अमेरिकाबाट १८ जना शरणार्थी निस्कासित भएका छन् ।
अमेरिकामा पुनस्र्थापित शरणार्थीहरू भने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अनुदार आप्रवासी नीतिको शिकार बनिरहेका छन् ।
केही दिन अघि अमेरिकाबाट देश निकालामा परेका १३ जना पूर्व भुटानी शरणार्थीलाई भुटान पुर्याइएको थियो । तीमध्ये ४ जना नेपाल आएका थिए । ती चार जना अध्यागमनको सम्पर्क बेगर नेपाल आउँदा पक्राउ परेका थिए । उनीहरूलाई भारतको सीमावर्ती क्षेत्रमा भुटानले ल्याएर छोडेको थियो भने ९ जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।
अमेरिकी अधिकारीले पारो विमानस्थलमा बुझाएकामध्ये नेपाल आइपुगेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ चैत १५ देखि काँकडभिट्टा अध्यागमनको हिरासतमा रहेका हुन् ।
अमेरिकाले चैत दोस्रो साता देश निकाला गरेपछि भुटान पुगेका र त्यहाँबाट पुनः निष्कासित भुटानी नागरिकमध्ये चारजना दुई सातादेखि काँकडभिट्टा अध्यागमन कार्यालयको नियन्त्रणमा छन् । उनीहरूलाई भारत फिर्ता पठाउने, नेपालमै शरणार्थी शिविरमा राख्ने वा अन्य कारबाही गर्ने भन्ने विषयमा अध्यागमनकै अधिकारीहरू अन्योलमा रहेको बताउँछन् ।
तीमध्ये एकजना नेपाल आइपुगेको खबर छ । तर नेपालमा उनी कहाँ लुकेर बसेका छन् भन्ने थाहा भएको छैन । अमेरिकासँग आफ्नै नागरिक भन्दै जिम्मा बुझ्ने भुटान सरकारले ती १८ जनालाई भुटानबाट फकाएर र धम्क्याएर फेरि देश निकाला गरिसकेको छ ।
डिपोर्ट गर्न अमेरिकाले तयार ग¥यो ६३ जना भुटानी शरणार्थीको सूची, थप पाँच जना आइपुगे सिलिगुडी
अमेरिकाले डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाएका थप पाँच जना शरणार्थी भुटानबाट लखेटिएका छन्। उनीहरू भारतको सिलिगुडी आइपुगेका छन् ।
चैत ३० गते भुटान पु¥याइएका ती पाँच जनालाई त्यहाँको प्रशासनले आइतबार दिउँसो भारतीय सहर सिलिगुडी ल्याएर छाडिदिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले बताउनु भयो । उहाँका अनुसार तीमध्ये एक जना नेपाल प्रवेश गरिसके भन्ने सुनिन्छ । तर को हुन् भन्ने खुलिसकेको छैन ।
अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्ने सूची बनाएको एक मानवअधिकार अभियन्ताले जानकारी दिएका छन् । तीमध्ये यसअघि नै डिपोर्ट गरेका १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ ।
त्यसबाहेक थप एक जना महिला भुटानी शरणार्थी अमेरिकाको पेन्सिलभेनियामा पक्राउ परेको पौड्यालले बताउनु भयो । उहाँका अनुसार ती महिला पनि डिपोर्टमा परेर भुटान आउँदै छिन् । उहाँले भन्नुभयो, ‘उनलाई पनि भुटानले लखेट्यो भने यो संख्या १९ पुग्छ ।’
दुई साताभन्दा लामो समयदेखि काँकडभिट्टा प्रहरीको नियन्त्रणमा रहेका चार जना शरणार्थी युवालाई भेटेर लामो कुराकानी गरिसकेका नेता पौड्यालका अनुसार चैत १५ गते भुटानबाट नेपालतिर पठाइएको टोलीमा सुरूमा १२ जना थिए । भुटान–भारत सीमाको फुन्सोलिङ शहर आइपुगेपछि उनीहरूलाई राखेकै गाडीमा थप एक जना शरणार्थी हालिएको थियो ।
तीमध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गते बेलडाँगी शिविरबाट पक्राउ परेका हुन् । फुन्सोलिङमा थपिएका अशोक गुरूङ भने काँकडभिट्टा नाकाबाट समातिए । बाँकीको अवस्थाबारे कसैलाई जानकारी नभएको बताइन्छ ।
भुटानको यो रवैयाले आफ्ना नेपालीभाषी नागरिकप्रति उसको नकारात्मक दृष्टि छर्लंग पारेको शरणार्थी समुदायका अगुवाहरू बताउँछन् ।
नेता पौड्यालका अनुसार तीन दशकअघि नेपालीभाषी नागरिकमाथि भुटानले जस्तो अन्याय गरेको थियो, अहिले पनि त्यही शैली भुटानले छाडेको छैन । उहाँले भन्नुभयो, ‘उसको त्यो शैलीको ताजा प्रमाण यी १८ जना शरणार्थी हुन् ।’ भुटानी शासकले अन्तर्राष्ट्रिय समुदायको आँखा छल्न अमेरिकी अधिकारीहरूबाट शरणार्थीको जिम्मा बुझ्ने र त्यसपछि नेपालतिर लखेट्ने नीति लिएको देखिन्छ ।
सिलिगुडी आइपुगेको भनिएका पछिल्लो पाँच जनाबारे आफूहरूलाई केही जानकारी नभएको झापाको बेलडाँगीस्थित शरणार्थी शिविरका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो । उहाँका अनुसार अहिले प्रहरी नियन्त्रणमा रहेका चार जनाबाहेक अरूबारे केही जानकारी छैन । उहाँले भन्नुभयो, ‘हामीसँग उताको कुरा थाहा पाउने माध्यम पनि छैन ।’
‘यसअघि १३ जनालाई जसरी अमेरिकबाट जिम्मा बुझेर, साथमा भएका कागजपत्र खोसेर नेपालतिर पठाइएको थियो, यी पाँच जनालाई पनि त्यसैगरी पठाइएको सूचना मैले पाएँ,’ पौड्यालले बताउनु भयो । उहाँका अनुसार भरे–भोलिसम्म ती पाँचै जनाको विवरण प्राप्त होला भन्ने आशा छ ।
’भुटान सरकार अमेरिकी प्रशासनका अगाडि नराम्रो देखिन नचाहने रहेछ,’ काँकडभिट्टा प्रहरीको थुनामा रहेका भुटानी शरणार्थीहरूले आफूलाई भेट्न आएका मानवअधिकारवादी अभियन्ताहरूसँग भनेका छन्, ‘अमेरिकी अधिकारीहरूका अगाडि भुटान सरकारले हाम्रो ज्यादै खातिरदारी गरे । एकदमै सम्मानपूर्ण व्यवहार गरे । जब उनीहरू फर्के, त्यसपछि भुटानीहरूले आफ्नो असली रूप देखाए र हामीसँग भएका कागजात खोसे र हामीलाई धम्की दिएर नेपालतिर खेदे ।’
सन् ९० दशकमा रातारात अनागरिक बनाएर खेदाइएका एक लाखभन्दा बढी नेपालीभाषी भुटानीहरूले लामो समय झापा र मोरङका सातवटा शिविरमा शरणार्थी जीवन बिताएका थिए । संयुक्त राष्ट्रसंघले तेस्रो देश पुनर्वासको कार्यक्रम अघि सारेपछि बहुसंख्यक शरणार्थी युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छन् ।
स्मरणीय छ, तीन दशकअघि आफ्नै देशका शासकबाट लखेटिएको जुन पीडा आमाबुबा पुस्ताले भोगे, अहिले त्यही नियति छोराछोरी पुस्ताले भोगिरहेका छन् ।
ट्रम्प राष्ट्रपति भएयता अमेरिकाबाट ७० नेपाली ‘डिपोर्ट’
यसैबीच, डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएयता ७० जना नेपालीलाई अमेरिकाले ‘डिपोर्ट’ गरेको छ । ट्रम्पले २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । २०२५ को जनवरी २० देखि मार्च १२ सम्मको अवधिमा अमेरिकाले ७० नेपालीलाई डिपोर्ट गरेको हो ।
प्रकाशित मिति २०८२ बैशाख २, मंगलवार २०:३० गते