अन्ततः सर्यो रास्वपाको महाधिवेशन : सहमहामन्त्रीबाट सुमनाको राजीनामा

अन्ततः सर्यो रास्वपाको महाधिवेशन : सहमहामन्त्रीबाट सुमनाको राजीनामा

एजेन्सी

@antaranganews

२०८२ बैशाख ६ गते शनिवार १०:२३

आफ्नो राजीनामा पत्रमा सुमनाले पार्टीमाथि जनताको ठूलो आस रहेको तर डेलिभरी दिने क्षमता शून्य भएको समेत उल्लेख गर्नु भएको छ ।

सुमनाले गत चैत १७ गते नै राजीनामा दिए पनि त्यो भरखरै सार्वजनिक भएको हो ।

काठमाडौं– अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सर्ने भएको छ । केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।
रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय समिति बैठकले प्रथम महाधिवेशन २०८२ फागुन ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय बैशाख ४ गते गरेको हो ।
पार्टी सभापति रवि लामिछानेको घोषित मितिमै महाअधिवेशन गर्ने चाहना भएता पनि उहाँका विरुद्धमा फेरि गरिएको षडयन्त्रका कारण उहाँ बन्दी हुनु भएपछि उहाँको सहमतिमै महाअधिवेशन सार्ने निर्णय गरिएको स्रोतको भनाइ छ । तथापि, आशानुरुप संगठन विस्तारले गति लिन नसक्नुले पनि महाधिवेशन सार्नु पर्ने स्थिति बनेको हो । अन्य दलभन्दा भिन्न हुने भनेता पनि संगठन विस्तार सहितका केही काममा व्यवहारतः पुरानै पार्टीको नक्कल गरिएझैं अनुभूति बेलाबखत हुने गरेको कार्यकर्ता पंक्तिको गुनासो आउन थालेको थियो ।
सहमहामन्त्री राजीनामा गर्नु भएकी सुमना श्रेष्ठका शब्द सापटी लिएर भन्दा ‘अन्य पार्टीभन्दा हामी भिन्न बन्ने भन्ने तर रवैया उस्तै रहने’ पनि आभास हुने गरेको छ । महाधिवेशन सारिनुले त्यसको पुष्टि हुन गएको स्रोतको भनाइ छ ।
रास्वपाको केन्द्रीय समितिले जारी गरेको महाधिवेशनको नयाँ तालिका अनुसार आउँदो असोजसम्म वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन सम्पन्न गर्ने भनिएको छ । त्यस्तै, मंसिरसम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्नुका साथै माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भनिएको छ । त्यसपछिको तयारीबाट २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भएको छ ।
उहाँका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार ९७५ वडा समिति गठन भइसकेका छन् भने सात सय वटा वडामा अधिवेशन सम्पन्न भएका छन् । उहाँले भन्नुभयो, ‘मुलुकका ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ, ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको र सातै प्रदेशमा समिति गठन भएको छ ।’
पालिकामा समिति गठन भएका मध्ये १३– १४ वटामा अधिवेशन भइसकेको छ भने १८– २० वटा पालिकामा अधिवेशनको मिति तय भएको रास्वपाले बताएको छ ।
सह–महामन्त्री सुमना श्रेष्ठको राजीनामा :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले राजीनामा दिनु भएको खुलासा भएको छ । उहाँले त्यसबारे केन्द्रीय समिति बैठकमा जानकारी दिनु भएसँगै चियाकपको तुफानझैं हल्ला सार्वजनिक भएको छ ।
श्रेष्ठले एक व्यक्तिले चाहेर केही हुँदैन रहेछ भन्ने बोध भएर राजीनामा दिएको बताउनु भएको छ तर उहाँले पार्टी सदस्यता नै त्याग गर्नु भएको भने होइन । उहाँको केन्द्रीय सदस्य पद कायमै छ । उहाँको स्पिड अनुसार पार्टीले गति लिन नसकेको हुँदा त्यसलाई अन्यथा रुपमा लिनु पर्ने देखिदैन उहाँ किनट स्रोतले बताएको छ ।
राजीनामा पत्रमा उहाँले उठाएका मुख्य सवालहरू :
‘मेरो कुरा सुनिएन’ :
गत फागुन ४ गते भारतको ओडिसा राज्यस्थित केआइटी विश्वविद्यालयमा अध्ययन नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकोमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरूद्ध नेपाल सरकारले कुनै कदम नचालेको भन्दै उहाँको सदन अवरूद्ध गर्ने चाहना रहेछ ।
उहाँले भन्नुभयो, ‘संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरूद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखेँ,’ ‘पार्टीको निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था आयो’ पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ । कैयौं पटक विभिन्न विषयमा बैठक बसौंभन्दा समेत वास्ता गरिएन । यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु,’ उहाँको भनाइ छ ।
‘एक व्यक्ति, एक पद’ :
उहाँले आफूमा पद लोलुपता नदेखियोस् भनेर राजीनामा दिएको उल्लेख गर्नु भएको छ । उहाँले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्नेसमेत बताउनु भएको छ ।
आफ्नो जिम्मेवारीप्रति सचेत हुँदै उहाँले भन्नुभएको छ, ‘संघीय सांसदले मूलभूत रूपमा पेस भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेस गर्ने, समसामयिक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ । यसबाहेक संसदीय समितिको भूमिका त छँदैछ ।’
अन्त्यमा, उहाँले भन्नु भएको छ, ‘२०८० मंसिरको जलेश्वर बैठकमा मैले पत्रै दिएर सहमहामन्त्री पद दाबी गरेकी हुँ । तर शिक्षा मन्त्रीका रूपमा मन्त्रालय सम्हाल्दै गर्दा केही गर्न सकिनँ, एउटा व्यक्तिले चाहेर केही नहुने रहेछ भन्ने बोध भयो, राजीनामा पत्रमा स्पष्ट स्वीकारोक्ति छ ।’ तर आफूले गर्न नसकेकोभन्दा पनि पार्टीले आशातित गति लिन नसकेकोतर्फ उहाँको संकेत हो भन्ने आम बुझाई रहेको बताइन्छ ।
‘सहकारी ठगीको लेबल चिर्न सकेनौं’ :
पार्टीमाथि लागेको सहकारी ठगीको लेबल चिर्न नसकेको बताउँदै भन्नुभएको छ, ‘पुराना दलले रास्वपालाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारा मात्र अघि बढायौं ।’
उहाँले पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले उक्त काम सुरू नगरेको गुनासो गर्दै भन्नुएको छ, ‘यसबाट स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याई छ ।’
‘कर्मकाण्डी प्रक्रिया बढी’ :
बैठकमा बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिनेभन्दा बढी महत्व दिइएको उहाँले महसुस गरेको उल्लेख गर्दै यस्तो संस्कारले ‘इनोभेसन’ र काम गर्ने जाँगरलाई हतोत्साहित गर्नेछ भन्नुभएको छ, ‘व्यवस्थापन परामर्शदाताका रूपमा विभिन्न प्रकारको सांगठनिक संरचना देखेको छु, वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा फ्लाट हाइरार्की (निश्चित नेतृत्व र सदस्य भएको संरचना) सबभन्दा प्रभावकारी हुने मेरो धारणा छ । जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ । जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्त्व दिएर मनन गरिन्छ ।’
‘पार्टीमाथि जनताको ठूलो आस, डेलिभरी दिने क्षमता शून्य’ ः
आफ्नो राजीनामा पत्रमा सुमनाले पार्टीमाथि जनताको ठूलो आस रहेको तर डेलिभरी दिने क्षमता शून्य भएको समेत उल्लेख गर्नु भएको छ । भन्नुहुन्छ, ‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो, त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले ठूलो आशा राखेको छ ।’
यसैबीच, प्याराडाइम टिभीसँगको अन्तर्वार्तामा सभापति लामिछानेको फोटो स्क्रिनमा देखाउँदा ‘पास’ भनेकोबारे चलेका टिकाटिप्पणीका बारेमा उहाँ भन्नुहुन्छ, ‘सभापति रवि लामिछानेमाथि अदालतमा मुद्दा चलिरहेको छ। म मुभमेन्टबाट आएको राजनीतिक मान्छे होइन । जिब्रो चिप्लियो भने अर्को तहको गलत सन्देश जान्छ भनेर जति पनि राष्ट्रिय नेता हुनुहुन्छ, उहाँहरूलाई पासै गरेको हो ।’
उहाँले रास्वपाप्रति आफ्नो प्रतिबद्धतामा केही हेरफर हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य पदमा दाबेदारी पेस नगर्नेसमेत उल्लेख गर्दै भन्नुभएको छ, ‘मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्वसभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन, पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसदको भूमिका अझ सशक्त रूपमा अघि बढाउने छु ।’
उहाँले गत चैत १७ गते नै राजीनामा दिए पनि त्यो भरखरै सार्वजनिक भएको हो ।
उहाँ प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत हुनुहुन्छ ।

प्रकाशित मिति २०८२ बैशाख ६, शनिबार १०:२३ गते
हजुरको प्रतिक्रिया